१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

दृष्टिक्षमता कम हुनेमा महिला बढी

काठमाडौं - विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारण गर्ने लक्ष्यले ‘भिजन २०२०’ तय गरेको दुई दशक बिते पनि नेपालमा दृष्टिदोषका समस्याहरु निवारण हुन सकेका छैनन्। अझ त्यसमाथि पुरुषको तुलनामा महिलाको दृष्टिदोष अधिक भएको देखिएको छ।

विश्व आँखा दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा ६० प्रतिशत महिलामा दृष्टि क्षमता कमजोर रहेको तथा दृष्टिविहीनहरु अहिले पनि आँखा उपचारको पहुँच बाहिरै हुनुपरेको प्रतिष्ठानले जनाएको छ।

चिकित्सकका अनुसार आँखाले टाढा वा नजिकको बस्तु देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु, दृष्टिदोषका समस्या हुन्।

आर्थिक विपन्नता, परिवारमा महिला स्वास्थ्य प्राथमिकतामा नपर्नु, यातायातको असुविधा, उपचार खर्चको अभाव, निर्णय प्रक्रियामा सहभागिताको कमी हुनुले महिलाहरु सजिलै उपचारमा पुग्न नसकी दृष्टि देखिएको हो।

यसबाहेक महिलालाई उपचारमा जानको लागि परिवारको पुरुष सदस्यको सहयोग लिुनपर्ने बाध्यताले पनि महिलाको सबै महिला उपचारमा पुग्न सकेका छैनन्।

यीसँगै महिलाको सम्पत्तिमा अधिकार नहुनुले पनि तुलनात्मक रुपमा महिलाहरु दृष्टि क्षमता कम भएरै जीवन गुजारहेको प्रतिष्ठानले जनाएको छ । ‘अहिले पनि धेरै महिलाहरु एक्लै टाढा गएर उपचार गर्न जान सक्दैनन् । धेरै महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर छैनन्,’ तिलगंगा आँखा अस्पतालकी प्रबन्ध निर्देशक डा. रिता गुरुङले भनिन् । प्रतिष्ठानले यो तथ्यांकलाई ध्यान राखेर महिलामा हुने आँखा समस्यालाई प्राथमिकता दिएर उपचार गर्न अपिल गरेको छ। ‘महिलामा हुने आँखा समस्यालाई प्राथमिकतामा राखेर उपचार गरौं, अन्धोपना हुनबाट बचौं,’ प्रतिष्ठानको सन्देशमा उल्लेख छ।

नेपालमा १ लाख २० हजार मानिसक दृष्टिबिहीन छन् भने १० लाख ५० हजार मानिसमा दृष्टिदोषको समस्या छ । ११ लाख ५० हजार मानिस दृष्टिदोषबाट प्रभावित छन् । दृष्टिदोष भएका मध्ये ८९ प्रतिशत विकान्सोमुख देशका छन्।

दृष्टिदोषको मुख्य कारण न्यून दृष्टि, मोतीविन्दु, जलबिन्दु र आँखाको पर्दा बढ्नु रहेका छन् । पछिल्लो दश वर्षमा ट्रकोमा (आँखा पाक्ने रोग) को कारणले हुने न्यून दृष्टि समस्या घट्दै गएको छ । नेपालमा प्रतिवर्ष कुल जनसंख्याको ३० प्रतिशत मानिसलाई आँखा जाँच गर्नुपर्ने समस्या छ । सन् २०१४ मा गरिएको एक सर्वेक्षणका अनुसार ०.०६ प्रतिशत बालबालिकामा अन्धोपन छ।

नेपालमा दृष्टिदोषका अन्य कारणमा मधुमेह, थाइराइड, जलबिन्दु, मोतीबिन्दु र आँखाको चोटपटक रहेका छन् । तथ्यांकअनुसार मोतीबिन्दुसँग सम्बन्धित दृष्टि समस्या ६५ प्रतिशत, आँखाको पर्दाको रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना ६.९ प्रतिशत, जलबिन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत छन्।

यी कुनै पनि आँखाको रोगबाट बच्नको लागि मधुमेह तथा उच्च रक्तचापबाट बच्ने, चालीस वर्ष पुगेका सबैले आँखा जाँच गर्ने, आँखा स्वास्थ्यमा सबैको प्राथमिकतामा पर्न स्थानीय स्रोत साधनको परिचालन गर्ने, अति विपन्नताका लागि आँखा स्वास्थ्य निःशुल्क गर्ने गरेमा दृष्टिक्षमता तथा दृष्टिविहीन समस्याबाट बचाउन सकिने प्रतिष्ठानले सुझाएको छ।

कोही पनि दृष्टिविहीन हुन नपरोस् र दृष्टिदोष भएर बाँच्न नपरोस् भन्ने उद्देश्यले यो वर्ष विश्व दृष्टि दिवस ‘आँखा सेवा सबैको लागि’ भन्ने नाराका साथ मनाइयो । दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । सो अवसरमा १४ वर्षमुनि र ६० वर्ष माथिकालाई जनचेतना जगाउने उद्देश्यका साथ सूचना सामग्री वितरण गरिएको छ।

सोही अवसरमा रामेछाप, ओखलढुंगा, सिन्धुली, दोलखा, चामे, मुस्ताङका कुल १ सय ४४ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App