८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा कोरोना विशेष अस्पताल सञ्चालनमा

विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा स्थापना गरिएको कोभिड १९ उपचार केन्द्र । तस्बिर : चुमन बस्नेत /नागरिक

विराटनगर – प्रदेश १ को सरकारले विराटनगरमा कोरोना विशेष अस्पताल(कोभिड १९ उपचार केन्द्र ) सञ्चालनमा ल्याएको छ। विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी  कोरोना उपचार केन्द्र  सञ्चालनमा ल्याएको हो। 

कोरोनाको प्रकोप फैलिएको अबस्थामा छुट्टै अस्पतालमा राखेर उपचार गर्ने उद्देश्यले कोभिड १९ उपचार केन्द्र  स्थापना गर्ने प्रदेश १ को सरकारले निर्णय गरेको थियो। निर्माण गरिएको अस्पतालको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ मा हालसम्म कोरोनाका विरामी फेला नपरेको र केहि शंकास्पद विरामीको स्वाव परिक्षणको काम भइरहेको जानकारी दिए।

मुख्यमन्त्री राईले एक हप्तामै अस्पताल तयार पार्ने उद्देश्यले काम थालिए पनि लक डाउनका कारण निर्धारित समयमा अस्पताल तयार पार्न नसकिएको जानकारी दिए। कोरोना विशेष अस्पताल निर्माणको काम चैत ९ गतेदेखि सुरू गरिएको थियो । कोरोना विशेष अस्पताल तयार पार्न १२ दिन लागेको थियो। कोरोना विषेश अस्पतालको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी  विराटनगर स्थित कोसी अस्पताललाई दिइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनका अनुसार कोरोना विशेष अस्पतालमा १० वटा भेन्टिलेटरसहित ५० वेड क्षमता छ। अस्पतालको हरेक वार्डमा सीसी क्यामारा जडान गरी क्यामाराको मद्दतमा कन्ट्रोल रुमबाट विरामीको निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको छ। 

अस्पतालमा ल्यावको सेटअप गरिएको र अक्सिजन प्लान्टसमेत जडान गरिएको छ। विरामीको मोवाइलबाट सूचना लिने र मोवाइलबाटै चिकित्सकले परामर्श दिनसक्ने प्रबन्ध पनि मिलाइएको घिमिरेले जानकारी दिए। अस्पतालमा छुट्टै ट्रान्सफरमर मार्फत विद्युत सुविधा उपलब्ध गराउनुकासाथै, जेनेरेटरको व्यवस्था गरी २४ सैघण्टा विद्युतको व्यवस्था मिलाईएको मन्त्री घिमिरेले बताए। कोरोना विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य विमा, अतिरिक्त भत्ता, सेवा अवधिमा विरामी भए निःशुल्क उपचार लगायतका सुबिधाको समेत प्रबन्ध गरिएको छ। अस्पताल निर्माणमा  भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय र विराटनगर महानगरपालिकाले सहयोग गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हाल प्रदेश १ मा कोसी अञ्चल अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमणको  आशंका गरिएका विरामीको आइसोलेशनमा राखेर उपचार गर्ने प्रबन्ध गरेका छन्। यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षणसमेत गर्दै आएको छ। 

 

प्रकाशित: २१ चैत्र २०७६ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App