१९ श्रावण २०७७ सोमबार
स्वास्थ्य

नेपालमै स्तरीय क्यान्सर अस्पताल नहुँदा वर्षेनी अर्बाै रूपैयाँ पुग्छ भारत

नयाँ दिल्ली– गोरखाका खेमराज देवकाटाले आफ्नी ५२ वर्षीया श्रीमती सविता न्यौपाने देवकोटाको उपचारमा कम्तीमा दुई करोड रुपैया खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर लागेको छ। कृषि विकास बैंकका पूर्व प्रथम श्रेणीका अधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित क्यान्सर अस्पतालमा विगत १० वर्षदेखि उपचार गराइरहेका छन्।

‘नेपालमा स्तरीय उपचारको व्यवस्था छैन। त्यहाँ रहेको भए अहिलेसम्म मरिसक्थें। तर, यहाँ आएर उपचार गराउँदा अब बाँच्ने आशा पलाएको छ’, पौडेल जीवनप्रतिको आशा व्यक्त गर्दछन्।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ गाउँपालिका ४ का ४४ वर्षीय चुडामणि पौडेलको मुखमा क्यान्सर भएको छ। क्यान्सरपीडित पौडेलकी श्रीमती लक्ष्मी पौडेल दुई महिनादेखि अस्पतालमा कुरुवा बसेकी छिन्। नेपालको भरतपुर क्यान्सर अस्पताल, काठमाडौँको नर्भिक अस्पताल लगायतको ठाउँमा परीक्षण गराउँदा क्यान्सरको सेल देखा परेपछि उनी नयाँ दिल्ली आएका हुन्। नेपालको अस्पतालमा स्तरीय सेवा पाउन नसकेपछि भारतको नयाँ दिल्लीको रोहिणी सेक्टर ५ मा रहेको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा दुई महिना पहिले भर्ना हुन आएका हुन्। पौडेलको मुखको सर्जरी गरिएको छ। अहिलेसम्म १५ लाख रुपैया खर्च भइसकेको लक्ष्मीले बताइन्। ‘नेपालमा स्तरीय उपचारको व्यवस्था छैन। त्यहाँ रहेको भए अहिलेसम्म मरिसक्थें। तर, यहाँ आएर उपचार गराउँदा अब बाँच्ने आशा पलाएको छ’, पौडेल जीवनप्रतिको आशा व्यक्त गर्दछन्।

धादिङ जिल्लाको थाक्रे गाउँपालिका ९ पन्डित पौवाका शंकरप्रसाद पंडितले पनि दिल्लीस्थित अस्पतालमा घाटीको क्यान्सरको उपचार गराइरहेका छन्। नेपालको सबैभन्दा ठूलो अस्पताल वीर अस्पताल र काठमाडौँ उपत्यकाकै हरिसिद्धमा रहेको अर्को अस्पतालमा उपचार गराउँदा गराउँदै पनि शरीरभरि क्यान्सर फैलिएर चौथो स्टेजमा पुगेपछि उपचारका लागि उनी दिल्ली आएका हुन्। ६ महिनादेखि उपचाररत पंडितको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। क्यान्सरको सेल मार्न अहिलेसम्म छवटा केमो गरिसकिएको छ। पंडितले दिल्लीमा अहिलेसम्म २० लाख रुपैयाभन्दा बढी खर्च गरिसकेका छन्।

रुपन्देहीको बुटबलका हरिहर उदय बारा जिल्लामा रहेको सूर्य टोबाको चुरोट कारखाना लिमिटेडका कर्मचारी हुन्। उदयको पेटमा क्यान्सर लागेको छ। उदयले नेपालको विभिन्न अस्पतालमा उपचारको लागि प्रयास गरे तर कतै सम्भव नभएपछि दिल्ली आइपुगेका छन्। नेपालका अस्पतालमा निराशा मात्र पाएका उदयले दिल्लीमा भने बाँच्ने आशा पाएका छन्। स्तरीय क्यान्सर अस्पतालको अभावमा उपचारको लागि दिल्ली पुगेका उदयले अहिलेसम्म १८ लाख रुपैया खर्च गरिसकेका छन्।

