८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

विपी प्रतिष्ठानमा टेलिमेडिसन सेवा सुरू, घरबाटै उपचार सेवा लिन सकिने

धरान – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा (टेलिमेडिसिन) सुरू गरेको जनाएको छ। यो सेवा सुरू भएपछि लकडाउनको कारण ओपिडी सेवा रोकिदा उपचारबाट बञ्चित हुनुपरेका विरामीहरूले घरबाट नै प्रत्यक्ष स्वास्थ्य सेवा पाउने प्रतिष्ठानको भनाई छ। लकडाउनको कारण प्रतिष्ठानको ओपिडी सेवा ठप्प हुदा यसअघि हेल्पलाइनमार्फत उपचार सेवाको प्रबन्ध गरेको थियो। हेल्पलाइन भन्दा टेलिमेडिसन सेवा प्रभावकारी हुने भएकोले सर्वसाधारणहरुलाई लक्षित गरेर सुरूवात गरिएको प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए। ‘लकडाउनको कारण ओपिडी सेवा रोकिएको छ, धेरै विरामी उपचार पाउनबाट बञ्चित छन् । उहाँहरुलाई घरमै सेवा दिनको लागि टेलिमेडिसन सेवा सुरु गरेका हौं,’डा.गिरीले भने।

अनलाईन चिकित्सा सेवाबाट विरामीहरू अस्पतालसम्म आउन नपर्ने भएकोले कोरोना संक्रमणको जोखिम र खर्च पनि जोगिने चिकित्सकहरूको भनाई छ। यो सेवाअन्र्तगत घरबाट नै प्रत्यक्ष भिडियो संवाद हुने भएकोले विरामीहरूले पुर्जी काट्न लाइनमा उभिनु नपर्ने र खर्च पनि जोगिने अस्पताल निर्देशक डा.गौरीशंकर साहले बताए। ‘घरबाट नै भिडियो कल गरेर सम्बन्धित डाक्टरसँग आफ्नो समस्या बताउन सक्नुहुन्छ, खर्च पनि जोगिन्छ र संक्रमणको जोखिम पनि हुदैन,’उनले भने। 
यो सेवा लिनको लागि वीपी प्रतिष्ठानले टेलिमेडिसिनको वेभसाइट निर्माण गरेको छ। त्यहाँ गएर विरामीले व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था छ। विवरण भर्दा नै विरामीले आफुलाई सहज हुने सञ्चार सेवाहरू टेलिफोन, स्काईप, भाइवर वा ह्वाट्सप मध्ये कुनमार्फत सेवा लिने भनेर छनौट गर्नुपर्ने प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐरले जानकारी दिए। ‘विरामीले भरेको फारमका आधारमा सम्बन्धित बिषयका चिकित्सकलाई अपोइन्ट गरिन्छ, र स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइन्छ,’डा.ऐरले भने,‘इर्मजेन्सी र भर्ना गरेर नै उपचार वा अप्रेशन गर्नुपर्नेबाहेक विरामी यहाँसम्म आइरहनु परेन। ल्याबको रिपोर्टहरु पनि त्यसरी नै देखाउन सकिने भयो। यस्तो सेवा देशभरिकै अस्पतालमा लागु हुन सके धेरै राम्रो हुन्छ।’
विरामीले उपलब्ध गराएको विवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफै विरामीलाई सम्पर्क गर्नेछन्। चिकित्सक र बिरामीबीचमा भिडियोबाट समेत संवाद गर्न सकिने हुँदा फोन(हेल्पलाइन) मा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने भएकोले प्रभावकारी हुने प्रतिष्ठानको अपेक्षा छ। ई–लर्निङ र टेलिमेडिसिन प्रोग्रामकोकोअर्डिनेटरकोरुपमा प्रा.डा. नरेन्द्र भट्ट रहेका छन् भने डा.परमेन्द्र प्रसाद गुप्ता मेडिकल कोअर्डिनेटरको रूपमा रहने प्रतिष्ठानले जनाएको छ। यस्तै, प्राविधिक समन्वयमा ईन्जिनियर राकेश कुमार दास र अनिष भट्टराईले रहेका छन्। यो सेवा प्रदेश एकभरिको लागि साथै निःशुल्क हुनेछ। 

सात महिनाअघि बिग्रिएको सिटिस्क्यान सुचारू

सात महिनादेखि बिग्रिएर थन्किएको वीपी प्रतिष्ठानको मुख्य सिटिस्क्यान मर्मत भएर पुनः सुचारु भएको छ ।प्रतिष्ठानको रेडियोलोजी विभाग मातहतको सिटिस्क्यान मेशिन गत कार्तिक महिनादेखि बिग्रिएर थन्किएको थियो। मुख्य सिटि सञ्चालनमा नआउदा विरामीहरुलाई धेरै समस्या भइरहेको थियो। 

प्रतिष्ठानमा मुख्य सिटि मेशिनसँगै इर्मजेन्सीमा पनि सिटि मेशिन छ। तर, केही समयअघि त्यो मेशिन पनि बिग्रिएर नयाँ ल्याउने प्रक्रियामा थियो। जसले गर्दा एक समय वीपीमा दुवै सिटि मेशिन काम नलाग्ने अवस्थामा थियो। इर्मजेन्सी विभागको सिटि मेशिन निजी कम्पनीसँगको साझेदारीमा नयाँ आएपछि मात्र विरामीहरुले केही राहत पाएका थिए। इर्मजेन्सीको मात्र सिटि मेशिन चल्दा वार्डका विरामी, ओपिडीका विरामी र इर्मजेन्सीमा आएका विरामीहरुको पनि सिटिस्क्यान गर्न अत्यधिक चाप हुन्थ्यो। जसले गर्दा विरामीहरुले पालो पाउनै मुश्किल थियो। मुख्य सिटि मर्मत भएपछि धेरै सहज भएको प्रतिष्ठानले जनाएको छ।

रेडियोलोजी विभागका टेक्निकल इञ्चार्ज एवं डेमोस्ट्रेटर मुशेक झाका अनुसार एक साता अघि सिटि मेशिन मर्मत भएको थियो। एक सातासम्म ट्रायल गर्दा कुनै समस्या नदेखिएको उनले बताए। ‘एक साताअघि नै बनेको हो, एक हप्ता ट्रायल गर्दा राम्रो भयो,’उनले भने। उनका अनुसार अहिले वार्डमा रहेका विरामी र हटलाइनमार्फत डाक्टरसँग सम्पर्क गरेर ओपिडीका विरामीहरु पनि सिटि गर्न आइरहेका छन्।

प्रकाशित: १९ वैशाख २०७७ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App