१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

स्वास्थ्यकर्मीले माइकिङ गर्छन् , वडाध्यक्षले मोटरसाइकल चलाउछन्

जनचेतना जगाउदै वडा अध्यक्ष र स्वास्थ्यकर्मी ।

रोल्पा- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसबारे गाउँ-गाउँमा बिभिन्न प्रकारले सचेतनामुलक अभियान चलिरहेका छन्। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजिबिले आफ्नो मौलिकतामा जानकारी फैलाउने गरेका हुन्। यसैबीच रोल्पाको लुङग्री गाउँपालिका-१ पाङका गाउँगाउँमा सचेतना फैलाउन वडाध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज आफै खटिएका छन्।

मोटरसाइकल पछाडी पिठ्यूमा साउण्ड बक्स बोकेर माइकिङ गर्दै गाउँ-गाउँमा कोरोनाबाट जोगिन गाउँलेलाई जानकारी दिने काम भईरहेको छ। पाङ स्वास्थ्य चौकीका इन्चार्ज दामोदर पुलामी र लुंग्री गाउँपालिका–१ का वडा अध्यक्ष मति पुन तीन दिनयता गाउँ टोलमा साउण्ड बक्स बोकेर जानकारी दिन हिडेका हुन्। वडा अध्यक्ष पुनले मोटरसाइकल चलाउने र स्वाथ्य इन्चार्ज पुलामीले पछाडि बसेर माइकिङ गर्दै हिड्ने गर्दछन्।

‘बिहान ७ देखि १० बजेसम्म गाउँमा हिड्छौ अनि बेलुका ४ बजेपछि फेरी माइकिङ गर्दै हिड्ने गरेका छौ। घरमै बस्न, साबुन पानीले नियमित हात धुन जानकारी दिन्छौ।’ स्वास्थ्य चौकी इन्चार्ज पुलामीले भने ‘वडा अध्यक्ष आफै हिडेपछि हाम्रो अभियान प्रभावकारी बनेको छ। बैदेशिक रोजगारीबाट आएकालाई घरमा गएर भेट्ने र होम क्वारेन्टाइनमा बस्न निर्देशन दिने गरिएको छ भने टोल-टोलमा हातधुने व्यवस्था समेत गरेका छौ।’

पुलामीका अनुसार केही दिनअघि भारतको दिल्लीबाट पाङ फर्किएका चार जनालाई ‘होम क्वारेन्टाइन’मा राखिएको छ। ‘अहिले फेरी वडा अध्यक्षज्युसंगै इन्डीयाबाट आएका दुई जनालाई भेट्न जादैछौ।’ पुलामीले भने ‘अध्यक्षज्युले मोटरसाइकल चलाउनु हुन्छ म पछाडी बसेर माइकिङ गर्छु।’

 

प्रकाशित: १३ चैत्र २०७६ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App