८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रिपोर्ट नआउँदै घर पठाइएका युवकको रिपोर्ट पोजेटिभ (अपडेट)

हेलचक्रयाइँले सामुदायीक संक्रमणको जोखिम

लहान- प्रयोगशाला परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका एक युवकमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकलाई आइतबार घर पठाइएको खुलेको छ । उनी घर पुगेर गाउँभर हिँडडुल गरेको र हटिया गएर किनमेल गरेकाले सामुदायी संक्रमणको जोखिम बढेको छ ।

सोमबार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट ती युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएपछि जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको टोली युवकको घर पुगेका थिए । युवकलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनको परिवारका चार जना सदस्यको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले बताए । उनको क्लोज कन्ट्याक्टमा आएका अरु पाँच जनाको पनि स्वाब संकलन गरिएको छ ।  

कोरोना संक्रमित युवक चितवनमा एक कन्सलटेन्सिमा राजमिस्त्रीको काम गर्दै आएका थिए । लकडाउन लम्बिएपछि काम रोकियो । काम रोकिएपछि उनी कामबिहिन भए । उनीसहित १३ जना कामदारहरु घर फर्किने सोच बनाए । गाडी नचेलेका कारण उनीहरु हिँड्दै घर पुग्ने आट गरे । कहिँ ट्रकको डालामा बसेर त कहिँ हिँडेरै उनीसहितको टोली बैशाख १० गत्ते कठौना बजार पुगेको डाक्नेश्वरी नगरपालिकाका मेयर शीवनारायण साहले बताए । कठौना बजारबाट उनीहरुलाई चचमावि पातो क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमध्ये सात जनाको आरडिटी परिक्षण नेगेटिभ आएपछि २५ गत्ते घर पठाइदिएको थियो । बाँकी सात जनाको स्वाब(नमुना) संकलन गरी २५ गत्ते परीक्षणका लागि धरान पठाउँदा ६ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ आएको छ ।  

वडा नम्बर ३ का अध्यक्ष प्रदीपकुमार साहका अनुसार नगरपालिकाको स्वास्थ्य संयोजकले भनेपछि आइतबार दिउँसो ५ बजे उनलाई(संक्रमित युवक) घर पठाइएको हो ।  स्वास्थ्य संयोजक उमेश साहले नागरिकसँग भने,‘जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले उनीहरुलाई घर पठाइदिन भनेपछि पठाएको हुँ । मैले उहाँसँग(यादवसँग) सोधे ‘उनीहरुलाई घर पठाइदिउँ सर’ हुन्छ जवाफ दिएपछि पठाइदिएको साहले भने ।

यत्ता, जिल्ला स्वास्थ्य प्रमुख यादवले संक्रमित घर होइन क्वारेन्टाइनमै रहेको दावी गरेका छन । यादवले भने‘उनी क्वारेन्टाइनमै छ, हामीले त्यहीबाट अस्पताल पठाएका छौं ।’ आइतबार १८ वर्षीय युवकसहित सात जना क्वारेन्टाइनबाट घर फर्केका छन् । घर फर्केका १८ वर्षीय युवक बाहेक ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित युवकको बसोबास रहेको डाक्नेश्वरी–३ घना मुस्लिम बस्ती हो । अबिवाहित उनको घरमा आमा बुवा, हजुर आमा हजुर बुवा छन । स्वास्थ्यकर्मीसहितको टोलीले युवकको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिरहेको छ । नजीकका सम्पर्क व्यतिmको पहिचान गरी स्वाब संकलन गरिएपनि अन्य सम्र्क व्यतिmहरुको पहिचान खुल्न सकेको छैन ।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दाशले भने,‘संक्रमित युवकलाई आइसोलेसनमा भर्ना गरिएको छ । अहिले उनमा कोरोनाका कुनै लक्षण देखिएको छैन । हामी थप परीक्षण तथा निगरानी गरिरहेका छौं ।’ यस अस्पतालले पहिलो पटक कोरोना पुष्टि भएका विरामीलाई भर्ना गरेको छ । प्रदेश सरकारले यस अस्पताललाई पनि कोभिड अस्पतालको रुपमा तयार पार्न बजेट पठाइसकेको छ ।  

संक्रमित बढ्दै, परीक्षण खुम्चिँदै
सोमबार सप्तरीका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ३२ पुगेको छ । यस प्रदेशको वीरगञ्ज महानगरपालिका ३ छपकैयामा समुदायस्तरमै कोरोना भइरस फैलिसकेको छ ।  

हालसम्म यस प्रदेशको पर्सामा २५, रौतहटमा ३ बारामा २, सर्लाही र सप्तरीमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या फैलिने क्रममा रहेपनि परीक्षणको दायरा भने फराकिलो हुन नसक्दा समुदायमा संक्रमणको जोखिम बढ्दो छ । अहिलेसम्म यस प्रदेशमा ३ हजार ७ सय २५ जनाको नमुना(स्वाब) संकलन गरिएको छ । जसमध्ये २५ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३२ जनाको रिपोर्ट पोजेटिभ आएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । संकलित स्वाबमध्ये ११ सय ४९ जनाको रिपोर्ट आउन बाँकी छ ।  

परीक्षणको दायरा नबढाएसम्म समुदायका कति जना मानिस संक्रमित छ यकिन गर्न सकिदैन नारायणी अस्पताल वीरगञ्जका प्रमुख डाक्टर मदन उपाध्यायले बताए । अहिलेसम्म यस प्रदेशको परीक्षणको अवस्था सन्तोषजनक छैन । घना बसोबास रहेको यस प्रदेशमा संक्रमण फैलिने जोखिम उच्च रहेको उनले बताए । जोखिम उच्च भएको समाजमा परीक्षणको दायरा फराकिलो बनाउनुको बिकल्प हुन्न उनले भने ।’

 

 

   

 

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App