८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘कोरोना जाँचको दायरा बढाउनुपर्छ‘

काठमाडौं - साताव्यापी बन्दाबन्दी (लकडाउन) को चौथो दिनमा समेत कोरोना भाइरस (कोभिड–१९) का थप बिरामी फेला नपरेबाट यस क्षेत्रमा क्रियाशील चिकित्सकले अहिलेसम्म यो विदेशबाट आएका व्यक्तिमै सीमित रहेको हुन सक्ने अनुमान गरेका छन्। तर जाँचको दायरा बढाउनुपर्ने उनीहरूको राय छ।

‘संक्रमण अहिलेसम्म आयातित जस्तो मात्र देखिएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले शुक्रबार नागरिकसँग भने, ‘अहिलेसम्म हाम्रो समुदायमा पुगेको फेला परिसकेको छैन। तर समुदायमा देखिन थाल्यो भने त्यो राम्रो हुँदैन।’

अहिलेसम्म समुदायमा देखिइनसकेका कारण मात्र स्थिति सामान्यजस्तो छ। संक्रमण थप हुन नदिन र भएका संक्रमित व्यक्तिको पहिचान गरी उपचार गर्ने उद्देश्यले बन्दाबन्दीको स्थिति मुलुकमा छ। यो स्थितिमा संक्रामक रोगको उपचारमा संलग्न हुँदै आएको शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको आशंकामा उचारका लागि आउने बिरामीको चाप बढेको छ। अन्य समस्यका बिरामी भने घटेका छन्। ‘अन्य संक्रामक रोगका बिरामीको चाप घटेको छ तर तनाव भने बढेको छ,’ डा. पुनले भने।

एकातिर विदेशबाट आएका व्यक्तिमा मात्र अहिलेसम्म कोरोना संक्रमण देखिएको छ। अर्कोतिर समुदायको तहमा यो फैलिइसकेको थाहा भएको छैन। अहिलेसम्म चारजना बिरामी देखिएकामा एकजना उपचारपछि घर फर्किसकेका छन्। एकजना १९ वर्षीया युवती र अर्का ३२ वर्षीय युवासहित तीनजना उपचाररत छन्। अहिलेको स्थितिलाई आकलन गर्दै डा. पुनले भने, ‘अहिलेसम्म आयातितरुपमा मात्र कोरोना संक्रमण देखिएको भए पनि यो रोग  जाँचको दायरा बढाउनुपर्छ।’

दायरा बढाउँदा शंका लागेका बिरामीमात्र होइन, इच्छुक अन्यले पनि परीक्षण गराउन पाउँछन्। खासमा बन्दाबन्दीको स्थिति पनि आक्रामक ढंगले परीक्षण गर्न सकियोस् भन्नका लागि नै हो।
 

दायरा बढाउँदा शंका लागेका बिरामीमात्र होइन, इच्छुक अन्यले पनि परीक्षण गराउन पाउँछन्। खासमा बन्दाबन्दीको स्थिति पनि आक्रामक ढंगले परीक्षण गर्न सकियोस् भन्नका लागि नै हो। शंका लागेका जति व्यक्तिलाई छुट्याएर राख्ने, अन्यले पनि संक्रमण हुन नदिन सचेतता अपनाउने हो।

कोरोनाको संक्रमण हुन नदिन उपचारको दायरा बढाउनुपर्ने अर्को कारण कतिपयमा यसका लक्षण नै नदेखिने भएर पनि हो। डा. पुनका अनुसार फ्रान्सबाट आएकी १९ वर्षीया युवती घरमै बसेकी थिइन्। उनको अवस्था सामान्य थियो। उनकी साथीलाई संक्रमण भएपछि आफैं सचेत भएर परीक्षणका निम्ति अस्पताल पुगेकी थिइन्। ‘कुनै लक्षण नदेखिएको व्यक्तिमा समेत यसको संक्रमण हुन सक्छ,’ डा. पुनले भने, ‘त्यसैले एकएक व्यक्तिमा यसको परीक्षण गर्नुपर्छ। कसैलाई अहिले संक्रमण नभएको पनि हुन सक्छ तर कोही छुट्न पनि सक्छन्।’

चिकित्सकहरूको अनुभवमा समयमै परीक्षण गर्ने हो भने यो रोग समुदायमा फैलिन पाउँदैन। कोरोनाको संक्रमण हाम्रो मुलुकमा कति छ भन्ने तथ्य दुईतीन सातामा देखिन सक्ने विश्वास डा. पुनको छ। त्यसको लागि नमुना संकलन र परीक्षण अत्यावश्यक छ।

जहाज आउन रोकिएको हिसाब गरेर पनि यो संक्रमणले के रुप लिन्छ भन्ने अनुमान गर्न सकिन्छ। बन्दाबन्दी सुरु भएपछि जहाजमार्फत विदेशबाट कोही पनि यहाँ आउन पाएका छैनन्। तर अहिले भारततिरबाट आउने व्यक्तिहरूमा कस्तो लक्षण देखिन्छ भन्ने पक्ष पनि उत्तिकै विचारणीय छ।

