७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

सिरहाको एक गाउँमा प्रवेश रोक्न लगाइएको बार। तस्बिर : नागरिक

लहान- कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई  क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।

चैत ४ गत्ते कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका सिरहाका चार जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न स्थानीयहरुले उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न गुहारे पनि सिराहा प्रशासनले त्यसको बेवास्ता गरेको छ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ परिहारपुर, सिरहा नगरपालिका १९ सन्हैठा, लहान नगरपालिका १ मा गरी चार जना छन्। उनीहरु चारै जना कतार एयरवेजबाट चैत ४ गते काठमाडौं अवतरण भई ५ गते घर फर्केका थिए। चारै जना आफ्नो गाँउ घरमा निस्फिक्री घुमफिर र भेटघाटमा रमाएको तीनका छिमेकीहरुले बताएका छन्। सखुवानन्कारकट्टी गाउँपलिकाका अध्यक्ष केदार यादवका अनुसार ती व्यक्ति नाता कुटुम्बको घर पुग्ने, गाउँ घुम्ने गर्न थालेपछि छरछिमेक त्रासित बनेर फोन गरिरहेका छन्। कोरोना प्रभावित देश घुमेर घर फर्केका उनी क्वारेन्टाइनमा बस्नुको साटो घुमफिर, भेटघाटमा रमाउनाले संक्रमणको सम्भावित जोखिम बढाएको छ। ती व्यक्तिका आफन्त मनोज यादवका अनुसार उहाँलाई कोरोना भाईरस (कोभिड–१९) को परीक्षणका लागि लगिदिन गाउँपालिका अध्यक्ष, स्थानीय प्रहरी र प्रशासनलाई गुहारेपनि बेवास्ता भयो। न कुनै एम्बुलेन्स उनलाई परीक्षणका लागि लैजान तयार हुन्छ न प्रहरी प्रशासन मनोजले भने,‘हामी गाउँले निकै डराएका छौं।’

गाउँपालिका अध्यक्ष यादवका अनुसार ती व्यक्तिलाई पालिकाको स्वास्थ्यकर्मीले भेटेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए। ‘अहिलेसम्म त उनी स्वस्थ छन्। तैपनि स्वास्थ्य परीक्षणका लागि हामीले प्रशासन र प्रदेश सरकारलाई पनि आग्रह गरेका छौं’ अध्यक्ष यादवले भने। आएदेखि उनी थुप्रै ठाँउमा घुमफिर र भेटघाट गरिसकेको यादवले बताए।

सिरहा १९ सन्हैठाका सूर्यकान्त यादव आफ्नो फेसवुक वालमा पोष्ट गरे,‘साउदी, कतारबाट गाउँ फर्केका चार जना क्वारेन्टान बसेर परीक्षण गाराउनुको साटो खुलेआम घुमफिर गरिरहेका छन, गाउँमा सम्भावित संक्रमणको जोखिमसँगै त्रास फैलिएको छ।’ उनीहरुलाई क्वारेन्टाइनमा नराखिएकोमा यादवले चिन्ता व्यक्त गरेका छन्। त्यसबारे प्रशासन र प्रहरीलाई खबर गरीए पनि बेवास्ता गरीएको छिमेकीले गुनासो गरेका छन्। प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले क्वारेन्टाइन गर्ने जिम्मा सम्बन्धित पालिकाहरुको भएको बताए। पालिकाले शंकास्पदलाई पहिचान गरी क्वारेन्टाइन गर्नुपर्छ, गरिरहेका छन्।

क्वारेन्टाइनमा नबसी सीधै गाउँ प्रवेश

भारतलगायत मुलुकबाट भित्रिएका मानिस क्वारेन्टाइनमा नबसेर सिधैं गाउँ छिर्न थालेपछि कोरोना भाइरस(कोभिड–१९)को सम्भावित खतरा बढेको छ। पछिल्लो एक सातामा मात्र प्रदेश २ मा भारत र खाडी मुलुकबाट ५० हजार बढी मानिस भित्रिएको अनुमान छ। उनीहरु सीधै गाउँ प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्य नजर गरी स्थानीयले टोल–टोलमा तगारो लगाउन थालिएको छ। कतिपय ठाउँमा भर्खरै छिरेका मानिस पहिल्याउन स्थानीयले अभियान थालेको छ।

गोलबजार नगरपालिकाको लालपुर टोल प्रवेश गर्ने डगर (बाटो) मा बेरा राखेर आवागमन रोकिएको छ। लहान नगरपालिका –१६ मा बाँस तेस्र्याएर सीधै प्रवेश नगर्न अनुरोध गरिएको छ। सखुवानन्कारकट्टी, सन्हैठा टोलमा नयाँ व्यक्ति देखिए स्थानीयले प्रहरी र प्रशासनलाई खबर गर्छन्। प्रदेश २ को आठ वटै जिल्लाको देहातमा स्थानीयले नयाँ व्यक्तिमाथि निगरानी गरिरहेका छन्।

सुस्त प्रयोगाशाला परीक्षण

प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा २ जनाको मात्र नमुना परीक्षण भएको छ। यो प्रदेशमा ०६८ को जनगाणनाअनुसार ५४ लाख ४ हजार १ स ४५ लाख जनसंख्या छ।

प्रदेश सरकारको प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाकाअनुसार शंकास्पद २ जनाको नमुना परीक्षण भएको छ। दुबैजनाको रिपोर्ट निगेटिभ छ। एक जना सप्तरी सुरुङ्गा नगरपालिका र अर्को धनुषाको रमदैयाका थिए, उनले भने।

