८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पूर्वसांसद शाहद्वारा एक करोडको स्वास्थ्य सामग्री सहयोग

जाजरकोटका पूर्वसांसद राजीवविक्रम शाहलेले कर्णाली प्रदेशका अस्पतालहरूलाई एक करोड रूपैयाँबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पूर्वसांसद शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रबिन्दुमा राखेर सहयोग गरेका हुन् ।

प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झन्डै ७० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री र सबै जिल्ला जिल्लाका अस्पतालहरूलाई तीन लाख रूपैयाँको दरले ३० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए । 

‘जिल्लाका अस्पतालका डाक्टरहरूसँग सल्लाह गरेर स्वास्थ्य सामग्री प्रदान गरिएको हो,’कुमारी ट्रस्टका अध्यक्षसमेत रहको शाहले भने, ‘जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लामा फरकफरक पठाइएका सामान छन् । केही जिल्ला अस्पतालले सुत्केरीका लागि शड्ढया माग गर्नुभएको छ भने केहीले अक्सिजन आवश्यक परेको भन्नुभएको छ ।’ आफूले उपलब्ध गराएका सामग्री कोरोनाविरुद्ध लड्न मात्र नभइ दीर्घकालमा समेत उपयोगी हुने उनको भनाइ छ । 

कर्णाले प्रदेशमा पनि आगामी दिनमा केही नहोला भन्न सकिने अवस्था नरहेकाले पूर्वतयरीका लागि आफूले सक्ने सहयोग गरेको उनको भनाइ छ । शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित पाँचवटा आइसियु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दैछ । 

नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वसांसद शाह समाजसेवामा सक्रिय छन् । उनकै पहलमा जाजरकोटको छेडागाड नगरपालिका–५ बडावनमा सुविधासम्पन्न २५ शड्ढयाको सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा उक्त अस्पताल निर्माण भएको शाह बताउँछन् । भौगोलिक हिसाबले दुर्गम रहेको कर्णालीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैले सकेको सहयोग गर्नुपर्नेमा उनको जोड छ । 

प्रकाशित: ५ जेष्ठ २०७७ २०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App