७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना छैनः डा. सेन्चुरी

विश्व तापमानमा आएको परिवर्तन तथा हाम्रो आफ्नै वातवरणीय कारणले बर्सेनि सरुवा रोगहरू बढ्दै गएका छन् । गर्मी मौसममा नयाँ–नयाँ रोग देखापर्नुका साथै महामारी नै फैलने डर हुन्छ ।गर्मी मौसममा के–कस्ता रोग लाग्छन् ? त्यसबाट बच्न के गर्नुपर्छ ? रोग नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ लगायतका विषयमा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. केदार सेन्चुरीसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानी।

गर्मी मौसममा कुन–कुन रोग देखापरेका छन् ?
नयाँ किसिमका सरुवा रोग बर्सेनि देखापरिरहेका छन् । अहिल्यै महामारी देखिएको छैन । उपत्यकाभित्र र उपत्यकाबाहिर झाडापखाला देखापरिरहेको छ । यस्तो बर्सेनि हुन्छ । बाढीपहिरो आएपछि यसको प्रकोप बढ्न सक्छ ।

केही समयअघि काठमाडौंमै हैजा पनि देखिएको थियो रे ?
दुई साता पहिले काठमाडौंमै बस्ने दुई जनामा झाडापखाला देखापरेको थियो । घरबाट आएपछि जाँच गर्दा झाडापखाला देखापरेको थियो । त्यसपछि हामीले शंकास्पद ठाउँका पानी परीक्षण गर्यौं । ती ठाउँका पानीमा ‘कोलिफर्म’ देखियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाका दुई बिरामी देखापरेका थिए । शंका लागेर परीक्षण गर्दा हैजा पहिचान भएको हो । तर प्रकोपको रूप लिएको छैन ।

देशभर कुन–कुन सरुवा रोगको अवस्था के छ ?
तराईमा हुने कालाजार पहाडमा पनि फैलिएको छ । झाडापखाला, मलेरिया, कालाजार, टाइफाइड, हेपाटाइटिस, सर्पदंश बढेको छ । झापा, मोरङ सुनसरी, बर्दिया, चितवन, नेपालगन्जतिर फाट्टफुट्ट रूपमा डेंगु देखापरेको छ ।  

त्यसबाहेक हेपाटाइटिस, टाइफाइड पनि देखापरेका छन् । कालाजार पहाडका नयाँ ठाउँमा पनि देखिएको छ । पूर्वदेखि पश्चिम तराईतिर सर्पको बिगबिगी बढेको छ । तराईका सर्पहरू बढी विषालु हुने भएकाले त्यहाँ सर्पको टोकाइबाट बर्सेनि मान्छेको मृत्यु हुन्छ । जिल्लाभर कुकुरले टोक्ने र रेबिज लाग्ने गरेको पनि देखिन्छ । रेबिज लागेपछि मान्छे बाँच्दैन । यसका लागि हामीले रेबिजविरुद्ध खोप जिल्लाभर उपलब्ध छन्।

कालाजार नयाँ ठाउँमा देखिनुको कारण ?
मौसम परिवर्तनले पनि हुन सक्छ । अर्को कारण, भारततिर गएकाहरू कालाजार संक्रमित भएर घर आएपछि देखा परेको पनि हुन सक्छ । पश्चिम पहाडका बासिन्दा भारतरित काम गर्न जान्छन् । पश्चिम पहाडका विभिन्न जिल्लामा यसको प्रभाव देखिन्छ ।

देश संघीय व्यवस्थामा गएपछि स्वास्थ्य संरचनामा पनि परिवर्तन आएको छ ? अब प्रकोप नियन्त्रण कार्यक्रम कसरी सञ्चालन हुन्छ ?
चालू आर्थिक वर्ष असार सम्मका लागि यहीं (केन्द्र)बाटै सञ्चालित छ । तर आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहलाई छुट्टै बजेट दिइन्छ । केन्द्रमा पनि केही बजेट छन् । जस्तै, भ्याक्सिन, झुल, केही औषधि केन्द्रबाटै किनेर पठाइन्छ । हामीबाट बढी अनुगमन, तालिम र संयोजनकारी भूमिका निर्वाह हुन्छ।

