७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

खोटाङकाे दिप्रुङमा ४० र चिसापानीमा २० शैयाको क्वारेन्टाइन

हलेसी तुवाचुङ नगरपालिकाले जाम्बाला रिसोर्टमा बनाएको क्वारेन्टाइन । तस्बिर : नागरिक

खोटाङ– कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि खोटाङका अधिकांश स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरिरहेका छन्। संक्रमणको आशंका गरिएका व्यक्तिलाई राख्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा क्वारेन्टाइन स्थल निर्माण गरेको छ। हलेसीमा सञ्चालित जाम्बाला रिसोर्टले उपलब्ध गराएको हलमा नगरपालिकाले बुधबार ११ शैयाको क्वारेन्टाइन निर्माण गरेको हो।

कोरोनाको आशंका गरिएका वा विदेशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म अलग्गै राख्ने व्यवस्थाका लागि क्वारेन्टाइन बनाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। नगरपालिकाले इलाका प्रहरी कार्यालय हलेसीको सहयोगमा क्वारेन्टाइन तयार पारेको हो। दुई हप्तासम्म क्वारेन्टाइनमा राख्दा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएमा स्थानीयलाई घर फर्काइने नगरपालिकाले जनाएको छ। जाम्बाला रिसोर्टले आवश्यक परेमा ५५ शैयासम्मको क्वारेन्टाइन स्थल उपलब्ध गराउने जनाएको छ।

११ वडा रहेको नगरपालिकाका हरेक वडाका स्वास्थ्य चौकीमा पनि दुईदेखि पाँच बेडको क्वारेन्टाइन तयार पारिएको छ। महादेवस्थान स्वास्थ्य चौकीमा पाँच बेडको, राजापानीमा पाँच, दुर्छिममा चार, मंगलटारमा चार र धितुङमा तीन बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। यस्तै, बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, अर्खौले र सल्लेमा दुई/दुई बेडको क्वारेन्टाइन निर्माण गरिएको मेयर राईले बताए। स्वास्थ्य चौकीमा क्वारेन्टाइन निर्माण गरिएसँगै आकस्मिक तथा प्रसुती बाहेकका सेवा बन्द गरिएको छ।

यस्तै, कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ। गाउँपालिकाले याम्खा स्वास्थ्य चौकीमा १७ कोठे भवनमा क्वारेन्टाइन निर्माण गरेको हो। विदेशबाट फर्किएका गाउँपालिकाका स्थानीयलाई राख्नेगरी बुधबार क्वारेन्टाइन निर्माणको काम सकिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

क्वारेन्टाइनमा राख्नका लागि विदेशबाट फर्किएका युवाको नमुना संकलन गरिएको छ। हालसम्म तीन जना युवा विदेशबाट फर्किएर आएको पाइएको अध्यक्ष राईले बताए। ‘कोरोनाको संक्रमण फैलिन थालेपछि तीन जना युवा घर फर्केको जानकारी आएको छ,’ अध्यक्ष राईले भने, ‘कहिले आएको, कुन देशबाट आएको, क्वारेन्टाइनमा बसेर वा नबसी आएको लगायतका बुझेर उहाँहरुलाई क्वारेन्टाइनमा राखिने छ।’

खोटेहाङ गाउँपालिकाका दुई वडामा पाँच÷पाँच बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा मंगलबार क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए। बाँकी ७ वडाका स्वास्थ्य चौकीमा पनि पाँच÷पाँच बेडको क्वारेन्टाइन निर्माणको काम भइरहेको छ। ‘बेड बनाउने सामान र औषधि ट्याक्टरमा हालेर वडा–वडा पठाएका छौँ,’ अध्यक्ष राईले भने, ‘बिहीबारसम्ममा सबै वडामा क्वारेन्टाइन बन्छ।’

यसैगरि जन्तेढुंगा गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ। कोरोनाको संक्रमण भएको आशंका गरिएका स्थानीयलाई दुई हप्तासम्म राख्नका लागि गाउँपालिकाको केन्द्र चिसापानीस्थित चिसापानी माबिमा बुधबार क्वारेन्टाइन निर्माण गरिएको हो। यस्तै, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी वडा कार्यालयले पनि स्थानीय बोर्डिङ स्कुलको भवनमा ५ शैयाको क्वारेन्टाइन बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए। ६ वडा रहेको गाउँपालिकाका हरेक स्वास्थ्य चौकीमा ५/५ शैयाको क्वारेन्टाइन बनाइने जनाइएको छ।

यस्तै, साकेला गाउँपालिका–४ मात्तिमस्थित बालबालिका माबिमा १० बेडको र साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माबिमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

 

प्रकाशित: १३ चैत्र २०७६ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App