२९ श्रावण २०७७ बिहीबार
स्वास्थ्य

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

वीर अस्पतालको दोस्रो तल्लास्थित ‘लिभर युनिट’(कलेजो विभाग)को एउटा कोठा। अर्थात् विभाग प्रमुख डा. अनिल मिश्रको कार्यकक्ष। एउटा डाक्टरको कार्यकक्ष जस्तो हुन्छ भन्ने सोचेकी थिएँ, भित्र पसेपछि फरक अनुभव गरेँ।

भित्ताभरि तस्बिरसहित पाइलट बाबाका वाणीहरू! अनि छन्, गणेश र शिवजीका तस्बिरहरू पनि । बाबाको तस्बिरअघि बलिरहेको छ विद्युतीय दियो। कोठामा भर्खर निभेको अगरबत्तीको बास्ना आइरहेको थियो । एकछिन् मेरो ध्यान, डा. मिश्रको कार्यकक्षको दृश्य र वातावरणमै केन्द्रित भयो । यस्तो लाग्यो– म डाक्टरको कार्यकक्षमा होइन, कुनै ध्यान केन्द्र वा आश्रममा छु।

मेरो खुल्दुली मेटाउँदै डा. मिश्रमले भने, ‘म योग, ध्यान गर्छु, जुन मैले सन्त पाइलट बाबाबाटै सिकेको हुँ।’ यसैले आफ्नो कार्यकक्षलाई पनि ध्यानमय बनाउन पाइलट बाबासहित शिव र गणेशका तस्बिरहरू राखेको उनले बताए । उनका अनुसार आफ्नो वरिपरिको वातवरणले पनि मानिसको मनमा प्रभाव पार्छ । डा. मिश्र भन्छन्, ‘जब बाबाको फोटो देख्छु, तब मनमा बाबाकै कुरा आउँछन्, महादेवको तस्बिर देखेपछि उनकै दर्शन गरेको सम्झन्छु ।’ उनको मोबाइलको रिङटोनमा समेत पाइलट बाबाकै भजन छ– नमो नमः पाइलट बाबा नमो नमः । डा. मिश्र भन्छन्, ‘यो धुनले पनि मलाई ध्यानमा पु-याउँछ।’

स्वस्थ रहन औषधिमा भन्दा योग–ध्यानमा जोड दिनुपर्ने डा. अनिल मिश्रको सुझाव छ। ‘ध्यानको अभ्यासले व्यक्ति स्वस्थ हुन्छ, व्यक्ति स्वस्थ भए परिवार स्वस्थ हुन्छ र परिवार स्वस्थ भए सिंगो समाज स्वस्थ र शान्त हुन्छ,’ उनले भने।

२०३६ सालतिरको कुरा। एमबिबिएस अध्ययन गर्ने क्रममा डा. मिश्रले पहिलो सेमेस्टारमा कलेज टप गरे । त्यसबापत उनले स्वामी विवेकानन्दको पुस्तक पुरस्कार पाए । त्यो पुस्तक उनले ध्यान दिएर पढे । त्यसमा ध्यान–योगबारे वर्णन गरिएको रहेछ । त्यही पुस्तकले डा. मिश्रमा ध्यान–योगप्रति प्यास जगाएको । यसपछि उनले ध्यान योगको वैज्ञानिक पक्ष खोजी गर्न थाले । त्यही खोजी गर्ने क्रममा सन् २००७ तिर उनी सन्त पाइलट बाबालाई भेट्न भारतको हरिद्वार पुगे । बाबाले सिकाएका योग–ध्यानभित्र उनले शारीरिक र मानसिक स्वास्थ्यका वैज्ञानिक कुरा पाए । जसलाई उनले आफ्नो जीवनमा उतार्दै गए।

डा. मिश्र हरेक बिहान ५ बजे उठ्छन्, समय मिले एक घन्टा, नमिले आधा घन्टा योग–ध्यान गर्छन् । अनि मात्र आफ्नो नियमित काममा लाग्छन् । बिहान समय मिलेन भने उनी वीर अस्पतालको आफ्नो कार्यकक्षमै १५/२० मिनेट ध्यान गर्छन् । ‘ध्यान जहाँ पनि गर्न सकिन्छ,’ उनले भने, ‘योग भने खाली पेटमै गर्नु राम्रो हुन्छ।’

योगले शरीरका प्रत्येक अंगमा रक्तसंचार हुने, मांशपेसी सक्रिय पार्ने डा. मिश्र बताउँछन् । योग गरिसकेपछि ध्यानमा बस्दा मनमा एकाग्रता र शान्ति बढ्ने उनको अनुभव छ । शरीर र मन दुवै स्वस्थ भएपछि मात्र एउटा मानिस पूर्णरूपमा स्वस्थ हुने उनले बताए । उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले पनि शारीरिक, मानसिक र सामाजिक सबै रूपमा स्वस्थ भए मात्र स्वास्थ्य राम्रो भएको मान्यता दिन्छ।’

