८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पन्चकन्यामा ‘गर्भवतीको साथी उपाध्यक्ष’

नुवाकोट - नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ‘गर्भवतीको साथी उपाध्यक्ष’ कार्यक्रम सुरु भएको छ। ‘स्वास्थ्य संस्थामा प्रसूति, मातृत्वको प्रत्याभूति’ भन्ने नारासहित उक्त कार्यक्रम सुरु गरिएको हो। पालिकाभित्रका गर्भवतीका लागि स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा वृद्धि गरी मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित उक्त कार्यक्रम सुरु गरिएको हो।

सरकारको प्रोटोकलअनुसार चार, छ, आठ र नौ महिनामा गर्भवतीले स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउनैपर्ने हुन्छ। कतिपयले सरकारको प्रोटोकलअनुसार गर्भजाँच गराएको नपाइएकाले त्यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पराजुलीले बताइन्।

त्यस कार्यक्रमअन्तर्गत रहेर गर्भजाँच गराउन स्वास्थ्य संस्था जानेलाई एक क्रेट अण्डा उपलब्ध गराउन थालिएको उपाध्यक्ष पराजुलीले बताइन्। ‘विशेषगरी कुखुराको अण्डालाई भिटामिनको पोको भन्ने गरिन्छ। गाउँगाउँका गर्भवती महिला पोषणयुक्त खानाको पहँुचबाट टाढा छन्। गर्भवतीले नियमित गर्भजाँच गराउनुपर्ने भए पनि आउँदैनन्। नियमित गर्भवती जाँच गराऊन् भनेर प्रोत्सहानस्वरूप अण्डा दिन थालेका हौं,’ पराजुलीले भनिन््, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै गर्भवतीको साथी उपाध्यक्ष कार्यक्रम समावेश गरेका छौं। तर सुरुआत भएको केही दिन मात्र भयो। स्वास्थ्य संस्थाको रेकर्डअनुसार साउनदेखि नै गर्भ जाँच गराउँदै आएकालाई पनि अण्डा उपलब्ध गराउँछौं।’

यसैगरी पञ्चकन्या गाउँपालिकाले ‘बच्चा जोखौं, नुन बोकौं’ कार्यक्रम पनि सुरु गरेको छ। बच्चा जन्मिएपछि दुई वर्ष नहुन्जेल पोषण अवस्था बुझ्न हरेक महिना बच्चाको तौल लिनुपर्ने हुन्छ। बच्चाको तौल लिन स्वास्थ्य संस्था जाँदा राम्रो वृद्धि विकास भए÷नभएको, बच्चाले आवश्यकताअनुसार खानपान र स्याहार पाए÷पाएनन् भन्ने जानकारीसहित स्वास्थ्यकर्मीबाट उचित सल्लाह लिन सकिन्छ।

बच्चामा कुपोषण वा अन्य कुनै समस्या देखापरे तत्काल समाधानको बाटो पहिलाउन सकिन्छ। बच्चाको मासिक रूपमा वृद्धि अनुगमन गर्न स्वास्थ्य संस्थामा गए स्वास्थ्य सस्थाले एक प्याकेट आयोडिन नुन प्रदान गर्ने गाउँपालिकाकी उपाध्यक्ष खड्काले बताइन्। उनको अनुसार यी दुवै कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला पक्षसँग अन्तक्र्रिया भइसकेको छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App