coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मानसिक रोगले आत्महत्या बढ्दै

काठमाडौं -  नेपालमा एन्जाइटी (डर) र डिप्रेशन (चिन्ता) को रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा बढिरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। सोमबार राजधानीमा आयोजित ‘बदलिँदो विश्वमा युवा र मानसिक स्वास्थ्य’ विषयक अन्तरक्रियामा बद्लिँदो सामाजिक–आर्थिक परिवेश, सूचना प्रविधिको विकास, बेरोजगारी, प्रतिस्पर्धालगायतका कारणले युवाहरुमा विभिन्न मानसिक रोग बढ्दै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका हुन्।

‘सामाजिक सञ्जाल र इन्टरनेटले युवामा मानसिक रोगको जोखिम निम्त्याएको पाइन्छ,’ मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछानेले भने। उनका अनुसार नेपाली युवाहरु बर्सेनी वैदेशिक रोजगारीमा जाने क्रममा परिवारबाट एक्लिने कारण पनि मानसिक स्वास्थ्य समस्यामा परिरहेको छन्। यसका साथै गरिबी, अशिक्षा, बेरोजगारी, असमानता तथा अभावले पनि युवामा मानसिक रोग निम्त्याएको छ।

अन्तरक्रिया कार्यक्रममा युएमएनकी मानसिक स्वास्थ्य प्रबन्धक प्रशन्ना सुब्बाले नेपालमा मानसिक रोगप्रतिको गलत बुझाइले सबै मानसिक बिरामीले उपचारमा पाउन सकेको छैनन्। तथ्यांकअनुसार पाँच मानसिक रोगी मध्ये एक जना मात्र उपचारमा पुग्छन्। सुब्बाका अनुसार जातिगत र लैंगिक रुपमा दलित र महिला डिपे्रशन र एन्जाइटीबाट प्रभावित छन्।

‘मानसिक रोग लागेको व्यक्तिको गुणस्तरीय जीवन हुँदैन। परिवारमा हेरचाह गर्नेलाई पनि मानसिक असर पर्छ। मानसिक रोगी बढे देशलाई नै असर पर्छ,’ प्रबन्धक सुब्बाले भनिन्। मानसिक रोगलाई हेर्ने गलत दृष्टिकोणका कारण बिरामीले समयमै उपचार नपाई अकालमा ज्यान जाने, आफ्नो नियमित काम जारी राख्न नसक्ने अवस्था भएको उनले बताइन्।

केही समय अघि जुम्ला, दाङ र चितवनमा गरिएको एक अनुसन्धानले अधिकतर युवामा डिप्रेशन र एन्जाइटी भएको देखाएको थियो भने केही बालबालिकामा पनि यी समस्या भएको पाइएको थियो।

डिपे्रशनका कारण नेपालमा आत्महत्याको दर बढेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/०७४ मा ४ हजार ५ सयले आत्महत्या गरेका थिए भने ०७४/०७५ मा त्यो संख्या बढेर ५ हजार ३ सय १७ पुगेको थियो।

मानसिक रोग हुने युवाको औसत उमेर १२ देखि २४ छ। १५ देखि २९ वर्षका युवाको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या देखिएको छ । विकसित देशमा पनि ७० प्रतिशत युवा तथा बालबालिकाले समयमै मानसिक रोगको सही उपचार पाएका छैनन् । मानसिक रोगलाई घृणा र लाजको विषय मानिँदा र बिरामी आफैं स्वास्थ्य संस्थामा पुग्न नसक्ने अवस्थाले गर्दा उनीहरु सही उपचारबाट वञ्चित हुन पुगेका हुन्।

नेपालमा मानसिक स्वास्थ्य विशेषज्ञको जनशक्तिको कमी छ । देशभर एक सय मानसिक रोग विशेषज्ञ छन्।

हालका दिनमा नेपालले स्वास्थ्य नीतिमा मानसिक रोग न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । साथै, राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण केन्द्रमा मानसिक रोग विभाग स्थापना गरेको छ। नेपालको संविधानमा पनि मानसिक रोगको दफा उल्लेख भएको छ भने सबै स्थानीय स्वास्थ्य संस्थाबाटै आधारभूत मानसिक स्वास्थ्य तालिम दिन थालेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App