२८ असार २०७७ आइतबार
स्वास्थ्य

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

नसर्ने रोगहरूको चुनौती बढिरहेका बेला अल्जाइमर रोगीको संख्या पनि वृद्धि भइरहेको चिकित्सकहरूले बताएका छन् । पहिले वृद्धावस्थामा देखिने यो रोग पछिल्लो समय कम उमेरमै देखिन थालेको उनीहरू बताउँछन्।

वृद्ध अवस्था भएपछि छ या अन्य कारणले मस्तिष्कका कोषहरू  नष्ट भएपछि  मस्तिष्क निष्क्रिय हुने अवस्था हो, अल्जाइमर । यसको परिणाम भर्खरै भएका कुरा पनि बिर्सिने, रोग छिप्पिँदै गएपछि ठीक-बेठीक छुट्टयाउन नसक्ने, दिमागको चलाखीपन कम हुँदै जाने, असान्दर्भिक व्यवहार देखाउनेजस्ता समस्या देखा पर्छन् ।पहिले–पहिले ६५ वर्ष कटेपछि मात्र देखिने अल्जाइमर रोग अचेल ४०÷४५ वर्षमै देखिन थालेको चिकित्सकहरूको भनाइ छ । ‘पछिल्लो  समय चालिस वर्ष पुग्नेबित्तिकै यो रोग देखिने गरेको पाइएको छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाले भने।  

महराजगन्जस्तिथ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा पनि पछिल्लो समय कम उमेरकै मानिसमा यो रोग देखिन थालेको बताउँछन् । उनले भने, ‘बूढेसकालको रोग भनेर चिनिने अल्जाइमर अहिले कम उमेरमै लाग्ने धेरै देखिएका छन् ।’वीर अस्पतालस्थित न्युरोलोजी विभागको बहिरंग सेवामा एक दिनमा पुगेकामध्ये १० प्रतिशतमा अल्जाइमरको समस्या पाइने गरेको न्युरोलोजिस्ट डा. कोइराला बताउँछन् । उनका अनुसार विभागमा एक दिनमा औसत १ सय २० जनाको उपचार हुन्छ । विभागमा एक सातामा दुई दिन उपचार हुन्छ।  

त्रिवि शिक्षण अस्पतालमा अन्य विभागले रेफर गरेपछि अल्जाइमरका  बिरामी मानसिक रोग विभागमा पुग्छन्  । रेफर भएर पुगेका बिरामीहरू प्रायः कम उमेरकै हुने गरेको शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख डा. ओझा बताउँछन् । उनका अनुसार अल्जाइमर हुनेमा महिलाभन्दा पुरुष बढी छन् । धूमपान, मद्यपान बढी गर्ने भएकाले पुरुषमा कम उमेरमै अल्जाइमर समस्या ज्यादा देखिने गरेको उनले बताए।

वृद्ध अवस्था भएपछि छ या अन्य कारणले मस्तिष्कका कोषहरू नष्ट भएपछि  मस्तिष्क निष्क्रिय हुने अवस्था हो– अल्जाइमर ।

वीर अस्पतालका न्युरोलोजिस्ट डा. कोइरालाका अनुसार आठ वर्षयता अल्जाइमर रोगी बढेका हुन् । अस्वस्थ जीवनशैली र प्रदूषित वातावरणका कारण यो रोग कम उमेरमै लाग्ने गरेको उनी बताउँछन् । ‘तनावपूर्ण जीवन, मोटोपना, उच्चरक्त चाप, मधुमेह समस्याले यो रोग बढेको देखिन्छ ।’पछिल्लो समय उपचारमा जाने चलन बढेकाले पनि अल्जाइमर रोगीको संख्या बढी देखिएको हुन सक्ने डा.कोइरालाको अनुमान छ । डा.कोइराला भन्छन्, ‘पहिला बिरामी भए पनि उपचारमा आउने चलन थिएन, अहिले यो चलन बढेको छ।’

धुवाँ, धुलोयुक्त वातावरण तथा विषादीयुक्त  खाना, जंकफुड, चुरोट, रक्सी तथा बढी गुलियो खानेकुरा सेवनजस्ता कारणले अल्जाइमर रोगी बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।चिकित्सकका अनुसार पछिल्लो समय उच्चरक्तचाप र मधुमेहका कारण मस्तिष्कका स–साना रक्तनलीहरू विस्तारै बन्द हुँदै जान्छन् र पछि गएर नष्ट हुन्छन् । मस्तिष्कमा हुने रक्तसञ्चारका नलीलाई पोषण चाहिन्छ, त्यसको अभाव भएपछि ती नष्ट भएर जान्छन् । रगतका नलीहरू बन्द भएर अक्सिजन नपुगेपछि मस्तिष्कका कोषहरू सुक्न थाल्छन् । यसकै परिणाम अल्जाइमर हुन्छ र डिमेन्सियाका लक्षण देखिन्छन्।

