७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अनधिकृत स्वास्थ्य सामग्री खरिद तयारी

कठमाडौं – स्वास्थ्य सेवा विभागले अनधिकृत रुपमा मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको पाइएको छ। ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग करिब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिद गर्ने निर्णयबाट पछि हटेको विभागले खरिदका लागि पुनः प्रक्रिया अघि बढाउन लागेको हो। 

मन्त्रिपरिषद्को बैठकले जिटुजीका माध्यमबाट मेडिकल सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो। खरिद कानुनका जानकार अधिवक्ता मोहन इङनामले मन्त्रिपरिषद्ले मेडिकल सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिइसकेपछि स्वास्थ्य सेवा विभागलाई त्यही विषय खरिद गर्ने अधिकार नहुने बताए। मन्त्रिपरिषद्ले गरिसकेको निर्णय मन्त्रिपरिषद्बाट नउल्टिकन यथावत कायम रहने भन्दै मन्त्रिपरिषद्ले आफ्नो निर्णय पुर्नविचार  गरेपपछि मात्र विभागले खरिद प्रक्रिया अघि बढाउने सक्ने उनले स्पष्ट पारे। तर स्वास्थ्य सेवा विभागले मन्त्रालयको निर्देशन भन्दै मेडिकल सामग्री खरिदको प्रक्रिया अघि बढाएको हो। विभागका केही अधिकारीहरु भने मेडिकल सामग्री खरिदमा एकपटक विवादमा मुछिइसकेकोले मन्त्रिपरिषद्बाट लिखित निर्देशन नआएसम्म प्रक्रिया अघि बढाउन नहुने पक्षमा छन्। 

मन्त्रिपरिषद्ले सेनामार्फत  मेडिकल सामग्री खरिद गर्ने निर्णय भएपछि यसको चौतर्फी आलोचना भएको छ। सेनालाई ठेक्कापट्टामा संलग्न गराउन नहुने कुरा जोड तोडका साथ उठिरहेको छ। यसैविचमा कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय समितिका सदस्यसमेत रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले स्वास्थ्यलाई पनि मेडिकल सामग्री खरिद गर्न दिएको बताएका छन्। तर मन्त्रिपरिषद्ले सेनालाई खरिद गर्न दिने निर्णय यथावत रहेको कारण पोखरेलको भनाइलाई आधार मानेर खरिद गर्न नमिल्ने मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन्। मन्त्रिपरिषद्को लिखित निर्णय आएपछि मात्र खरिद प्रक्रिया अघि बढाउनुपर्ने विभागका अधिकारीहरुले महानिर्देशक महेन्द्र श्रेष्ठलाई सल्लाह दिए पनि उनी खरिद प्रक्रिया अघि बढाउन अग्रसर भएको स्रोतले बतायो। उनले मन्त्रालयको नेतृत्वको निर्देशन भन्दै खरिद प्रक्रिया अघि बढाउन लागिपरेका छन्‌। यस अघिको ठेक्कामा ओम्नीलाई दिनका लागि महानिर्देशक श्रेष्ठले माथिको निर्देशनमा काम गरेर आफूहरुलाई फसाएको भन्दै कर्मचारीहरु काम गर्न डराएका हुन्।  

ओम्नीलाई ठेक्का दिने बेलामा पारदर्शी र मितव्ययीताको नीतिविपरीत काम अघि बढाइएको विभाग कै अधिकारीहरुको आरोप छ। महानिर्देशक श्रेष्ठले आफू मात्र नभइ अन्य कर्मचारीलाई पनि फसाउने काम गरेको खरिद कार्यका संलग्न एक अधिकारीले गुनासो छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यस विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित: २४ चैत्र २०७६ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App