१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

घरमै पुगेर मास्क र साबुन वितरण गर्दै युवा

रसुवा- रसुवाको नौकुण्ड गाउँपालिकामा घरघरमै गएर युवाहरूले मास्क र साबुन वितरण गरेका छन्। गाउँपालिकाको साझा चौतारी युवा क्लबका युवाहरूले घरघरमै पुगेर मास्क र साबुन वितरण गरेको हुन्।

क्लबका सचिव प्रदीप न्यौपानेका अनुसार विभिन्न गरिब तथा कमजोर परिवारलाई २ सय वटा साबुन र सय वटा मास्क निःशुल्क वितरण गरिएको हो। साथै उनीहरूलाई हात धुने तरिका समेत सिकाइएको छ। न्यौपानेसहित सङ्खर न्यौपाने, पुरुषोत्तम न्यौपाने र पवन न्यौपानेले घरघरमा पुगेर हात धुने तरिका सिकाउनुका साथै मास्क र साबुन वितरण गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि मास्क लगाउने तथा साबुनपानीले हात धुनु पर्ने भएकोले गाउँमा पुगेर सामग्री वितरण गरिएको उनले बताए। यो गाउँपालिकामा पाँच स्थानमा हेल्प डेक्स सञ्चालन भइरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाका अनुसार गाउँमा जनचेतना फलाउने काम भइरहेको छ।

नागरिक सेल्फ क्वारेन्टाइनमा
यसैगरी मंगलबारदेखि लकडाउन भएपछि जिल्लामा सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार दैनिक चार घण्टा खुल्ने गरेको छ। स्थानीय घर बाहिर निस्किएका छैनन्। सबै जना सेल्फ क्वारन्टाइनमा बसेका छन्। प्रहरीले माइकिङ अभियानलाई जारी राखेको छ।

जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधि ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पुर्‍याउनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। गएको २४ घण्टामा जिल्लामा अन्य घटना नभएको उनले जानकारी दिए।

१ सय १५ शैयाको क्वारेन्टाइन स्थापना
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लामा १ सय १५ शैयाको क्वारेन्टाइन स्थापना भएको छ। जिल्लाको कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पसमा ५०, धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शैया र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको हो।
गाउँमा हिँडडुल गर्न रोक

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले अत्यावश्यक काम बाहेक एउटा वडाबाट अर्को वडामा र एउटा बस्तीबाट अर्को बस्तीमा जान रोक लगाएको छ। वडाध्यक्ष दावागोम्बो तामाङले बुधबार सूचना जारी गरी हिँडडुल गर्न, मेला महोत्सव गर्न तथा जनभेला गर्न रोक लगाइएको बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७६ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App