६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

‘लकडाउन’मा खटिएका प्रहरीलाई सहकारीको साथ

प्रजिअ शालिग्राम शर्मा पौडेललाई पानी, फ्रुटी लगायत हस्तान्तरण गर्दै सक्रिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालु । तस्बिर : दमन/नागरिक

खोटाङ– खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ‘लकडाउन’का क्रममा बजारमा खटिएका प्रहरीलाई पानी, जुस लगायत प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि दिनरात खटिएका प्रहरीलाई सहकारीले लजिस्टीका सामग्री प्रदान गरेको हो। आइतबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रहरीलाई पानी, जुस र चाउचाउ हस्तान्तरण गरेका छन्।

‘लकडाउन’ काक्रममा खटाइएका प्रहरीले उपयोग गर्न पाउने गरी सहकारीले कर्पोरेट रेस्पोन्सिबिलिटी अन्तरगत २० काटन मिनरल वाटर, १० काटन फ्रुटी, १० काटन चाउचाउ र ५ काटन बिस्कुट प्रदान गरेको हो। संकटकाबीचमा खटिएका प्रहरीको हौसलाका लागि २० हजार बराबरको लजिस्टिक सहयोग गरिएको सहकारीका अध्यक्ष लयालुले बताए। ‘कोरोना भाइरसबाट नागरिकको ज्यान जोगाउनका लागि प्रहरी जवान अहोरात्र खटिरहेका छन्, यो बेला जुनसुकै ठाउँमा जहाँ पायो त्यहीको पानी खाने अवस्था छैन, जस्तो पायो त्यस्तै खानेकुरा खाने अवस्था छैन,’ अध्यक्ष लयालुले भने, ‘लकडाउनले बजार बन्द छ, तिर्खा लाग्दा एक घुड्की पानी पिउने वातावरण छैन। पानीकै लागि ढोका ढकढकाउने अवस्था छैन। त्यही भएर कम्तीमा ड्युटीमा खटिएको बेला सहजताका साथ पानी पिउन पाउन् भनेर सहयोग गरिएको हो।’

लजिस्टीका सामान जिल्ला प्रहरी कार्यालयमै राख्ने र आवश्यकता अनुसार ड्यूटीमा खटिएका जवानलाई प्रदान गर्नेगरी प्रदान गरिएको सहकारीले जनाएको छ। ‘लकडाउन’ लम्बिएको अवस्थामा थप सहयोग गर्ने सहकारीका अध्यक्ष लयालुले बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले सहकारीको सहयोगले महामारीकाविरुद्ध लडिरहेका प्रहरीलाई प्रेरणा मिलेको बताए।
 

 

प्रकाशित: १६ चैत्र २०७६ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App