तर अल्जाइमरको कारण सजिलै पत्ता लगाउन सकिँदैन । रगत हुँदै धुलो मस्तिष्कका नसामा जम्मा भएपछि नसा बन्द हुन थाल्छन् । रगतका नसाहरू बन्द हुँदै गएपछि मस्तिष्कका कोषहरूमा अक्सिजन र पोषण पुग्दैन र मस्तिष्कले राम्रोसँग काम गर्न छाड्छ । बाहिरका धुलो रगत हँुदै मुटुमा पुगेमा हृदयात पनि हुन सक्छ ।

यस्तै चुरोट खानेहरूका रक्त नसा साँघुरो भएर रक्त सञ्चारमा अवरोध आउँछ मस्तिष्कका कोषहरू बन्द हुन्छन् । जसका कारण मस्तिष्कले राम्रो काम गर्न सक्दैन । चिकित्सका अनुसार मस्तिष्क निष्क्रिय हुने अवस्था नै अल्जाइमर हो । आधुनिक उपचारका कारण मानिसको आयु लम्बिएर पनि यो रोग बढ्ने चिकित्सकको भनाइ छ । आयु बढी भएपछि मस्तिष्क पुरानो हुन्छ र पुरानो भएपछि स्वतः मस्तिष्कका कोषहरू नष्ट हुँदै जान्छन् र अल्जाइमर हुन्छ । टाउको या  मस्तिष्कमा गम्भीर चोट लागेमा पनि अल्जाइमर हुन्छ।

अल्जामर लागे पनि सुरुको अवस्थामा कुनै लक्षण देखिँदैन । विभिन्न चरण बढ्दै गएपछि यसका लक्षण पनि बढ्दै जान्छन् । अल्जाइमर भएपछि सुुरुमा अलि–अलि बिर्सिने, भर्खरै भएका काम तुरुन्तै बिर्सिने, खाएको समयसमेत बिर्सिनेजस्ता लक्षण देखिन्छन् । यो रोग पुरानो हुँदै गएपछि घर जाने बाटो बिर्सिने,  टाढाको नाता बिर्सिने, पछि गएर आफू कहाँ छु भन्ने बिर्सिने, आफू कोसँग बोल्दैछु भन्ने कुरासमेत बिर्सने हुन्छ ।यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त न्युरोलोजिस्ट चिकित्सककोमा गएर उपचार गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

उपचार सुविधा  

नेपालमा केन्द्रीय सरकारी अस्पतालहरू वीर अस्पताल, टिचिङ अस्पताल, केही ठूला निजी अस्पतालहरूमा अल्जामइरको उपचार सेवा उपलब्ध छन् । मस्तिष्कको परीक्षणका लागि सूक्ष्म तहको परीक्षण गर्ने उपकरणसमेत यी अस्पतालहरूमा उपलब्ध छन् । यसको उपचार सुरुमा न्युरोलोजिस्टले गर्छन् ।

केही उपचार मानसिक रोग विशेषज्ञले पनि गर्छन् । वृद्ध उमेरका कारण अल्जाइमर भएमा भने उपचार सम्भव हुँदैन । वातवरण, विषादी, उच्चरक्तचाप, मधुमेह भएकाहरूमा सुधार हुन सक्छ । पूरै निको नभए पनि त्यसको कारणको उपचार गरेर बढ्नबाट रोक्न सकिन्छ । मस्तिष्कमा भिटामिन र पानी कमीका कारणले अल्जाइमर भएको खण्डमा ती कुराहरूको पूर्तिपछि सामान्य अवस्थामा आउन सक्छन्।

यस्तै लामो समयदेखि चुरोट, रक्सी, लागू पदार्थ खाएका कारण अल्जाइमर भएकाहरूले यो बानीमा सुधार ल्याएपछि समस्यामा सुधार आउन सक्छ । तर मस्तिष्कमा परेको असर बढी भएको खण्डमा सुधार नआउन पनि सक्छ । गलत जीवनशैलीका कारण अल्जाइमर भएकाहरूले जीवनशैलीमा सुधार ल्याएर समस्या नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । ‘मधुमेह र उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रण गरेर उपचार गर्न सकिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा.कोइराला भन्छन् । सुरुकै अवस्थामा उपचार गरे निको हुने सम्भावना बढी हुने उनको भनाइ छ।

नेपालमा अल्जाइमरबारे अझै जनचेतना नभएका कारण बेलैमा उपचार गर्न जाने चलन नभएको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा बताउँछन् । रोग छिप्पिसकेपछि अस्पताल आउने चलनले उपचारमा समस्या हुने गरेको उनको भनाइ छ ।

अल्जाइमरका प्रमुख लक्षणहरू
 –भर्खरै गरेको काम बिर्सिने
–के बोल्न लागेको बिर्सिने
–रोग बढ्दै गएपछि खाएको कुरा बिर्सिने
–घरका सदस्यलाई समेत नचिन्ने
–ठीक–बेठीक छुट्टयाउन नसक्ने

 

 

 

प्रकाशित: ३० असार २०७५ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App