८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘उपाध्यक्षसँग मातृ–शिशु कार्यक्रम’

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकामा ‘उपाध्यक्षसँग मातृ शिशु कार्यक्रम’ सुरु भएको छ। गर्भवती महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गराउन र संस्थागत सुत्केरी गराउन प्रोत्साहन गराउने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको हो।

गाउँपालिकाभित्र कुनै महिला गर्भवती भए उसको घरमा झन्डा राखिने र गर्भवती जाँच गराउन स्वास्थ्य संस्था गएमा अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ। गर्भवती महिलाले बच्चा गर्भमा आएको चार, छ, आठ र नौ महिनामा जाँच गराउनुपर्ने हुन्छ। तर कतिपय गर्भवती महिलाहरू नियमित गर्भ जाँच गराउन र सुत्केरी गराउन स्वास्थ्य संस्था नजाने गरेकाले त्यसैलाई ध्यानमा राखी गाउँपालिकाले सो कार्यक्रम कात्तिक महिनादेखि सुरु गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु केसीले जानकारी दिइन्।

गाउँपालिकाभित्र कुनै महिला गर्भवती भए उसको घरमा झन्डा राखिने र गर्भवती जाँच गराउन स्वास्थ्य संस्था आए अन्डा, रिचार्ज कार्ड र अयोडिन नुन सम्बन्धित स्वास्थ्य संस्थाले उपलब्ध गराउनेछ।

‘ग्रामीण भेगमा पोषणको कमीले गर्दा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा समस्या आइरहेको पाइन्छ। त्यस्तो समस्यालाई समाधान गर्ने पहलस्वरूप उपाध्यक्षसँग मातृशिशु कार्यक्रम गाउँपालिकाले सुरु गरेको हो,’ उपाध्यक्ष केसीले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको घरमै सुत्केरी हुने परम्परालाई शून्यमा झार्नु हो।’

गर्भवती महिलाले प्रत्येक पटकको गर्भ जाँचमा एक क्रेट अन्डा, सय रुपैयाँको रिचार्ज कार्डका साथै दुई बालबालिका चिह्न भएको आयोडिन नुन प्राप्त गर्नेछन्। शिवपुरी गाउँपालिका–८ मा रहेको थानापति स्वास्थ्य चौकीमा यो कार्यक्रम शुक्रबारदेखि सुरु भएको स्वास्थ्य चौकीप्रमुख सिनियर अहेब उद्धव कार्कीले बताए।

गाउँपालिकामा ८ वटा स्वास्थ्य चौकी रहेका छन्। सबै स्वास्थ्य चौकीबाट गर्भवती महिलाहरूले यो सुविधा लिन सक्ने बताइएको छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App