डा. मिश्रका अनुसार अस्थिर, अशान्त र चिन्ताले भरिएको मन अवस्थ हुन्छ । त्यसले शरीरका अन्य अंगमा प्रभाव पार्छ । ध्यानको अभावमा मनमा यी गलत विचारको बास हुन्छ र मान्छेले अराजक काम गर्न पुग्छ । मानसिक अस्थिरता भएकै बेला मान्छे जाँड, रक्सी, गाँजा तथा विभिन्न किसिमका लागू औषधको कुलतमा फस्छन् । र, बलात्कार लगायतका विभिन्न अपराध गर्छन् । ‘मनमा शान्ति छ भने लागू पदार्थमा मनै जाँदैन,’ डा. मिश्र भन्छन्, ‘ध्यानले मनमा स्थिरता ल्याउँछ र शान्तिको अवस्थामा पु-याउँछ।’

यसैकारण स्वस्थ रहन औषधिमा भन्दा योग–ध्यानमा जोड दिनुपर्ने डा. मिश्रको सुझाव छ । ‘ध्यानको अभ्यासले व्यक्ति स्वस्थ हुन्छ, व्यक्ति स्वस्थ भए परिवार स्वस्थ हुन्छ र परिवार स्वस्थ भए सिंगो समाज स्वस्थ र शान्त हुन्छ,’ उनले भने।

वीर अस्पतालकै अर्का चिकित्सक, कलेजो विशेषज्ञ डा. दिलिप शर्मा पनि योग–ध्यान र अध्यात्मले स्वस्थ राख्ने कुरामा विश्वास राख्छन् । उनी बिहानै उठेर मर्निङ वाकमा जान्छन् र फर्केर आएर आफ्नो नियमित काममा लाग्छन् । उनको ध्यानको विधि भने आफ्नै किसिमको छ । उनले कामलाई ध्यानसित जोडेका छन् । भन्छन्, ‘तपाईं आफ्नो नियमित काममा अरूलाई खुसी पार्न सक्नोस्, त्यही नै मन खुसी पार्ने बाटो हो ।’ आफूले अध्यात्ममा विश्वास गर्ने भएकैले अध्यात्मिक गुरु पाइलट बाबालाई बेलाबखत भेटन् जाने गरेको उनले सुनाए।

नेपाल अर्थाेपेडिक अस्पतालका सर्जन डा. कैलाश भण्डारीले पनि ध्यानयोगलाई आफ्नो जीवनशैली बनाएका छन् । डा. भण्डारी भने विपश्यना ध्यान गर्छन् । हरेक बिहान उनी व्यायाम गर्छन् र व्यायामपछि ध्यान । समय मिले एक घन्टा नमिले कम्तीमा आधा घन्टा । बिहान मात्र हैन उनी बेलुकी पनि नियमित ध्यान गर्छन् । डा. भण्डारी भन्छन्, ‘बिहान बेलुकी गरेर दुई घन्टा ध्यान गर्छु । समय नै मिलेन भने पनि कम्तीमा दिनमा एक घन्टा त गरेकै हुन्छु ।’ उनले यस्तो जीवनशैली अपनाएको १२ वर्ष भइसकेको छ । यसैकारण आफू स्वस्थ रहन सकेको उनको अनुभव छ।

डा. भण्डारीका अनुसार हाम्रो शरीरका रसायनले मन परिवर्तन गरिदिन्छ । जसका कारण हामी खुसी हुन सक्दैनौं । मान्छेको मन खुसी या दुखी भयो भने मस्तिष्कको न्युरो ट्रान्समिटरमा असर गर्छ । ध्यानले सबै किसिमका अवस्थालाई सहन सक्ने शक्ति दिन्छ । ‘ध्यान गर्दै जाँदा मान्छेको मुहारमा देखिने गरी परिवर्तन आइसकेको हुन्छ,’ उनी भन्छन्।

ओशो रजनिशतिर आकर्षण हुन सकेन । बुद्धको पुस्तक अपोदिपो भव : आफैले आफैलाई प्रज्जलित गर्ने स्वयं प्रकाश प्राप्त गर्ने बिधी : शान्त मुद्रामा गएर आफु भित्रै अन्तरयात्रा गर्ने बिधि हो।

मु्ख्य कुरा सन्तले दिने आध्यत्मिक र सामाजिक कुरा भन्नु हुन्छ । सत्मार्गमा हिड्ने बाटो सिकाउनु हुन्छ । सवै प्राणीमा दया, करुणाले हेर्ने र व्यवहार गर्ने कुरा सिकाउनु हुन्छ । भारतको हरिद्धार र नैनीतालमा बस्नु हुन्छ । थाहा पाएको जति आफै गर्थे । वीस बर्ष भयो । २०३६ सालदेखि ध्यान गर्थे । अहिले पनि फे्रस देखिएको हो।

प्रकाशित: ५ जेष्ठ २०७५ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App