८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आरएनए छुट्याउने अटोमेटिक मेशिन उपलब्ध गराउन सरकारसँग माग

वीपी प्रतिष्ठानस्थित आरएनए छुट्याउने म्यानुअल मेशिन । वीपी प्रतिष्ठानको माइक्रोवायोलोजी विभागका चिकित्सकहरु । तस्बिर : रोहित राई

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी विभाग मातहतको प्रयोगशालामा कोरोना भाइरस परीक्षणको क्षमता(संख्या) वृद्धि भएको छ । गत चैत १६ गतेदेखि वीपी प्रतिष्ठानको ल्याबमा कोरोना परीक्षणको लागि स्वाबको नमुना परीक्षण गर्न थालिएको थियो ।

शुरुवाती समयमा कम्तीमा १२ वटा स्वाबको नमुना पिसिआर परीक्षण गरिएको थियो । तर, अहिले प्रतिष्ठानको ल्याबमा दैनिक एक सय भन्दा बढी स्वाबको नमुना पिसिआर परीक्षण हुन थालेको छ । प्रतिष्ठानको अनुसार सोमबार एकै दिन १ सय ४ वटा स्वाबको नमुना परीक्षण भएको थियो । उक्त नमुनाको रिपोर्ट पनि आइसकेको छ । ‘अहिले वीपी प्रतिष्ठानमा भएको ल्याबको परीक्षण क्षमता उल्लेखनीयरुपमा वृद्धि भएको छ । हिजो एकै दिन १ सय ४ वटाको परीक्षण भएर रिपोर्ट आएको छ । रिपोर्ट सबै नेगेटिभ नै छ,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने,‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि सबैभन्दा धेरै संख्यामा परीक्षण हुने ल्याब यहीको हो ।’

प्रतिष्ठानस्थित माइक्रोवायोलोजी विभागका अनुसार आवश्यक परेमा एकै दिनमा २ सय वटा स्वाबको नमुना पनि परीक्षण गर्न सक्ने क्षमता छ । प्रतिष्ठानको ल्याब सञ्चालन आएपछि सोमबारसम्म ६ सय स्वाबको पिसिआर परीक्षण भइसकेको विभागका एसिस्टेष्ट प्रोफेसर डा.लोकबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारले आरएनए छुट्याउने मेशिन अटोमेटिक(स्वचालित) मेशिन उपलब्ध गराए स्वाब परीक्षणको संख्या अझै बढ्नेछ । ‘अहिले हामीसँग आरएनए छुट्याउने मेशिन म्यानुअल मात्र छ । म्यानुअल मेशिनबाट पनि सय वटा परीक्षण गर्दैछौं, आश्यकता पर्यो भने २ सय वटा पनि गर्न सक्छौं,’डा.श्रेष्ठले भने,‘अटोमेटिक मेशिन उपलब्ध भयो भने काम छिटो हुन्छ, र अहिलेको भन्दा धेरै टेष्ट गर्न सक्छौं ।’

स्वाबको नमुनाबाट आरएनए छुट्याउने मेशिन यहाँको म्यानुल छ भने त्यो मेशिनबाट छुट्टिएको आरएनलाई जिनसँग म्याच गरेर पोजेटिभ वा नेगेटिभ रिपोर्ट दिने रियल टाइम पिसिआर मेशिन २ वटा अत्याधुनिक छ । आरएनए धेरै हुदा २ वटा नै मेशिनबाट परीक्षण गर्न सकिन्छ । ‘म्यानुअल मेशिन हुदा आरएनए छुट्याउन ३/४ घण्टा समय लाग्छ, अटोमेटिक मेशिन भए १ घण्टामै हुन्छ,’डा.श्रेष्ठले भने,‘अटोमेटिक मेशिन भयो भने एक घण्टामा एकैपटक ९६ वटाको काम हुन्छ । अहिले हामीले जस्तो म्यानुलअ गरेर सय वटाको रिपोर्ट दिन कसैले पनि सक्दैन ।’ उनले प्रदेश र संघीय सरकारसँग अटोमेटिक मेशिन उपलब्ध गराउन माग गरेपनि अहिलेसम्म नपाएको बताए । यो अटोमेटिक मेशिनको मुल्य करिब १ करोड ३० लाख हाराहारी पर्ने बताइएको छ ।

विभागका चिकित्सकहरुका अनुसार वीपी प्रतिष्ठानमा मलिक्युलर ल्याब झण्डै एक दशकअघि नै स्थापना भएको थियो । त्यसैले यहाँ अनुभवी एवं दक्ष चिकित्सक र प्राविधिकहरु छन् । प्रतिष्ठानमा मलिक्युलरमै पिएचडि गरेका डा.नारायण भट्टराईजस्ता दक्ष र अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका चिकित्सक छन् भने माइक्रोबायोलोजीमा एम.डि.गरेका १० जना चिकित्सक छन् । यस्तै, ४ जना अनुभवी प्राविधिक पनि छन् । ‘यहाँको पूर्वाधार, जनशक्ति र अनुभव सबै देखेर नै सरकारले पिसिआरको भेरिफिकेसन गर्न वीपीको ल्याबलाई मान्यता दिएको हो,’डा.श्रेष्ठले भने ।

प्रतिष्ठानका अनुसार सामान्यतयाः ल्याबमा आरएनएसँग म्याच(तुलना) गर्न २ वटा जिन हुन्छ । वीपीमा भने ४ वटा जिन छ । पहिलो २ वटा जिनसँग म्याच गर्दा पनि शंकास्पद भएमा तेस्रो वा चौथो जिनसँग म्याच गरेर पोजेटिभ वा नेगेटिभ निश्चित गरिन्छ । यहाँको चौथो जिन युआन स्पेशिफिक जिन हो । त्यसैले यहाँको परीक्षण गुणस्तरीय र उच्च क्षमताको भएको सहप्रवक्ता डा.ऐरको दाबी छ । ‘सरकारसँग पिसिआर छुट्याउने मेशिन अटोमेटिक माग गरिएको छ, यदी त्यो उपलब्ध हुने हो भने यहाँको ल्याबको क्षमता अहिलेको भन्दा तेब्बर हुन्छ,’उनले भने ।

 

प्रकाशित: १६ वैशाख २०७७ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App