७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

काभ्रेमा स्वास्थ्य बिमा लागू भएको घोषणासहित जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीलाई बिमित परिचयपत्र प्रदान गर्दै कार्यकारी निर्देशक रमेशकुमार पोखरेल। फाइल तस्बिर।

बनेपा – काभ्रेपलाञ्चोकमा गत भदौ अन्तिम साताबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भयो। जिल्ला समन्वय समितिका प्रमुखसहित काभ्रेका १३ वटै तहका प्रमुखले आ–आफ्नो तहअनुसार पहिलो आवद्धताको प्रमाणस्वरुप बिमा परिचयपत्र बुझे।

त्यसलगत्तै जिल्लाका सबै १४४ वडामा खटिएका दर्ता सहयोगीले वडाअध्यक्षसहितका जनप्रतिनिधिलाई बिमा कार्यक्रममा आवद्धता गराएलगत्तै काभ्रेमा कार्यक्रमले गति लिन थालेको पाइन्छ।

‘वडाअध्यक्षज्यूले नै बिमा कार्यक्रमलाई महत्व दिएर वडा कार्यालयमै औपचारिक सुरुवात गरिदिनु हुँदा सबैले महत्व बुझ्न थाल्नुभएको छ। बिमा गर्न आइदिनुस् भन्दै बस्तीस्तरबाट दैनिक आउने ‘फोन कल’ले हामीलाई काम गर्न पनि सहज हुँदै गएको छ,’ पनौती–२, कुशादेवीकी दर्ता सहयोगी अजिता अधिकारीले प्रतिक्रिया दिइन्।

स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालय धुलिखेलले काभ्रेका नागरिकलाई भदौ अन्तिम साताबाट मात्रै बिमामा आवद्ध गर्न थालेको भए पनि एक महिनामै उल्लेख्य सहभागिता भएको जनाएको छ। ‘हामीले असोजभर १ हजार ७ सय ७ घरधुरीलाई बीमामा आवद्ध गरायौं। यसबाट ७ हजार ७ सय २९ जना नागरिक स्वास्थ्य बीमाको ‘कभरेज’मा आइसक्नुभएको छ। यी सर्तले मंसिर १ गतेबाट प्रथम सेवा विन्दु र आवश्यकताअनुसार रेफरल अस्पतालबाट सेवा पाउन थालिसक्नुभएको छ,’ काभ्रे कार्यालयकी दर्ता अधिकारी मुना निरौलाले भनिन्।

प्रथम चरणमा काभ्रेका ५ सय २४ जना ज्येष्ठ नागरिक, ३ सय ५३ जना पूर्ण अपांग, एचआइभी संक्रमित ११ जना र कुष्ठरोगी ४ जनासमेत बिमामा आवद्ध भएका उनले जानकारी दिइन्। उनले भनिन्, ‘उहाँहरूले बीमाबापत तिर्नुपर्ने रकमको शतप्रतिशत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहले शतप्रतिशत व्यहोर्ने व्यवस्थाअनुसार बोर्डको प्रदेश कार्यालयमा जानकारी पठाइसकेका छौं’, निरौलाले थपिन्, ‘आगामी फागुन १ गतेबाट सेवा पाउने गरी सहयोगीले धमाधम बिमा शुल्क र फाराम पठाइरहेका छन्। हामी त्यसैलाई इन्ट्री गर्नैमा व्यस्त छौं,’ उनले भनिन्।

बोर्डले काभ्रेका प्रथम सेवा विन्दुका रूपमा पनौती, सुन्थान, धुलिखेल र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र एवं मेथिनकोट अस्पताललाई तोकेको छ। यस्तै रेफरल अस्पतालका रूपमा धुलिखेल, वीर अस्पताल गृह थापाथली, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल र नेपाल–कोरिया मैत्री अस्पताललाई तोकेको छ।

‘बिरामीले प्रथम सेवा विन्दुमा पुगेर सेवा लिन र त्यहाँबाट रेफर हुने प्रणाली अलि अपायक भएकाले अधिकृत तहको स्वास्थ्यकर्मी कार्यरत स्वास्थ्य चौकीलाई तोकेको खन्डमा कार्यक्रमप्रति आकर्षण बढ्ने थियो। कतै यही झन्झटिलो प्रक्रियाकै कारण नागरिक स्वास्थ्य बिमाप्रति अनिच्छुक होलान् कि भन्ने आशंका पनि बढ्दो छ,’ बिमा कार्यक्रमलाई सघाउँदै आएका पनौती–२ का वडाअध्यक्ष पुरुषोत्तम अधिकारीले सुझाए।्र

प्रदेश ३ का सबै जिल्लामा स्वास्थ्य बिमा छैन
आर्थिक वर्ष ०७५/७६ मा ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयारीमा जुटेको स्वास्थ्य बिमा बोर्डले प्रदेश ३ कै आधाभन्दा बढी जिल्लामा कार्यक्रम पु-याउन सकेको छैन। हालसम्म भक्तपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रामेछाप, चितवन र मकवानपुरमा मात्रै कार्यक्रम लागू भइरहेको छ। काठमाडौं, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा अझै कार्यक्रम लागू भएको छैन।

‘कार्यक्रम लागू भइरहेका प्रदेश नं ३ का ६ जिल्लामा हालसम्म ५ लाख २३ हजार १ सय ९७ घरधुरी आवद्ध भई १ लाख ३५ हजार ५ सय ९७ जना बिमित भएका छन्,’ बोर्डका आइटी इन्जिनियर सुरेशसिंह तिंकरीले जानकारी दिए। उनका अनुसार आवद्ध घरधुरीबाट बिमा शुल्क बापत २ अर्ब ९० करोड ६२ लाख ८९ हजार रूपैयाँ संकलन भएको छ भने दाबी भुक्तानीबापत ३ अर्ब ७८ करोड ८० लाख ४८ हजार रूपैयाँ सेवाप्रदायक अस्पताललाई भुक्तानी दिइएको छ।

उनले भने, ‘हालसम्म प्रदेश ३ का ३७ हजार ५ सय ८८ अति विपन्न व्यक्तिको बिमा शुल्क शतप्रतिशत सरकारले व्यहोरेको छ। यस्तै, सरकारले ३० हजार २ सय ६४ जना ज्येष्ठ नागरिक, एचआइभी संक्रमित परिवार १ सय ६५ जना, अति अशक्त अपांग १ हजार ८४ जनालाई शतप्रतिशत बिमा शुल्क व्यहोरेको छ भने १ हजार १ सय ७८ घरमूली महिला स्वास्थ्य स्वयंसेविकाको बिमा शुल्कको आधा रकम पनि सरकारले व्यहोरेको छ,’ तिंकरीले थपे।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा बिमा कार्यक्रम लागू हुनमा किन ढिलाइ भइरहेको भन्ने नागरिककर्मीको जिज्ञासामा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने, ‘नुवाकोट र धादिङमा चाडै नै स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रम गर्दैछौं। यतिखेर कार्यक्रम लागू भइरहेका जिल्लामा कार्यक्रमलाई दिगो बनाउँदै जानु पर्ने चुनौती भएकाले प्रदेश ३ का सबै जिल्लामा एकै पटक लागू गर्न नसकिएको हो,’ उनले थपे, ‘आगामी दुई महिनाभित्र प्रदेश ३ का सबै जिल्लामा बिमा लागू गर्ने गृहकार्यमा लागिरहेका छौं। चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै प्रदेशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुगिसक्नेछ,’ पोखरेलले दाबी गरे।

प्रकाशित: २४ मंसिर २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App