उदयले नेपालको विभिन्न अस्पतालमा उपचारको लागि प्रयास गरे तर कतै सम्भव नभएपछि दिल्ली आइपुगेका छन्। नेपालका अस्पतालमा निराशा मात्र पाएका उदयले दिल्लीमा भने बाँच्ने आशा पाएका छन्। 

नयाँ दिल्लीको रोहिणी सेक्टर ५ मै राजीव गान्धी अस्पतालको पछाडि दैलेखका नरेन्द्र शाहीले एनबि दूर ट्राभल्स संचालन गरेर उपचारको लागि दिल्ली पुगेका नेपालीलाई सहयोग पु-याइरहेका छन्। उपचारका लागि दिल्ली पुगेका बिरामीलाई भारतीय पैसाको अभाव हुँदा शाहीले नेपाली पैसा साटेर भारतीय रुपैया उपलब्ध गराइदिने गर्दछन्। बिरामी र कुरुवालाई दिल्लीको कुनै ठाउँमा जानु परे पु-याउने व्यवस्था गरिदिन्छन्। घरसम्म पुग्नको लागि नेपालसित सिमाना जोडिएको सहरसम्म हवाइजहाज, रेल अथवा बसको टिकटको व्यवस्थासमेत गरेर शाहीले नेपालीलाई ठूलो गुन लगाइरहेका छन्। शाहीले गर्दा विरामी र कुरुवालाई परदेशमा पनि आफन्त पाएको अनुभूति हुन्छ। शाही भन्छन्, ‘राजीव गान्धी अस्पतालका करिब ४० प्रतिशत विरामी नेपालबाटै आउँछन्। द्वन्द्वकालमै नयाँ दिल्ली आएर ट्राभल्स एन्ड टूर व्यवसाय संचालन गरेका शाही आफैँ विस्मित हुँदै भन्छन्, ‘दैनिक १० करोड भारु अर्थात् नेपाली १६ करोड रुपैया हरेक दिन नेपालीले यस अस्पताललाई बुझाउँछन्।’

हरेक महिना नयाँ दिल्लीको एम्स, मेदान्ता, अपोलो, सैर गंगाला, बिएलके तथा राजीव गान्धी लगायतका अस्पतालहरुमा हजारौँ बिरामी उपचारको लागि आउने गरेका छन्। दिल्लीमा गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने गरेको छ तर दिल्लीको तुलनामा नेपालको मौसम, हावापानी तथा वातावरण सबै निकै अनुकूल छ। रोहिणी सेक्टर ५ को विश्वकर्मा पार्कमा हरेक साँझ बिरामीका आफन्तहरु र सम्भव भएसम्म विरामीहरु पनि भेला भएर आफ्ना दुःख र आत्मीयता साटासाट गर्दै नेपालमा स्तरीय क्यान्सर अस्पतालको आवश्यकताबारे गहन छलफल गर्छन्। गोरखाका खेमराज देवकोटा भन्छन्, ‘नेपालको कुनै पनि कुनामा स्तरीय क्यान्सर अस्पताल भएको भए दिल्लीको प्रचण्ड गर्मी र असन्तुलित वातावरणबाट बिरामीहरु मुक्ति पाउँथे र विरामीहरुले पनि तुलनात्मक रुपले छिटो स्वास्थ्यलाभ गर्न पाउँथे।’

दिल्लीको राजीव गान्धी अस्पतालले नेपालीसँग निकै राम्रो व्यवहार गर्ने गरेको छ। अस्पतालको सेवा र सुविधाबाट विरामी र आफन्तहरु सबै सन्तुष्ट छन्। तर बिरामी र आफन्तले भने नेपालमै स्तरीय क्यान्सर अस्पतालको चाहना व्यक्त गर्दछन्। हरेक वर्ष अर्बौ रुपैया क्यान्सर उपचारको लागि नयाँ दिल्ली पुगिरहेको छ। नेपालमै स्तरीय र विश्वसनीय उपचारको व्यवस्था रहेको भए देशको अर्बाै रुपैयाँ वर्षेनी जोगिने थियो कि? विरामी र कुरुवाहरु एकापसमा प्रश्न गर्छन् तर उत्तर दिने कसले?

प्रकाशित: २१ जेष्ठ २०७६ १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App