यस वर्ष पनि महामारी नियन्त्रणका लागि स्थानीय तहहरूसँग संयोजन गरेर काम गर्छौं । त्यसअनुसार निर्देशन पनि दिएका छौं र प्रत्येक क्षेत्रमा तालिम सञ्चालन भइसकेका छन् । प्रत्येक ठाउँमा जगेडा औषधि राख्ने भनेर क्षेत्रीय मेडिकल स्टोरमा राखिन्छन् । क्षेत्रमा नभए केन्द्रले पनि औषधि व्यवस्थापन गर्नेछ । त्यसैगरी स्वास्थ्य शिक्षा दिने काम पनि केन्द्रीय तहबाटै हुन्छ।

मुख्य कुरा फोहोर खानेकुरा, दूषित पानी, फोहोर वातवरणकै कारण यी रोग लाग्ने हुन् । तसर्थ ताजा खानेकुरा मात्र खाने, बासी, बाहिर खुला ठाउँमा राखिएका, झिंगा भन्केका खानेकुरा नखाने, हात धुने बानी बसाल्नु पर्छ ।

केही सरुवा रोग प्रत्येक वर्ष दोहोरिएको देखिन्छ, किन होला ?
तराईमा सीमित लामखुट्टे पहाडमा बढ्दै गएको छ । १५ वर्ष अघिसम्म पहाडमा लामखुट्टे थिएनन् । काठमाडौंमा बाह्रै महिना जाडो हुन्थ्यो ।

मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने क्रम जारी छ ।  विश्व तापमानमा आएको परिवर्तन, वातवरणीय सरसफाइजस्ता पक्षले पनि यसमा असर पारेको छ । ढल निकास, फोहोरमैला व्यवस्थापन, सहरीकरणले समेट्न सकेको छैन।

जसका कारण लामखुट्टे, फोहोरमा बस्ने जीवाणु फैलिएका छन् । कतिपय गाउँघरमा फोहर पानी पिउने गरेको पाइन्छ । मान्छेमा अहिले पनि स्वच्छ पानी पिउने र लामखुट्टेको टोकाइबाट कसरी बच्ने भन्ने जानकारी छैन । अहिले पनि जनचेतना अभाव छ ।  

ग्लोबल वार्मिङका कारण तराईबाट पहाडतिर र विदेशबाट नेपाल भित्रिएका रोगहरू के–के हुन् ?
मलेरिया, कालाजार र डेंगु नै हुन् । डेंगु तराई भेगमा हुने डेंगु पहाडतिर पुगेका छन् । तराईमै केन्द्रित डेंगु पहाडका केही ठाउँमा हुन सक्ने सम्भावना छ । तापक्रम बढेको कारण डेंगु उत्पन्न गर्ने लामखुट्टेहरू पहाडमा पनि बन्दै गएको छ । भित्री मधेश र पहाडमा डेंगु संक्रमण हुने सम्भावना छ ।

स्क्रब टाइफस् र चिकनगुनिया संक्रमणको अवस्था कस्तो छ ?
चिकनगुनिया त्यति देखिँदैन । स्क्रब टाइफस् माइटस् परजीविले टोकेर हुने हो । यो काठमाडांैमा पनि देखापरेको छ । यसको न्यूनीकरण चुनौतिपूर्ण बनेको छ ।

मुख्य कारण घर तथा घर वरिपरि सरसफाइ छैन । डेंगु मलेरिया, झाडापखाला, कालाजार, हेपाइटिस, टाइफाइड सबै सरसफाइसँग सम्बन्धित रोग हुन् । नेपालमा यी रोगहरू सफाइकै अभावमा फैलिएको देखिन्छ ।

विकसित देशहरूमा चाहिँ यस्ता रोग देखापर्छन् कि पर्दैनन् ?
फोहोरजन्य र लामखुट्टेजन्य रोगहरू विकसित देशमा बल्झिने सम्भावना कम छ । ती देशमा इन्फ्लुएन्जाजन्य रोगहरू देखिन्छन् । एकै दिनमा यातायातका कारण एक दिनमै एक मुलुकबाट अर्को मुलुकमा पुग्छन् । यात्रुसँगै इन्फ्लुएन्जाहरू पनि सँगै जान्छन् । मलेरिया छ भने त्यही व्यक्तिमा सीमित हुन्छ ।

