७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अस्पतालमा स्क्रब टाइफस संक्रमणका बिरामी भर्ना

तीन दिनअघि धादिङ बेनीघाटकी १७ वर्षीया सीता हटुवाल  महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुन आइन् । दुई हप्ता दिनदेखि उनी बिरामी पर्न थालेकी थिइन्।

पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण सुरुमा देखिए । यो समस्या गत साता चरम बन्दै गयो । कडा ज्वरो आउने, खाना नरुच्ने भएपछि उनलाई धादिङ गजुरीकै एक अस्पतालमा भर्ना गरियो । त्यहाँ उनको तीन दिनसम्म उपचार भयो । त्यसपछि पनि निको हुन नसकेपछि असार ३१ गते उनलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको हो ।
एकै पटक धेरैवटा समस्या देखिएपछि उनलाई अस्पतालको मेडिकल आइसियुमा भर्ना गरिएको अस्पतालले जनाएको छ । चिकित्सकले सीताको शरीरमा दाग देखेपछि उनको रगत परीक्षण गरियो । परीक्षणबाट स्क्रब टाइफस भएको पत्ता लाग्यो ।

उनलाई पेट दुखेपछि सुरुमा ग्याष्ट्रिकको आशंकामा ग्याष्ट्रोलोजी विभागले उपचार गरेको थियो । स्क्रब टाइफसको कारण उनको फोक्सो, कलेजो लगायतमा संक्रमण भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यसै कारण मेडिकल आइसियुमा भर्ना गरिएको डा. पे्रम खड्गाले बताए । तीन दिनसम्म आइसियुको उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । ‘गजुरीमा जण्डिस भएको भनेको थियो । यहाँ मिर्गौलामा पनि असर गरेको डाक्टरले भनेका छन् ।’ सीताका बुवा लिलानाथ हटुवालले बिहिवार नागरिकसँग भने । हटुवालले टोलमा अरुलाई पनि यस्तै समस्या भएपछि उपचारका लागि अस्पताल धाइरहेको बताए ।
तीन दिनअघि मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका सिन्धुपाल्चोकका एक बिरामी उपचार गरी डिस्चार्ज भएका छन् ।

अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार कतिपय बिरामी बहिरंग विभागबाटै उपचार गरेर फर्केका छन् । उनीहरू सबै यो अस्पताल नपुगे पनि अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा छरिएर उपचार भएको हुनसक्ने उनले बताए । मनसुनमै सक्रिय हुने यो रोगको जोखिम राजधानीसहित राजधानी नजिकका अन्य जिल्ला पनि रहेको डा. पुनले बताए । ‘असारको अन्तिम सातादेखि यी बिरामी देखिन सुरु भएको छ । साउन महिनाभरि पनि यसको जोखिम कायमै छ ।’ उनले भने ।

खेतबारीको झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीविको माध्यमबाट मानिसमा सर्ने रोगलाई स्क्रब टाइफस भनिन्छ । झाडीहरूमा रहने यो परजीविभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी ’ नामक जिवाणु मानिसको शरीरभित्र प्रवेश गरेमा व्यक्तिमा यो रोगको संक्रमण हुन्छ ।  

चिकित्सकका अनुसार यो रोगको संक्रमण भएपछि कतिपयको शररिमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणुले छोएको पाँचदेखि ६ दिनमा व्यक्तिलाई कडा ज्वरो आउने, पसिना आउने, कामज्वरो आउने, शरीर दुख्ने, कतिपयलाई शरीरमा रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिन्छन् । यसको संक्रमण भएका व्यक्तिले समयमै उपचार नगरेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गहरूमा समेत संक्रमण गराई बिरामीको मृत्युसमेत हुने चिकित्सक बताउँछन् । ‘यसको खतरा भनेकै छिट्टै अन्य अङ्गमा पनि संक्रमण गराउँछ ।’ डा. पुनले भने।

चिकित्सकका अनुसार बितेका वर्षहरूमा देशका विभिन्न जिल्लामा यसको संक्रमण फैलिएको थियो । यो वर्ष अन्य जिल्लामा पनि यसको जोखिम छ । यो रोेग लागेपछि शरीरका कलेजो, मुटु, मिर्गौला, फोक्सोजस्ता भागहरूमा गई संक्रमण गर्ने हुनाले स्क्रब टाइफस संक्रमणलाई गम्भीर रुपमा लिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

स्क्रब टाइफसको कारण विगतका वर्षहरूमा पनि दर्जनौं बिरामीको ज्यान गइसकेकाले कडा ज्वरो आउने र ग्रन्थी सुन्निने जस्ता लक्षण देखिएमा छिटो उपचारमा जान चिकित्सकले सुझाएका छन् । ‘समयमै उपचार नभएमा विभिन्न अङ्ग फेल भएर मृत्युसमेत हुने गरेको देखिन्छ,’डा.पुनले भने ।  जतिसक्दो चाँडो उपचारमा जानु नै यसबाट बच्ने उपाय भएको डा. पुनको सुझाव छ । योबाहेक लाग्नै नदिनको लागि झाडीमा खाली खुट्टा, हात लिएर बस्न नहुने र घर वरिपरिको वातावरण सफा राख्न उनको सुझाव छ ।

लक्षणहरू
–कडा ज्वरो आउनु ,
–कामज्वरो आउनु
–शरीरमा रातो बिबिरा देखिन सक्ने
–पसिना आउनु
–ग्रन्थी सुन्निनु
–शरीर दुख्नु

बच्न के गर्ने ?
–झाडीमा सिधै सुत्ने या बस्ने नगर्ने
–बसिहाल्नु परेमा केही ओच्छयाएर मात्र बस्ने
–खेतबारीमा जाँदा पूरा बाहुला भएको लुगा लगाउने
–खुट्टामा लामो बुट लगाउने
–घर तथा वरिपरिको वातावरण सफा राख्ने

 

प्रकाशित: ५ श्रावण २०७५ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App