coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रशासनसँगको सहकार्यमा मुस्लिम आयोगले गर्‍यो मस्जिदमा अनुगमन

काठमाडौं- उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ।

मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो।

मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए। उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताए। दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए। कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।

मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरे। अनुगमन पछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटना पछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए। हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताए। कुनैपनि मस्जिद वा मद्रसामा कोहीपनि लुकेर नबसेको उनले बताए। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो।

प्रकाशित: ९ वैशाख २०७७ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App