८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नियन्त्रण बाहिर ‘लकडाउन’, सर्वसाधारणको बेवास्ता

बाजुरा- सरकारले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन लकडाउन घोषणा गरेको छ। तर सर्वसाधारणले त्यस तर्फ खासै ध्यान दिएको र स्वीकार गरेको अवस्था देखिदैन। लकडाउनको आठौं दिनमा आइपुग्दा जुन अनुशासनका साथ सर्वसाधारणले नियम पालन गर्नु पर्ने हो, त्यो हुन सकेको छैन।

गाउँदेखि बजार क्षेत्रमा चहल पहल भइरहेको देखिन्छ, भने सडकमा सवारी आउने जानेक्रम पनि रोकिएको छैन। गाउँघरमा दैनिक कामकाजसहित युवाहरुमा खेलकुदका गतिविधी, खोलामा माछा मार्नेक्रम जारी देखिन्छ। सम्पर्क, भेटघाट र चहल पहलमा कोरोनाको संक्रमण बढी फैलिन सक्ने खतरा कम गर्न सरकारले लकडाउन घोषणा गरेको हो।

काम बिशेष बाहेकको कुनै समय पनि घरबाहिर ननिस्की अरुसँगको सम्पर्क र भेटघाट रोक्न भनिए पनि नियम पालना गरिएको छ। प्रहरीले नियम नमान्ने र घरबाहिर निस्कनेलाई कारबाही गर्ने बताए पनि लकडाउन प्रभावकारी नभएको पाइएको छ।

बजारमा पसल खुला राख्ने, आवत जावत नरोकिने, साँफे मार्तडी बाहेकका ग्रामिण सडकमा सवारी साधान आफूखुसी सञ्चालन गरिराख्ने, युवाहरुबीच भेला जमघट, भलिबल, फुटबल जस्ता खेलहरु खेली राख्ने अवस्था देखिएको छ। एक अर्काबीचको सम्पर्क नरोकिएकोमा सर्वसाधारण चिन्ता व्यक्त गर्न थालेका छन्।

विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार, पसल, यातायातका साधन, उद्योग, भीडभाड हुने कार्यालय बन्द गर्ने भनिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन। स्थानीय तहले एक गाउँबाट अर्को गाउँमा प्रवेश निशेष गरेपनि चहल पहल कायमै रहेको छ।

महामारी संकटको मौका छोपेर बजार आक्रान्त बनेको बेला बजार पसल खुल्ला रहेको र जताततै भीडभाड भएका कारण कोरोना संक्रमण फैलिए ठूलो क्षति हुने चिन्ता नागरिक अगुवाहरुको छ। सुरुका केही दिन नियम पालना गरिए पनि तीन दिन यता स्थानीयले आफूखुसी आवत जावत र हिँडडुल गरिरहेका छन्।

नियम नमान्नेलाई नियन्त्रणमा लिने र कारबाही गर्ने बताए पनि त्यो पनि प्रभावकारी हुन सकेको छैन। सदरमुकाम मार्तडीको दुनि हाटबजार बन्द देखिएपनि मार्तडी बजारभित्रका गल्लीका पसलहरु खुला गर्ने गरेका छन्। पसल चौतारामा बस्नेक्रम पनि रोकिएको छैन।

सुदूरपश्चिम प्रदेशमा पनि भारतबाट आएका नेताहरुबाट संक्रमणको उच्च जोखिम देखिए पनि स्थानीयले गम्भीर रुपमा लिएका छैनन्। स्वयम व्यक्तिका लागि पनि भएकोले सबैलाई इमान्दार हुन अपिल गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउने गरेका छन्। प्रहरीदेखि जनप्रतिनिधिले वडा, टोल बस्तीमा पुगेर सचेतना दिने, लकडाउनमा बस्न अपिल गर्ने गरेका छन्।

घरमै गएर सचेत बस्न भनिए पनि सर्वसाधारणले नमान्ने गरेको र बजारमा व्यापारीले पनि व्यापारलाई नै चासो दिएको गुनासो सुनिन थालेको छ। प्रहरीले कडा कदम चाल्नु बाहेक विकल्प नै छैन।

बाजुरामा मात्र भारतबाट आएका सयौं युवाहरु गाउँ पसेका छन्। लक डाउन घोषणापछि मात्र आएका एक सयको हाराहारीमा सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको अवस्था छ। जोखिम बढेपनि व्यक्तिगत रुपमा नागरिकमा सचेतना नआउनु दुःखद् विषय बनेको स्वास्थ्यकर्मीको भनाई छ।

विश्व महामारी लाग्न नदिनु बाहेक विकल्प नरहेको अवस्थामा लकडाउन नमान्नेलाई कारबाही गर्नु पर्नेमा अधिकांशको जोड छ। प्रहरीले पनि संक्रमण ऐन २०२० अन्र्तगत मुद्दा चलाउने बताए पनि कार्यान्वयन नगर्दा स्थानीयले हल्का ढंगबाट लिने गरेको अवस्था छ। जसका कारण जोखिम बढ्ने अवस्था आएको छ।

प्रकाशित: १८ चैत्र २०७६ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App