८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

विदेशबाट फर्केकासहित दुईजनाको पिसिआर ‘नेगेटिभ’

इलाम – जिल्लाबाट स्वाब नमुना पठाइएका दुई जनाको पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका फाकफोकथुम गाउँपालिका–२ का ३७ वर्षे युवक र उनीसँगै बिरामी कुरुवाका रूपमा आएकी ३५ वर्षीया युवतीको टिपोर्ट नेगेटिभ आएको हो ।  

अत्यधिक ज्वरो आएपछि युवकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । अस्पतालले मंगलबार उनीहरूको पिसिआर परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पतालमा स्वाब नमुना पठाएको थियो । गत फागुन २५ मा मलेसियाबाट आएको बताउने उनलाई रुघाखोकीको समेत लक्षण थियो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले अहिलेसम्म जिल्ला अस्पतालले नमुना पठाएका यीबाहेक ६ जनामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । अस्पतालले यसअघि इलाम नगरपालिकाका ४ तथा सूर्याेदय नगर र सन्दकपुर गाउँपालिकाका १÷१ जनाको स्वाब नमुना पठाएको थियो ।  

जिल्लाका १० वटै स्थानीय तहमा बुधबारसम्म ५ सय ७८ जनामा गरिएको  र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा ७८, सूर्याेदयमा ६८, देउमाईमा ५६ र माई नगरपालिकामा ७५ जनाको आरडिटी गरिएको थियो । यस्तै, चुलाचुली गाउँपालिकाका १६, माइजोगमाईका ३७, माङ्सेबुङका ७४, फाकफोकथुमका ७३, रोङका ८९ र सन्दकपुर गाउँपालिकाका १२ जनाको आरडिटी गरिएको थियो ।

भारतसँग सीमा जोडिएको इलाम जिल्लाका १० वटै स्थानीय तहका ३० क्वारेन्टाइनमा ४ सय २१ जनाको क्षमता छ । यी क्वारेन्टाइनमा अहिले ४ महिलासहित २१ जना बसिरहेको प्रशासनले जनाएको छ । होम क्वारेन्टाइनमा १ सय ६७ महिलासहित ९ सय ५५ जना छन् । इलाम अस्पतालको ९ बेड क्षमताको आइसोलेसनमा १ जनालाई राखिएको छ ।  

जिल्ला समन्वय समितिलगायत सरोकारवाला निकायले स्थानीय तहहरूमा थप २ हजार जना क्षमताको क्वारेन्टाइन तयार गर्न आग्रह गरेका छन् । सरोकारवालाको बैठकले गृह मन्त्रालयले जिल्लामा क्वारेन्टाइन अभाव भएको जनाएपछि क्षमता बढाउन आग्रह गर्ने निर्णय गरेको जिसस प्रमुख गणेशप्रसाद बरालले बताए । ‘क्वारेन्टाइनको व्यवस्थापनका लागि १ नम्बर प्रदेश सरकारसँग डेढ करोड रुपैयाँ बजेट माग गर्ने निर्णय पनि भएको छ,’ बरालले भने, ‘यहाँका स्वास्थ्य संस्थाका लागि विभिन्न स्वास्थ्य सामग्रीसमेत माग गरिएको छ ।’  

 

प्रकाशित: १ जेष्ठ २०७७ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App