किनकि उनीहरूकोमा लामखुट्टे हुर्किन पाउँदैन । सफाइसँग जोडिएका रोगहरू विकसित देशमा देखिँदैन । कारण उनीहरूकोमा सफाइ व्यवस्थापन, स्वास्थ्य जनचेतना उच्च तहमा छ ।

कालाजार र मलेरिया कसरी सर्छन् ?
सेनफ्लाइ भन्ने भुसुनाले टोक्दा कालाजार हुन्छ । यसले टोकेपछि लिस्मानियान्टोनो भन्ने परजीवि शरीरमा प्रवेश गर्छ र भित्र वृद्धि भएपछि कलेजो, फियोमा असर गर्ने, रगतका सेलहरू नष्ट गर्ने गर्छ । कालाजार फैलाउने भुसुना फोहोरमैला, पानी जमेका ठाउँमा फैलिन्छ र सेनफ्लाइले टोकेपछि लिस्मोनिया शरीरभित्र प्रवेश गरेर रगतका सेलहरू नष्ट भएपछि रगत कम हुने, फियो, कलेजो सुन्निने, ज्वरो आउने, थकाइ लाग्ने हुन्छ ।

बर्सेनि हामीकहाँ बढी देखिने सरुवा रोग कुन–कुन हुन् ?
झाडापखाला, टाइफाइड, हेपाटाइटिस देखिन्छन् । त्यसमा पनि टाइफाइड बढी देखिन्छ । जुन फोहोर पानीकै कारणले हुने हो ।

गत वर्षको तुलनामा यस वर्ष अलि अगाडि नै पानी धेरै परेको छ । कुन–कुन रोगको प्रकोप फैलने सम्भावना छ र रोकथामका लागि सरकारी तयारी कस्तो छ ?
पानी धेरै पर्दै गएको छ । यस्तो भएमा बाढी आउने तथा पहिरो जाने सम्भावना हुन्छ । यस्तोमा बढी झाडापखाला, हैजा, रगतमासी, सामान्य झाडापखाला र जाडियासिस् (पेट फुल्ने) सम्भवना हुन्छ ।

यसैगरी हेपाटाइटिस, टाइफाइड पनि हुन सक्छ । बाढी पहिरोका कारण जमिन मुनिबाट सर्प बाहिर आउँछन् र बाढीबाट विस्थापितहरूलाई टोक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा तत्कालै उपचार गर्नेबारे स्वास्थ्य कार्यकर्तासँग समीक्षा बैठक बसेका छौं । केन्द्र, क्षेत्र, जिल्ला र स्थानीय तहमा दैवी प्रकोप उद्धार टोली तयारी अवस्थामा छन् ।

त्यसो भए विगतका वर्षमा जस्तो प्रकोपको असर पर्दैन ?
प्रकोप आउन सक्छ । तर यस्तो अवस्थाका लागि केन्द्रीय अस्पतालहरूमा ¥यापिड रेस्पोन्स टिम गठन भइसकेका छन् । ती टीमले ठूलो प्रकोप परेका ठाउँहरूमा तुरुन्तै पुगेर सहयोग गर्ने छन् ।

नेपालमा बर्सेनि सरुवा रोगको असर देखिन्छ, यसबाट बच्न के गर्नुपर्छ ?
मुख्य कुरा फोहोर खानेकुरा, दूषित पानी, फोहोर वातवरणकै कारण यी रोग लाग्ने हुन् । तसर्थ ताजा खानेकुरा मात्र खाने, बासी, बाहिर खुला ठाउँमा राखिएका, झिंगा भन्केका खानेकुरा नखाने, हात धुने बानी बसाल्नु पर्छ।

वातवरण फोहोर भएपछि भुसुना र लामखुट्टे बढ्छन् । त्यसका लागि आफ्नो वरिपरिको वातवरण सफा राख्ने, खाल्डाखुल्डी र पानी जम्ने ठाउँ नराख्ने गर्नुपर्छ । आफ्नो घरआँगन सफा राखे पनि अन्य ठाउँबाट लामखुट्टे आउन सक्छन् । यसबाट बच्न झुल प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने गर्नुपर्छ ।  

 

प्रकाशित: ९ असार २०७५ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App