coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जोखिम बढी, परीक्षणको गति सुस्त

रुपन्देही- कोरोना संक्रमणको जोखीम बढेसंगै प्रदेश ५ मा बिभिन्न नाका हुँदै भारतबाट मात्रै २ लाख बढी नेपालीहरु प्रवेश गरेको सरकारी तथ्यांक छ । यसमध्ये ६० प्रतिशत प्रदेश ५ भित्रैका नागरिक हुन । पछिल्ला केहि सातामा मात्रै चोरबाटो हुँदै करिव एक हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्केका छन् । तर भारत र तेस्रो मूलूकबाट आएका नेपालीहरुको कोरोना परीक्षणको गति भने निकै सुस्त छ ।

नेपालमा भारतबाट आएकाहरुबाट नै कोरोनाको जोखिम देखिएको छ । शुक्रबार कोरोना संक्रमित भएका रुपन्देही र बाँकेका दुवै जना भारतबाट आएका हुन् । तर भारत तथा तेश्रो मुलुकबाट आएर क्वारेन्टीनमा राखिएकाहरुकै र्‍यापिड डायागोनेष्टिक टेस्ट (आरडिटि) पनि भएको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अनुसार अहिले सम्म प्रदेशमा जम्मा आरडिटी मार्फत ४ हजार २ सय ४० जनाको कोरोना परीक्षण भएकोे छ । जबकी प्रदेशभरी अहिले क्वारेन्टीनमा ११ हजार ३ सय २ जना छन् । आरडिटी मार्फत क्वारेन्टीनमा बसेका मध्ये ७ हजार भन्दा बढिको र्‍यापिड टेष्टसम्म भएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ७६ जनाको कोभिड १९ थ्रोट स्वाव (खकार र थुक) मार्फत कोरोना परीक्षण भएको छ । यसमध्ये ८ सय २९ जनाको नेगेटिभ रिर्पोट आएको छ ।  बाँके र रुपन्देहीका दुई जनमा कोरोना संक्रमण देखिएको हो । आरडिटीमा भने पश्चिम नवलपरासी र अर्घाखाँची गरि दुई जनाको एन्टिबडि पोजेटिभ देखिएको थियो ।  

प्रदेशमा अहिले पिसिआर मार्फत प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भेरी अस्पताल बाँके र राति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षण भएको छ। तर यसको गति पनि बढ्न सकेको छैन । तीनै ठाउँमा स्थापना गरिएको प्रयोगशालाको क्षमता अनुसार स्वाब मार्फत परीक्षण भएको छैन । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गत बुधबार रुपन्देहीमा भारतबाट आएर क्वारेन्टाइनमा राखिएका २ सय ३४ जनाको स्वाब सकलन गरेको थियो । तर किट अभावका कारण १ सय ९ जनाको स्वाव भने राष्ट्रिय प्रयोगशालामा परीक्षणमा पठाउनुपरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । आरडिटी र पिसिआर दुवैको परीक्षणको गति कम भएको भएपनि प्रदेश सरकारले भने सन्तोष मानेकै छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक एव अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले आरडिटी र पिसिआर दुवै माध्यमबाट परीक्षण भइरहेको बताए । उनले अन्य प्रदेशको हाराहारीमा परीक्षण भएको दावी गरेँ । तर अहिले ७ वटै प्रदेशमा ५ नम्बरको परीक्षण भने कम देखिएको छ । क्वारेन्टीनमा बसेकाहरु मध्ये २० प्रतिशत भारतबाट आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर, क्वारेन्टीनमा भने पिसिआर मार्फत परीक्षण नै भएको छैन । रुपन्देहीमा शुक्रबार भेटिएका कोरोना संक्रमित युवा पनि भारतबाट आएका थिए र उनमा कुनै लक्षण देखिएको थिएन ।

यदि उनको पिसिआर मार्फत कोरोना परीक्षण नगरेको भए उनी क्वारेन्टीनबाट घर फर्कन सक्थेँ । यस्ता कोरोना संक्रमति सीमा क्षेत्रका गाउँहरुमा रहेको हुनसक्ने भएपनि परीक्षण नहुँदा जोखिम बढेको छ । एकातर्फ सिमा क्षेत्रमा त्रास छ भने अर्को तर्फ भारतबाट फर्किकाहरु परीक्षणको दायरामा नआउदा जोखिम बढेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित: २० वैशाख २०७७ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App