coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पिसिआर परीक्षणमा रिएजेन्ट अभाव

काठमाडौं - देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला नमुना परीक्षणका लागि आवश्यक रिएजेन्टको अभाव हुन थालेको छ। सरकारले टेन्डर प्रक्रियाबाट ल्याउने भनेको सामग्री बेलैमा नआएपछि पिसिआर परीक्षणमा आवश्यक रिएजेन्ट तथा किटको अभाव हुन थालेको हो। 

दिनदिनै संक्रमितको संख्या बढ्दै गएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन नसकेपछि वीर अस्पतालले सोमबारदेखि नमुना परीक्षण गर्न सकेको छैन। त्यहाँ संकलित नमुना  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। ‘मन्त्रालयमा रिएजेन्ट माग गर्दा सकिएको भनेपछि हामीले नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका छौं,’ उनले भने।

वीर अस्पतालमा मात्र होइन, देशभरिका अस्पतालमा यसको अभाव देखिएको छ। वीर अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा. विद्याननिधि पौडेलका अनुसार नेपालगन्जमा एकैपटक कोरोना पोजेटिभ फैलिएपछि मन्त्रालयले उल्टै वीर अस्पतालसँग पिसिआर रिएजेन्ट मागेको थियो। पिसिआर राष्ट्रिय जनस्वास्थ्य  प्रयोगशालामा पठाएको र  प्रयोगशालाबाट नेपालगन्ज पठाएको सुन्नमा आएको उनले बताए। वीर अस्पतालका लागि भनेर मन्त्रालयले डेढ महिनाअघि चार सयवटा रिएजेन्ट दिएको थियो। चार सयमध्ये २ सयजति वीरमै प्रयोग भइसकेको थियो भने बाँकी २ सय  राष्टिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको अस्पतालले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन नसकेपछि वीर अस्पतालले सोमबारदेखि नमुना परीक्षण गरेको छैन।

अहिले काठमाडौंमा कोरोना संक्रमित नभएकाले मन्त्रालयले वीरसँग रिएजेन्ट मागेर अलि बढी जोखिम क्षेत्रमा पठाएको डा. पौडेलले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने पिसिआर रिएजेन्ट अहिलेका लागि पुग्दो रहेको जनाएको छ तर कति छ भन्नेबारे प्रयोगशालाप्रमुख डा. रुना झा बोल्न चाहिनन्। ‘जे–जति भए पनि अभाव भइसकेको छैन’, उनले भनिन्। 

वीर अस्पतालमा मात्र नभएर देशका विभिन्न प्रयोगशालामा पिसिआर रिएजेन्ट कमी हुँदै गएको पाइएको छ। हाल देशका विभिन्न स्थानमा  सञ्चालनमा आएका प्रयोगशालामा रिएजेन्ट कमी हुँदै गएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार एक साताअघि नै चितवनमा पिसिआर रिएजेन्ट सकिएपछि मन्त्रालयले पुनः एक सय किट पठाएको थियो। त्यस्तै नेपालगन्जमा २ सय ५० र विराटनगरमा १ हजार किट पठाइएको मन्त्रालयले जनाएको छ। 

सरकारले चीन सरकारले दिएको २० हजार, विश्व स्वास्थ्य संगठनले दिएको १ हजार र खरिद गरेको ४० हजार पिसिआर रिएजेन्ट संकलन गरेको थियो। पिसिआरका लागि आवश्यक आरएनए अट्¥याक्सन किट नभएपछि नमुना परीक्षणमा कमी आएको विभागका  महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले बताए। ‘दुई÷चार दिनलाई काम चल्छ, त्यसपछि अभाव हुन्छ’, उनले भने। 

मन्त्रालयले मंगलबार दिएको तथ्यांक  अनुसार अहिलेसम्म १३ हजार ६ सय ४० वटा नमुना पिसिआर बिधिबाट र ५२ हजार २ सय २७ वटा नमुना आरडिटी विधिबाट परीक्षण भएको छ। 

स्वास्थ्य मन्त्रालयले रिएजेन्ट कुन–कुन प्रयोगशालामा कमी भएको छ भन्ने जानकारी दिएको छैन। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले मंगलबार नागरिकसँग भने, ‘ विश्वभरि पिसिआर रिएजेन्ट तथा कोरोना उपचारमा आवश्यक सामग्रीको अभाव छ, नेपालमा पनि कमी छ तर हामीले भएका ठाउँबाट नभएका ठाउँमा पठाएर व्यवस्थापन गरेका छौं।’ 

नेपालगन्जमा नयाँ संक्रमित देखिएसँगै पिसिआर बिधिबाटै पहिलेको भन्दा दोब्बर परीक्षण गर्न रिएजेन्ट कमी भएको विभागका महानिर्देशक  श्रेष्ठले बताए। ‘पहिलेकै स्थितिमा परीक्षण गर्नका लागि अभाव भइसकेको छैन, हामीले एकदमै ठूलो संख्यामा पिसिआर विधिबाट परिक्षण गर्न खोजेका छौं, त्यसका लागि कमी भएको हो’, उनले भने। 

सरकारले  खरिद सम्झौता गरेका कम्पनीले थप पिसिआर रिएजेन्ट तथा अन्य सामग्री वैशाख २० गतेभित्रै बुझाइसक्ने भनिए पनि मंगलबारसम्म नआइपुगेको मन्त्रालयले जनाएको छ। स्विस सरकारले दिन लागेको पिसिआर रिएजेन्ट सिंगापुरमा आइपुगेको तर सबै सामग्री तयारी अवस्थामा नरहेकाले जहाज पठाउन नसकेको मन्त्रालयका सह–प्रवक्ता अधिकारीले बताए।

 ठेकेदार कम्पनीले २० गते नै मन्त्रालयलाई बुझाइसक्ने भनिएका सामग्री नआएको विभागका महानिर्देशक श्रेष्ठले पनि बताए। उनका अनुसार धेरैजसो स्वास्थ्य सामग्री चीनबाट आउनुपर्नेमा त्यहाँ पाँच दिनसम्म मनाइने मे दिवसका कारण प्रक्रिया अघि बढन् नसकीसामान गोन्जाओमा रोकिएको छ। 

पिसिआर विधिबाट परीक्षण अवस्था 

क्र.स. प्रयोगशाला परीक्षण संख्या

१ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ८,००८

२ बिपी कोइराला,धरान ९५४

३ कोसी प्रादेशिक अस्पताल ८०१

४ विराटनगर ११३

५ जनकपुर अस्पाल ११३

६ भरतपुर अस्पाल ३९३

७ हेटांैडा ४३५

८ धुलिखेल अस्पाल ५९४

९ पाटन अस्पताल २९

१० वीर अस्पताल १५०

११ पोखरा उपक्षेत्रीय अस्पताल ५१२

१२ रुपन्देही ३३७

१३ सुर्खेत ३५३

१४ कर्णाली ८

१५ सेती प्रादेशिक अस्पताल ५०५

१६ भेरी ४३४

प्रकाशित: २४ वैशाख २०७७ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App