जनस्वास्थ्य विज्ञ, चिकित्सक, सांसदहरुले नमुना परीक्षण दर बढाउनुपर्ने माग गरिरहेका छन्। हालसम्म काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै नमुना परीक्षण भइरहेको छ। परीक्षणको दायरा एकदमै कमजोर भएका कारण त्रास झनै बढेको स्वास्थ्यकर्मी बताउँछन्। ‘अहिलेसम्म प्रदेश २ बाट २ जनाको परीक्षण हुनु केही पनि होइन,’ प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादवले भने,‘प्रयोगशाला परीक्षणको दायरा बढाएर सघन नबनाएसम्म संक्रमण छैन भन्दै ढुक्का बस्नु उचित छैन्।’

सरकारले प्रदेश २ को जनकपुर स्थित प्रादेशिक अस्पताल, नारयणी अस्पताल वीरगंज र गजेन्द्र नागरायण सिंह सथगमाथा अस्पताल राजविराजमा नमूना संकलन केन्द्र बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए। तर, अहिलेसम्म नमूना संकलन सुरु हुने छाँट देखिएको छैन। तर, निर्देशनालयका अधिकारी झाले भने ‘तयारी भइरहेको’ रेडिमेड जवाफ दिन्छन्।

प्रदेश तहमा प्रयोगशाखा परीक्षणको संरचना नभएकै कारण त्रासको आयतन पनि फराकिलो बन्दैछ। नारायणी अस्पताल वीरगंजका प्रमुख डक्टर माधव उपाध्यायले प्रदेशमा ‘तत्कालै नमुना परीक्षण सेवा सुरु गर्नु अवश्यक रहेको बताए। घना बसोवास र सघन जनसंख्याका कारण यो प्रदेश जोखिममा छ। संक्रमण फैलिए नमूना परीक्षणको रिपोर्ट पर्खिदै उपचारमा ढीला हुने जिल्ला अस्पताल सिरहाका प्रमुख डाक्टर नागेन्द्र प्रसाद यादवले बताए।

सीमानाका, बजार तथा भीड हुने सबै स्थल लकडाउनले मानवीय चहलपहल निष्क्रीय रहेका बेला प्रयोगशाखा परीक्षणको दायरा बढाएर जोखिम कम गर्ने सुनौलो अवसर हो, उनले भने। तर, प्रदेश तहमा अहिलेसम्म परीक्षण प्रयोगशालाको प्रबन्ध नहुँदा त्रास बढिरहेको छ। हवाईसेवा ठप्प भएका कारण प्रदेश २ मा संकलित स्वाव (नमूना) सडकमार्ग मार्फत काठमाडौं पठाउने झन्झट छ। प्रदेशसभा सदस्य दीलिप साहका अनुसार प्रदेशस्तरमै प्रयोगशाला परीक्षणको व्यवस्था गर्न माग गरेको छ। उनी भन्छन्,‘परीक्षणको रिपोर्ट पर्खिदा अवस्था भयावह हुन सक्छ। ठूलो जनसंख्या रहेको यस प्रदेशका नागरिकलाई सुरक्षित राख्न प्रयोगशाखा परीक्षणको व्यवस्था गर्न सरकार गम्भीर बन्नुपर्छ, उनले भने।’

भारतमा अध्ययनरत एक युवक एक साताअघि लहान (घर) फर्केको तेस्रो दिन ज्वरो आयो। उनको परिवार उनलाई जाँच गराउन लहानकै एक निजी अस्पतालमा पुगे। डाक्टरले टाढैबाट के भएको सोधे। ज्वारो आएको हो भनेपछि डाक्टरले उनको ट्राभल हिस्ट्री सोध्यो। भारत भन्ने वितिकै डाक्टरले बाहिर लग्नुस भनेर फर्काइदिए। उनले छोरालाई उपचारका लागि बाहिर लग्न एम्बुलेन्स समेत पाइनन्। पछि परिचितको निजी गाडीमा धरान पुगेका छन्। उनी भन्छन्,‘यस प्रदेशमा परीक्षणदेखि उपचार भगवान् भरोसा छ।’ सरकारको भर परे ज्यानै जोखिममा पर्न सक्छ, उनको अभिव्यक्ति छ।

स्थानीय तहले विद्यालयहरुमा क्वारेन्टाइन बनाएका छन्। जहाँ एउटा कोठामा पाँच छ वटासम्म खाट राखिएका छन्। यी क्वारेन्टाइनहरुमा दक्ष स्वास्थ्यकर्मी, सुरक्षा उपकरण, स्वास्थ्य वातावरण अभाव छ। शंकास्पदहरुलाई क्वारेन्टाइन गर्ने हो। यदी एउटा कोठमा पाँच जना शंकास्पदलाई राखिन्छ र, त्यसमध्ये एक संक्रमित बाकी स्वस्थ्य छन् भने अवस्था के हुन्छ ? एक चिकित्सकले भने,‘अहिले स्थानीय तहमा क्वारेन्टाइन बनाउने होडबाजी चलेको छ।’ विज्ञको सल्लाह र निर्देशन विनाको क्वारेन्टाइनले थप जटिलता ल्याउने चिकित्सहरुको चिन्ता छ।

 

 

प्रकाशित: १५ चैत्र २०७६ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App