coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा पनि हृदयाघातको जोखिम

काठमाडौं - विश्वकै ठूलो समस्याका रूपमा रहेको मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ। बर्सेनि यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको गंगालाल हृदय केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा मात्र १ लाख ५३ हजार ४  सय ६२ जनाले बहिरंग विभागबाट उपचार लिएका थिए । केन्द्रमा प्रत्येक दिन ५ सयदेखि ६ सय जनासम्म उपचारका लागि आउँछन्।

मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट गत वर्ष ६० हजार जनाले सेवा लिएका थिए भने यस वर्ष ६८ हजार बिरामीले सेवा लिएका छन् । यो  संख्या हेर्दा एक वर्षमै आठ हजार बिरामी बढेको देखिन्छ । तथ्यांकअनुसार एक दशकमा १० प्रतिशतले यस्ता बिरामी बढेका छन् भने राजधानीमा यो रोग दोब्बर वृद्धि भएको छ। 

तथ्यांकअनुसार  विश्वमा १ करोड ७० लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगले हुन्छ । सन् २०३० सम्ममा यो संख्या २ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ । हृदयघातले हुने मृत्युमध्ये ८० प्रतिशत राम्रो जीवनशैली अपनाएर रोक्न सम्भव छ।

मनमोहन कार्डियाक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका बाथमुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईका अनुसार देशभर बाथमुटुरोगीको संख्या बढी छ भने उपत्यकामा रक्तनलीका रोग बढी देखिएको छ । ‘मुटुका रक्तनलीको रोग उपत्यका बाहिरका मुख्य सहरमा पनि बढेको देखिन्छ,’ गंगालाल हृदय रोग केन्द्रका निर्देशक शर्माले भने । जुन रोगले हृदयाघातको जोखिम हुन्छ ।  पछिल्लो समय हृदयाघातका बिरामी हवात्तै बढेको अस्पतालले जनाएको छ । तर, यसको छुट्टै तथ्यांक भने अस्पतालहरूसँग छैन। 

चिकित्सकका अनुसार आधुनिक जीवनशैली, चिल्लो, चुरोट, रक्सी खानेजस्ता कारण नेपालमा मुटुरोगी बढ्दै गएका ह्न् । ‘हामी एक पाइला हिंडेर पुग्ने ठाउँमा पनि गाडी चढ्छौं,’ गंगालाल हुदय रोग केन्द्रका निर्देशक डा. शर्मा भन्छन् । घरको खानाको सट्टा बजारमा पाइने फास्टफुड खाने चलन बढेको छ,’ उनले भने, ‘घरमै पनि त्यस्तै प्रकारका खाना खाने चलन बढेको छ।’

आधुनिक जीवनशैलीका कारण बढ्दै गएका उच्चरक्तचाप, मुधमेह रोग तथा रक्सी, चुरोट पिउनु हृदयाघातका कारण हुन् । मुटुले  शरीरभरि रक्तसञ्चार गर्छ । रक्तसञ्चार गर्न मुटृुलाई पनि रगत चाहिन्छ । मुटुलाई रगत पठाउने दायाँ र बायाँ नली हुन्छन् । यी मुख्य नलीबाट मुटुमा रगत पुग्छ । यी दुई ठूला नली बन्द भए भने हृदयाघात हुन्छ ।

डा.शर्माका अनुसार उच्चरक्तचापले रगतको नलीलाई दबाब दिन्छ र निरन्तर दबाबले रगतका नली परिवर्तन भई कडा बन्छन् र हृदयाघात हुन पुृग्छ । कोलेस्ट्रोलले रगतका नलीमा ठाउँ–ठाउँमा बोसो जम्मा गरी अवरोध गर्छ।

यो अवरोध जति ठूलो नलीमा भयो उति नै हृदयाघातको जोखिम हुन्छ । मधुमेहले रगतको नलीमा अवरोध गर्छ । त्यसैगरी रक्सी र चुरोटले पनि रगतको नलीमा परिवर्तन ल्याई साँघुरो बनाउँछन् । रगतको नली साँघुरो हुने र अवरोध हुने क्रममै मुटु नजिकको ठूलो नली बन्द हुन्छ र हृदयाघात हुन्छ । नेपालमा पछिल्लो समय आधुनिक जीवनशैलीकै कारण यी रोग बढेको  चिकित्सक बताउँछन्। 

