६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

लहान- बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन।

भारत उत्तर प्रदेश राज्यको काशीगञ्जबाट् पैदल हिँडेर मंगलबार जयनगर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा तायनाथ नेपाली सुरक्षाकर्मीले प्रवेश रोकेका छन। सीमामा प्रवेश नपाएपछि उनीहरु फर्केर जयनगरमा रोकिएका छन। जयनगरबाट उनीहरु घर फर्किन जनप्रतिनिधिदेखि अभियानकर्मीलाई गुहार गरिरहेका छन।

कल्याणपुर नगरपालिका १२ बेल्हाका ३८ वर्षीय प्रमोद दासले जयनगरको सब डिभिजनल अस्पतालमा स्वास्थ्य जाँच गराएका छन। उनलाई १४ दिन क्वारेन्टाइन बस्न चिकित्सकले सल्लाह दिएका छन। उनले भने,‘यहाँबाट सरकारले हामीलाई नेपाल प्रवेश गर्ने बन्दोबस्त मिलाओस। सरकारी निर्देशनअनुसार हामी क्वारेन्टाइनमा बस्न तयार छौं।’ हामी नेपाली हौं, नेपाल नगए कहाँ जाने दासले भने,‘भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन।’

जयनगरमा उनीहरुलाई त्यहाँका मनकारीहरुले खाना खावाइरहेका छन। काशीगञ्जबाट जयनगरसम्मको १५ दिने पैदल यात्रा निकै दर्दनाक एवं कष्टकर रहेको दासले सुनाए। कहिलेकाहिँ मात्र खान पाइन्थ्यो। पानीको भरमा यात्रा निकै कष्टकर रह्यो, उनले भने।

जयनगरमा रोकिएका ३१ कल्याणपुर, गोलबजार नगरपालिका र विष्णुपुर गाउँपालिकाका छन्। सीमापारि रोकिएका आफ्नै क्षेत्रका मजदुरहरुलाई भित्र्याउन पहल भैरहेका उद्योग पर्यटन तथा वातवरण राज्य मन्त्री सुरेश कुमार मण्डलले बताए। उनले भने,‘ जयनगरमा रोकिएकाहरुलाई ल्याउने सिरहाका सिडिओ सरोज गुरागाइँसँग कुरा गरेको छु। उहाँले अन्तराष्ट्रिय बोर्डर केन्द्र सरकारको नियन्त्रणमा रहेकोले परराष्ट्र मन्त्रालय हुँदै गृहको निर्देशन आउनुपर्ने जवाफ दिनुभएको छ। गृहको निर्देशन आए मात्र सीमाबाट आउने अनुमति दिनसकिने प्रजिअको जवाफले प्रक्रिया लम्बिने देखिएको मन्त्री मण्डलले बताए।

उनीहरुलाई ल्याउने प्रक्रिया लम्बिने देखिएपछि रोकिएका मजदुरहरुलाई जयनगरकै प्लस टु विद्यालयको क्वारेन्टाइनमा बस्न बन्दोबस्त मिलाइएको उनले बताए। हामी उहाँहरुको उद्दारका लागि सम्पूर्ण रुपमा प्रयासरत्त रहेको मन्त्री मण्डलले बताए।

 

 

प्रकाशित: २४ वैशाख २०७७ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App