२४ जेष्ठ २०७७ शनिबार
स्वास्थ्य

धादिङमा क्वारेन्टाइनमा बसेका २९ जना घर फर्किए

डिभिजन वन कार्यालय, नीलकण्ठ नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइन ।

धादिङ- धादिङका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका २९ जना घर फर्किएका छन्। रोजगारी तथा अन्य शिलशिलामा विदेश गएर फर्किएकाहरुलाई विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएको थियो। स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म राखिएकोमा कुनै संक्रमण नदेखिएपछि घर फर्काइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए।

नेत्रावती डबजोङ गाउँपालिकाको कन्यादेवीबाट २० जना, डिभिजन वन कार्यलय, नीलकण्ठको क्वारेन्टाइनबाट ४ जना, राजमार्ग सामुदायिक अस्पताल र बैरेनीको बागेश्वरी माविको क्वारेन्टाइनबाट दुई÷दुई जना र गंगाजमुना गाउँपालिकाको शान्ति आविमा निर्माण गरिएको क्वारेन्टाइनबाट एकजना घर फर्किएका हुन्। क्वारेन्टाइन पुगेकाहरूलाई स्थानीय तहले स्वास्थ्य जाँच गराएर घर फर्किने वातावरण बनाएको रिजालले बताए। अब जिल्लाभर क्वारेन्टाइनमा बस्ने ६६ जना छन्।

जिल्लाभर १३ वटै स्थानीय तहहरुका ५९ वटा ठाउँमा ५ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। स्थानीय तहहरु आफैले स्वास्थ्य परीक्षण, खानाको सुविधासहित क्वारेन्टाइन निर्माण गरेको छ।

नेपाल लगायत विश्वभर कोराना भाइरस (कोभिड–१९) को संक्रमणले त्रसित बनाएको छ। चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि सतर्कता अपनाइएको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामले विदेशीएका मध्ये ४ सय ७९ जना स्थानीय तह, प्रशासन तथा प्रहरीको सम्पर्कमा आएका छन्। विदेशबाट फर्कने मध्ये सबैभन्दा बढी भारतबाट ३ सय ९३ जना छन्। त्यस्तै दुबईबाट ३७, कतारबाट १७ जना र अरु अन्य देशबाट रहेका छन्।

कोरोनाको तेस्रो संक्रमित धादिङको नेत्रावती डबेजोङ गाउँपालिकास्थित सेमजोङका थिए। दुवर्इबाट आएका उनी गाउँमा नआइपुग्दै कोरोना लागेको पत्ता लागेपछि उनीसँगै एयर अरेवियाको जहाजबाट नेपाल आएका ७ जनालाई पनि प्रशासनले सम्पर्कमा ल्याएको छ। ७ मध्ये एक जनामा कोरोना भेटिएपछि सबैको खोजी गरिएको थियो। ७ जनाकै अवस्था सामान्य रहेको र प्रशासनको सम्पर्कमा रहेको विपद् व्यवस्थापन समिति धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

 

प्रकाशित: २३ चैत्र २०७६ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App