coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बीपीमा ओपिडी सेवा सुचारु गर्ने तयारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान – बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनपछि बन्द भएको ओपिडी सेवा पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ ।लकडाउन निरन्तर जारी रहदा इर्मजेन्सीबाहेक विरामीलाई अनलाइनमार्फत उपचार सेवा दिइरहेको प्रतिष्ठानले अब भने ओपिडी सेवा नै सुचारु गर्ने तयारी गरेको हो । ओपिडी सेवा सञ्चालन नहुँदा मुख्य आम्दानीको स्रोत गुमेपछि प्रतिष्ठान आर्थिक संकटमा पर्ने सम्भावना पनि छ । अझै यही अवस्था निरन्तर जारी रहे आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई तलब खुवाउन पनि नसक्ने अवस्थामा पुग्ने उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

 डाक्टर गिरीका अनुसार ओपिडी सेवा सुचार गर्ने बारे २ चरणमा छलफल भइसकेको छ । आइतबार बिहान पुनः छलफल गरेर ठोस निर्णय लिने उपकुलपति डा.गिरीले बताए । ‘२ चरण कुरा भइसकेको छ, आइतबार बिहान फेरि छलफल गरेर अघि बढ्छौं,’उपकुलपति डा. गिरीले भने । उनका अनुसार शुरुमा थोरै समयको लागि मात्र ओपिडी खुल्नेछ । विरामीको चापको अवस्था हेरेर समय क्रमशः बढाउदै लगिने उनले बताए । प्रतिष्ठानमा सामान्य अवस्थामा कम्तीमा २ हजार विरामीहरु ओपिडीमा जाँच गराउन आउने तथ्यांक छ । तर, अहिले लकडाउन जारी भएकोले धरान बाहिरबाट आउने विरामीको चाप कम हुने अनुमान छ ।  

अस्पतालमा ओपिडी सेवा लिन आउदा विरामीहरुले पनि पुर्णरुपमा सुरक्षाको विधि अपनाउनुपर्नेछ । ओपिडीसँगै अस्पताल सेवासँग जोडिएका अन्य सेवाहरु पनि सुचारु गर्ने तयारी भइरहेको प्रतिष्ठानको भनाई छ । ‘लकडाउन कहिलेसम्म हुन्छ भन्ने प्रष्ट भएन । तर, संस्थालाई आर्थिकरुपमा धरासायी हुनबाट जोगाउने चुनौती आयो । यही अवस्था भयो भने कर्मचारीहरुलाई तलब खुवाउन पनि गाह्रो हुन्छ,’उपकुलपति डा.गिरीले भने ।

वीपी प्रतिष्ठानलाई सरकारले अस्पताल सञ्चालन खर्च दिदैन । यहाँको भौतिक संरचना निर्माणमा मात्र बजेट उपलब्ध गराउने भएकोले चिकित्सक, कर्मचारी र सञ्चालन खर्च आफै जुटाउनुपर्ने हुन्छ । लकडाउन यता ओपिडी सेवा ठप्प हुँदा प्रतिष्ठानको मुख्य आम्दानीको स्रोत नै गुमेको छ । दैनिक लाखौं रुपैया प्रतिष्ठानले गुमाइरहेको छ । प्रतिष्ठानका अनुसार ओपिडी र ल्याब परीक्षणलगायतबाट प्रतिष्ठानले दैनिक कम्तीमा ३० लाख आम्दानी गथ्र्यो । अहिले त्यो आम्दानी गुमिरहेकोले प्रतिष्ठान आर्थिक संकटमा पर्ने सम्भावना छ ।  

प्रकाशित: ३ जेष्ठ २०७७ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App