१२ जेष्ठ २०७७ सोमबार
स्वास्थ्य

गाउँमा लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना

जुम्लाको घोडेगाउँ ।

जुम्ला – जिल्लाको घोडेगाउँका स्थानीयले लकडाउन उल्लंघन  गर्नेलाई पाँच सयदेखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने भएका छन्। कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको भन्दै यो बीचमा गाउँमा प्रवेश गर्ने र गाउँ देखि बाहिर जानेलाई जरिवाना गर्ने नियम लागू गर्न लागिएको हो। गाउँमा जरिवानाको व्यवस्था गरेपछि गाउँका स्थानीय बाहिर आउन सकेका छैनन्। बाहिरबाट गाउँमा जाने पनि रोकिएका छन्। 

स्थानीय चुम्म रोकाया भन्छन्,‘कोराना भाइरसको संक्रमण हुन नदिन गाउँमा निकै सतर्कता अपनाएका छौँ। यो गाउँबाट लकडाउनको समयमा गाउँ छाडेर हिड्ने काम भएको छैन् । सामाजिक संघ संस्थाका कर्मचारी र इष्टमित्रलाई समेत गाउँमा प्रवेश दिइएको छैन्।’  उनका अनुसार जब सम्म कोराना भाइरसको संक्रमण रोकिएको सन्देश गाउँ सम्म पुग्दैन्, तब सम्म गाउँमा लकडाउन कायम रहने छ। 

अहिले घोडेगाउँका अधिकांश स्थानीय लेकाली बस्ती तिर सरिसकेका छन्। गाउँमा मानिसहरुको आवातजावत बढ्न सक्ने र भाइरसको संक्रमण बढ्न सक्ने भन्दै अधिकांश स्थानीय लेकाली क्षेत्रमा सरिसकेको स्थानीय बताउँछन्। तिला गाउँपालिका ६ का वडाध्यक्ष भक्तबहादुर रोकाया गाउँमा लकडाउन निकै कडा गरेको बताउँछन्। ‘गाउँमा बाहिरदेखि नयाँ मान्छे आउन नदिने रणनिती अपनाएका छौँ। यदि जबरजस्ती आउन खोजे जरिवाना तिराउँछौं। उनीहरुलाई गाउँ पस्न दिदैनौं।  वडाध्यक्ष रोकाया भन्छन्,‘ गाउँमा युवा, महिला सबै परिचालित छन्।’

 ‘भारत तथा खाडीमुलुकबाट आउनेलाइ नजिकैको घोडेसिम गाउँमा रहेको निगरानी केन्द्रमा जान सुझाव दिएका छौं’, उनले भने। यता तिला गाउँपालिका ४ नुवाकोट गाउँमा गाउँ प्रवेश गर्ने जोसुकैलाइ निगरानी केन्द्रमा लिएर राख्ने निर्णय भइसकेको छ। यहाँका दुर्गम बस्तीमा बाटो बन्द गर्ने देखि सचेतना फैलाउने सम्मको कार्य स्थानीय स्तरबाट भइराखेको छ। गाउँमा कोराना संक्रमणबाट बच्न लसुन र अदुवाको रस निकालेर बिहान पिउने कार्य चलिरहेको छ। 

 

प्रकाशित: २३ चैत्र २०७६ १५:१४ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App