८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भोजपुरका तीन युवाको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुर- काेरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यस्तै भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका अर्का युवकको पनि रिपोर्ट नेगेटिभ आएको छ। दुवै जना षडानन्द नगरपालिकाले दिंलास्थित हस्पिटलको भवनमा निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन्। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। उनीहरुको स्वाब परीक्षणका लागि गत १९ गते बुधबार धरान पठाइएको थियो।

यस्तै अरुण गाउँपालिकाका अर्का युवकको पनि रिपोर्ट नेगेटिभ आएको छ। कतारबाट आएका ती युवा होम क्वारेन्टाइनमा बस्दै आएकोमा ज्वरो बढेपछि थप उपचारका लागि भन्दै गत १५ गते धरान लगिएको थियो। उनको पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको हो।
 

प्रकाशित: २२ चैत्र २०७६ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App