coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लकडाउनको मौका छोपी जंगल फडानी

धरान – लकडाउनको मौकामा धरानको सामुदायिक वन क्षेत्रमा तीब्र फडानी भइरहेको पाइएको छ। यो समयमा वन्यजन्तुको शिकार गर्ने समूहहरू पनि सक्रिय भएका छन्। लकडाउनले गर्दा सरक्षण गर्ने पदाधिकारीहरू पनि घरभित्रै सिमित भएको मौकामा धरानको सामुदायिक वन क्षेत्रमा फडानीले व्यापकता पाएको हो भने शिकारीहरु पनि सलबलाएका हुन्। दुई दिन यता सशस्त्र प्रहरी तथा सशस्त्र वन रक्षकले फडानी भएको वन क्षेत्रमा सक्रियता एवं गस्ती बढाएको छ। तर, पर्याप्त संख्यामा सुरक्षाकर्मीहरुको अभावले प्रभावकारी हुन सकेको छैन। बिशेष गरि धरानको दक्षिणी चारकोसे जंगल क्षेत्रमा व्यापकरुपमा लाथ्राहरु फडानी भएको छ भने वन्जयन्तुको शिकार पनि भइरहेको छ। 

धरानको वडा नं १५ स्थित बाँझगरा सामुदायिक वन समूहका  उपाध्यक्ष कुमार भारतीका अनुसार एकै दिन सय जना भन्दा बढी समुहमा मानिसहरु जंगल पस्ने गरेका छन्। उनीहरूले अहिलेसम्म संरक्षण भइरहेको लाथ्रा जथाभावी काटेर ठूलो  नोक्सानी पुर्याइरहेको उपाध्यक्ष भारतीले बताए। ‘लकडाउनले बजार, टोल सुनसान हुन्छ, तर डेढ दुई सय मानिसहरू जंगलतिर पस्दो रहेछ,’उनले भने,‘यही अवस्था रहीरह्यो भने जंगल सखाप बनाउने भयो।’

बाँझगरा वन समुहसँगै धरान ५ स्थित बालऋर्षि सामुदायिक वन, धरान ६ स्थित पानवारी सामुदायिक वन, धरान १७ स्थित उदय सामुदायिक वन, धरान २० कार्कीछाप, धरान ४ को सर्दु जलाधार क्षेत्रलगायत थुप्रै वन क्षेत्रमा दिउँसो र राती पनि वन फडानी र वन्यजन्तुको शिकार हुने गरेको छ। शिकारीहरुले जंगलमा डेढेलो पनि लगाउन थालेका छन्। लकडाउनको समयमा पनि मानिसहरु जंगल पस्छन् भनेर वन समुहले अनुमान नै लगाउन नसक्दा धेरै क्षति भएको हो। ‘हामीसँग हतियार हुदैन, ठुलो संख्यामा रुख काट्न र शिकार खेल्न हतियारसहित हुन्छ। अहिले लकडाउनमा घरबाट निस्कन पनि गाह्रो छ,’भारतीले भने,‘ हाम्रो हेरालुलाई कुखुरी प्रहार भयो, धन्न लागेन। ज्यान नै जोखिममा हुन्छ।’

पाँचकन्या सब डिभिजन कार्यालयका रेञ्जन इश्वरी बास्तोला लकडाउनको मौकामा ७ बर्षदेखि ७० बर्षसम्मका वृद्ध पनि जंगलमा भेटिएका छन्। पाँचकन्या र विष्णुपादुका सब डिभिजन कार्यालय अन्र्तगत २ दर्जन बढी सामुदायिक वन समुह छ। तर, यी सबैको लागि मात्र ४ जना सशस्त्र वन रक्षक छन्। एउटा पुरानो गाडी छ। सकेसम्म वन जोगाउन दिनरात खटिएको रेञ्जर बास्तोलाले बताए। वन कार्यालयबाट मात्र सम्भव नभए पछि बाँझगरा, पानवारी र बालऋर्षि वन समुहको ११ सदस्यीय संयुक्त वन संरुक्षण टोली आइतबार गठन भएको छ। यो टोलीले बिहान ५ बजेदेखि राती ९ बजेसम्म समय मिलाएर गस्ती गर्ने र कसैलाई पनि जंगल प्रवेश गर्न नदिने गरि खटिएको बास्तोलाले बताए। 

सब डिभिजन वन कार्यालयका अनुसार केही दिन अघि २ नाल बन्दुकसहित धरान १५ का निमा तामाङ जंगलबाट पक्राउ परेका छन्। उनलाई कानुनी कारबाही गर्न इलाका प्रहरी कार्यालयमा बुझाइएको छ। हातहतियार तथा खरखजना मुद्दा सकेपछि वन्यजन्तु संरक्षण ऐनअन्र्तगत पुनः मुद्दा चलाउन वनलाई बुझाउने गरि प्रहरीलाई जिम्मा लगाएको बास्तोलाले बताए। शनिबार बिहान पनि सशस्त्र प्रहरीले धरान ४, १३ र २० नम्बर वडामा पर्ने जलाधार क्षेत्रमा रुख जथाभावी काट्ने दुई दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: ३० चैत्र २०७६ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App