१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

विदेशबाट फर्किएका युवा खोज्दै नगरपालिका

धितुङमा विदेशबाट फर्किएका युवाको परिवारको ज्वरो चेक गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विदेशबाट फर्किएका युवाको घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि नगरपालिकाले भर्खरै मात्र विदेशबाट घर आएका युवाको खोजी गर्दै घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न सुरु गरेको हो।

हप्ता दिनभित्र साउदी, कतार, माल्दिभ्स लगायतका देशबाट फर्किएका युवाको पहिचान गर्ने र घरैमा गएर परिवारका सबै सदस्यको स्वास्थ्य जाँच गरेर सेल्फ क्वारेन्टाइनमा राख्न सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बतइन्। हालसम्म हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ जना र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २ जनालाई घरैमा पुगेर स्वास्थ्य जाँच गरेर सेल्फ क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ। घरैमा पुगेर स्वास्थ्य जाँच गर्दा एक जना बाहेक अन्यको अवस्था सामान्य पाइएको उपमेयर राईले बताइन्। धितुङका एक जनामा भने रुघा खोकी र ज्वरो देखिए पनि क्रमशः सुधार भएको जनाइएको छ।

विदेशबाट फर्किएका युवाको स्वास्थ्य जाँच एबं सेल्फ क्वारेन्टाइनमा राख्ने सहजीकरणका लागि उपमेयर राई समेत धितुङ पुगेकी थिइन्। ११ वडा रहेका नगरपालिकाका सबै वडामा हालै बिदेशबाट फर्किएका युवाको खोजी गर्न वडाध्यक्षलाई भनिएको छ। ‘सबै वडालाई विदेशबाट फर्किएका युवा पहिचान गर्न लगाएका छौँ,’ उपमेयर राईले भनिन्, ‘हालसम्म ६ जनालाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौँ। उहाँहरु नियमित हाम्रो सम्पर्कमा हुनुहुन्छ।’

विभिन्न देशबाट घर फर्किएका युवामार्फत कोरोना भाइरस भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै त्यस्ता युवालाई खोजी गरेर क्वारेन्टाइनमा राख्न सुरु गरिएको नगरपालिकाले जनाएको छ। संक्रमणको आशंका गरिएका व्यक्तिलाई राख्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले जाम्बाला रिसोर्ट हलेसीमा ११ शैयाको क्वारेन्टाइन बनाएको छ। यसबाहेक ११ वटै वडाका स्वास्थ्य चौकीमा पनि २ देखि ५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App