६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

सबै प्रदेशमा स्क्रव टाइफसको संक्रमण

काठमाडौं – डेंगी संक्रमणसँगै फैलिरहेको स्क्रव टाइफस सात वटै प्रदेशमा फैलिएको पाइएको छ। राष्ट्रिय इपिडिमियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्राप्त तथ्यांक अनुसार यो रोगको संक्रमण प्रदेश तीनमा सबैभन्दा बढी देखापरेको छ।

सोमबारसम्म महाशाखामा प्राप्त तथ्यांक अनुसार प्रदेश ५ मा २ सय ३७, प्रदेश तीनमा २ सय ४ र सुदूरपश्चिममा १ सय ५५ जना यो रोगबाट संक्रमित भइसकेका छन्। प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित पाल्पा, रुपन्देही र गुल्मीमा देखिएका छन्। देशभरमा गरी हालसम्म ६ सय ९५ जनामा संक्रमण भइसकेको छ।

स्थानीय तहका स्वास्थ्य केन्द्रमा पुगेका यस्ता बिरामीको तथ्यांक संकलन हुन नसकेको र सबैको परीक्षण नभएको हुनाले बिरामीको संख्या थपिन सक्ने महाशाखाको अनुमान छ। प्रदेश ३ मा २ सय ४ जना संक्रमित भएका छन्। यो प्रदेशमा सबैभन्दा बढी संक्रमित धादिङमा ७४, चितवनमा ३९ र काठमाडौंमा २६ जना छन्। त्यसैगरी कर्णाली प्रदेशमा सबैभन्दा बढी डडेल्धुरामा ६१, कैलालीमा ४४ र वैतडीमा २४ जना संक्रमित भएको तथ्यांक छ।

विभिन्न जिल्लामा फैलिरहेको स्क्रवटाइफसका बिरामीको तथ्यांक बढ्दो रहेको भन्दै महाशाखाले सबैलाई सचेत हुन आग्रह गरेको छ। यो रोगको संक्रमण खेतबारी तथा मुसा घुम्ने ठाउँमा हुने भएकाले सबैलाई सचेत हुन महाशाखा किट रोग नियन्यण शाखा प्रमुख डा. प्रकाश शाहले नागरिकलाई बताए। ‘ढिला उपचार भएमा जटिलता हुने र मृत्यु समेत हुनसक्छ। त्यसैले बेलैमा सचेत हुनुपर्छ,’ डा. शाहले भने।

कतिपय अवस्थामा रोगको पहिचान नहुने हुँदा बिरामीले जटिलता झेल्नुपर्ने अवस्था आउने हुनाले समयमै उपचार गर्नुपर्ने डा. शाह बताउँछन्। ढिला गरेमा भने संक्रमण शरीरका अन्य भागमा फैलिएर मुटु, मिर्गौला, कलेजोजस्ता अंगमा संक्रमण हुने र उपचारसमेत खर्चिलो बन्न जाने भएकाले समयमै उपचार गर्न डा. शाहको सुझाव छ। यो रोगमा अन्य संक्रमणमा जस्तै डक्सिसाइक्लिन जस्ता कम मूल्यकै औषधिले निको हुने भएकाले समयमै उपचार गर्नुपर्ने उनको सुझाव छ। ढिला गरेको खण्डमा विभिन्न अंगहरुमा असर पुगी आइसियु तहको उपचार गर्नुपर्ने भएकाले लाखौं खर्च हुनसक्छ।

चिकित्सकका अनुसार यो रोग मुसा तथा झाडीमा मुसाले छोड्ने माइट किर्ना (ओरन्सिया सुसुगामी) नामक जीवाणु शरीरभित्र प्रवेश गरेमा यो रोगको संक्रमण हुन्छ। मुसाले छोडेको झाडी तथा ठाउँमा यो किर्ना हुने भएकाले किसानहरु र कच्ची घरमा बस्ने मानिसहरु बढी जोखिममा हुन्छन् र यो समूह सचेत हुनुपर्छ। यो रोगको संक्रमणबाट बच्नका लागि किसानहरु खेतबारीमा जाँदा बुट या पन्जाको प्रयोग गर्ने र पुरा बाहुला भएको लुगा लगाउने र जथाभावी झाडी या भुइँमा नसुतेमा किर्ना छालामा टाँसिन पाउँदैन। किर्ना नटाँसिए कीटाणुको संक्रमण हुन पाउँदैन।

प्रकाशित: ७ आश्विन २०७६ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App