१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोटाङका विभिन्न २० स्थानमा हेल्थ डेस्क

खोटाङ– कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि खोटाङका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। कोरोनाको संक्रमण फैलिन नदिनका लागि स्थानीय तहले विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरेको हो। कतिपय स्थानीय तहले आवश्यकताका आधारमा अहिले पनि हेल्पडेस्क स्थापनाको तयारी गरिरहेका छन्।

१० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको रत्नपार्क (किरातचोक) र मनमायाँ राई खानीडाँडा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ। बसपार्कका रुपमा रहेको रत्नपार्कमा बिहान, दिउँसो र बेलुका ५/५ घण्टाको सिफ्ट बनाएर बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म दुई/दुई जना स्वास्थ्यकर्मी बस्ने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ आचार्यले बताए।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसी, काठमाडौं तथा पश्चिमी जिल्लाको प्रवेशद्धारका रुपमा रहेको जयराम र पूर्वी क्षेत्रको नाका राजापानीको रेग्मीटारमा हेल्थ डेस्क स्थापना गरेको छ। जिल्लाकै प्रमुख प्रवेशद्धारका रुपमा रहेको जयराममा आइतबार २ हजार ३५० जनाको ज्वरो मापन गरिएको मेयर इवन राईले बताए।

जन्तेढुंगा गाउँपालिकाले बंशिलाघाट, भञ्ज्याङखर्क र चिसापानीमा हेल्थ डेस्क स्थापना गरेको छ। जन्तेढुंगाले चैत २ गते नै बंशिलाघाटमा हेल्थ डेस्क स्थापना गरेको हो। रावाबेँसी गाउँपालिकाको कुभिन्डेको तीनकुने र लामीडाँडा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको जनाएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाउँपालिका भित्रिने नाकाका रुपमा रहेको बतासेको रमाईलो, रेग्मीटार, याम्खाको रातामाटा पुछार र टेम्माको बोर्मीमा हेल्थ डेस्क स्थापना गरिएको छ।

खोटेहाङ गाउँपालिकाले उदयपुरसँगको सिमानामा पर्ने रसुवाघाट, थामखर्क विमानस्थल र पामाखामभञ्ज्याङमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोनाबाट बच्ने सचेतनाका लागि हरेक स्वास्थ्य चौकी, वडा कार्यालय र सार्वजनिकस्थलमा फ्लेक्सबोर्ड राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि भट्टराईले बताए। बराहपोखरी गाउँपालिकाको बंशिलाघाट र धाप्लाङघाटमा हेल्थ डेस्क स्थापना गरिएको छ। कम्पुघाटमा पनि स्थापना गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा हेल्थ डेस्क स्थापना गरेको छ। केपीलासगढी गाउँपालिकामा विभिन्न सार्वजनिक स्थलमा कोरोनाबाट बच्ने सचेतनामुलक सन्देश उल्लेख गरिएको फ्लेक्स राखेको छ। यस बाहेक हेल्थ डेस्क पनि स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए। साकेला गाउँपालिकाले प्रत्येक वडामा कोरोनाबाट बच्ने उपायका बारेमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

प्रकाशित: १३ चैत्र २०७६ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App