खासगरी बन्दाबन्दी भइसकेपछि आएकाहरू ‘क्वारेन्टाइन’ मा बस्न नचाहने, भागेर घर जानेजस्ता घटना भइरहेका छन्। यस्तो स्थितिमा स्थानीय र प्रदेश सरकारले सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको डा. पुन औल्याउँछन्। ‘आफू सुरक्षित भएर मात्र पुग्दैन, समुदायलाई पनि जोगाउनुपर्छ’, डा. पुनले भने, ‘त्यसका लागि हामीले सबैलाई परीक्षण गर्नलाई सम्झाउनुपर्छ।’

‘हामीले यसरी नेपाल आएकाहरूको १४ दिन नकट्दै परीक्षण गर्न पाए हुन्थ्यो’, डा. पुनले थपे, ‘विदेशबाट जोसुकै आएका भए पनि तिनको परीक्षण गर्दा राम्रो हुन्छ।’ सबैलाई संक्रमण छ भन्ने होइन तर शंकाको स्थिति कतै पनि नहोस् भन्ने राय उनको छ। किनभने लक्षण नदेखिएको अवस्थामा पनि कोरोना भाइरस सर्न सक्छ।

‘फ्रान्सबाट आएकी युवतीमा कुनै लक्षण देखिएको थिएन,’ डा. पुनले दोहो¥याए, ‘साथीलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी अस्पताल आएकी थिइन्। उनलाई पोजेटिभ देखिएपछि हामीले ‘धन्यवाद’ भन्यौं, जो आफैं सचेत भएर जँचाउन आएकी थिइन्। न उनलाई कडा खोकी थियो न ज्वरो नै आएको थियो। उनी एकदमै सामान्य थिइन्।’ अहिले उपचार गराइरहेका दुवैजनाको अवस्था राम्रो रहेको डा. पुनले बताए। फेरि परीक्षण गरेपछि कोरोना ‘नेगेटिभ’ हुनासाथ उनीहरूलाई अस्पतालले डिस्चार्ज गर्ने जानकारीसमेत उनले दिए।

अहिले कोही विदेशबाट आएको छ भने कोरोना भएको भनी छिमेकी वा समुदायका मानिसले समेत तारन्तार परीक्षणमा जान दबाब दिने गरेका छन्। त्यो दबाब सहन नसकेर पनि कतिपय अस्पताल पुग्ने गरेका छन्। ‘अहिले एक किसिमले सामाजिक भेदभावको स्थितिसमेत देखिन थालेको छ,’ डा. पुनले भने, ‘यसका लागि सबैले सम्झाउने र सचेत बनाउने काम पनि गर्नुपर्छ। कोही विदेशबाट आउनासाथ तहल्का मच्चाउने, मानसिक तनाव दिनेजस्ता घटना पनि देखिन थालेका छन्।’

यस्तो अवस्थामा सहजीकरणका लागि नागरिक समाजका अभियन्ताले भूमिका निर्वाह गर्न सक्छन्। डा. सुन्दरमणि दीक्षित आफ्नो क्लिनिकमा बिरामी आउन छाडेपछि फुर्सदको समयमा सचेतनाका कार्यक्रम आयोजना गर्दै हिँडेका छन्। उनले हुल बाँधेर तरकारी किनिरहेका वा पानी थापिरहेकाहरूलाई समेत ६ फिटको सामाजिक दूरी कायम गर्न भन्दै आएका छन्।

डा. पुनका अनुसार अहिले हामी जुन चरणमा छौं, त्यो अत्यन्तै मेहनत गर्ने बेला हो। आम नागरिक बन्दाबन्दीमा घरैमा बसेका छन्। कोही बिरामी भइहाले पनि पहिचान गरी उपचार गर्न सजिलो हुन्छ। ‘यो चरणमा हामीले जति मेहनत गर्छौं, त्यति नै यसबाट हामी मुक्त हुन्छौं,’ उनले भने।

बन्दाबन्दीको अवस्थामा कोरोना संक्रमणमाथि विजय पाउन सहज भए पनि पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप आदिका बिरामीले भने ध्यान दिनुपर्ने डा. पुनको सल्लाह छ। कोरोनाका कारण तिनले हिँड्डुल गर्न पाउँदैनन् र खानामा समेत भनेजस्तो हुँदैन। यस्तो बेलामा दिनचर्या व्यवस्थित बनाउने, खानामा आफूलाई उपयुक्त हुने मात्रा मिलाउने आदि पक्षमा ध्यान दिन डा. पुनले सुझाव दिए। ‘सर्ने रोगको चिन्ता गर्दागर्दै नसर्ने आफ्ना पुराना रोग बल्झिन सक्छन्,’ डा. पुनले सचेत गराए, ‘त्यतातिर पनि ध्यान दिनुपर्छ।’

 

प्रकाशित: १५ चैत्र २०७६ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App