छातीको मध्यभागमा गह्रौं वस्तुले थिचेको जस्तो हुने, मुटुको धड्कन बढ्ने, चिट्चिट् पसिना आउने, कहिलेकाहीं बेहोस हुने, उकालो चढ्दा स्वाँस्वाँ हुने हिंड्न छोडेपछि  रोकिने लगायतका लक्षण हृदयाघातका हुन्।

आधुनिक  जीवनशैली अपनाउने मानिस यी रोगको जोखिममा भएका हुनाले सबै व्यक्तिले नियमित मुटुको जाँच गरेर समयमै जोखिम पत्ता लगाउन सकेमा यसबाट हुने मृत्युबाट बच्न सकिने चिकित्सकको सुझाव छ । तर नेपालमा अहिले पनि नियमित स्वस्थ्य जाँच गर्ने तथा कुनै समस्या नभइकन मुटु जाँच गर्ने बानी विकास भइसकेको छैन । सन्तुलित भोजन, नियमित व्यायाम, रक्सी–चु्रोट नखाने, नियमित स्वास्थ्य परीक्षण गर्ने, तनाव नलिने र दैनिक कम्तीमा आधा घण्टा छिटो–छिटो हिंड्नाले हृदयाघातको जोखिमबाट बच्न सकिने चिकिसत्सक बताउँछन्। 

हृदयाघातका लक्षणहरू
–छातीको मध्यभागमा गह्रौं वस्तुले थिचेको जस्तो हुने
– मुटुको गति बढेर जाने 
– चिट्चिट् पसिना आउने
– कहिलेकाहीं बेहोस हुने
 – छातीको मध्यभाग दुख्ने
– उकालो चढ्दा स्वाँस्वाँ हुने 
– हिंड्न छाडेपछि  रोकिने

उपचारको अवस्था
राजधानीमा रहेको गंगालाल हृदय रोग केन्द्र र मनमोहन काडिर्ययो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र केही निजी अस्पतालमा मात्र जटिल मुटुरोगको उपचार हुन्छ । ती सबै अस्पताल काठमाडौंभित्र सीमित छन् । राजधानी बाहिर मुख्य सहरका मेडिकल कलेज तथा अस्पतालहरूमा सीमित तहका मुटुसम्बन्धी रोगको उपचार हुन्छ । यो अवस्था हेर्दा सबैले मुटु रोगको उपचार नपाएको गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् । उनी भन्छन्, ‘मुटुरोग उपचार पहृुँचका लागि कम्तीमा सबै प्रदेशमा गंगालाल जस्तै एक÷एकवटा उपचार केन्द्र हुनु्पर्छ’। 

सबै क्षेत्रमा मुटुरोगको उपचार नहुँदा बिरामीका लागि उपचार खर्चिलो बनेको छ नै साथै मुटुसम्बन्धी सानातिना समस्याका लागि पनि गंगालाल नै आउनुपर्ने बाध्यता छ । उनी भन्छन्, ‘सामान्य जाँचका लागि पनि यहीं आउँदा बिरामीको चाप बढेर जटिल बिरामीले समयमै उपचार पाउन सकेका छैनन् ।’ यसको विकल्प स्थानीय तहमै उपलब्ध इसिजी गर्ने र रिपोर्टमा खराबी आए मात्र गंगालाल आउँदा दुवै पक्षलाई लाभ मिल्ने डा.शर्माको सुझाव छ । 

हृदयाघात हुनबाट कसरी बच्ने? 
– नियमित कम्तीमा आधा घण्टा छिटो–छिटो हिंड्ने 
– नियमित सन्तुलित भोजन गर्ने 
– खानामा बढी चिल्लो तथा रातो मासुको प्रयोग नगर्ने 
– मधुमेह/कोलेस्ट्रोल नियन्त्रणमा राख्ने 
– उच्च रक्तचाप छ भने नियन्त्रणमा राख्ने 
–दैनिक व्यायाम गर्ने 
– नियमति स्वास्थ्य जाँच गर्ने 

प्रकाशित: १३ आश्विन २०७५ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App