३० माघ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पहिलो दिन १ लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

सरकारले मंगलबारदेखि देशव्यापी रूपमा सुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको पहिलो दिन एक लाख ४० हजार किशोरीले खोप लिएका छन्।

अधिकांश जिल्लामा अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि केही जिल्लामा श्रीपञ्चमी पूजाको विसर्जन कार्यक्रमका कारण विद्यालयमा छात्राहरूको उपस्थिति कम रहेको परिवार कल्याण महाशाखा, खोप शाखाले जनाएको छ।

शाखाका प्रमुख डा. अभियान गौतमले मधेसका धेरै जिल्लामा सरस्वती पूजाको विसर्जनका कारण विद्यार्थी अनुपस्थित देखिएको जानकारी दिए। ‘मधेसका धेरै जिल्लामा सरस्वती पूजाको विसर्जनको कारण विद्यार्थी अनुपस्थित देखिए,’ उनले भने।

अन्य जिल्लामा भने किशोरीहरूमा खोपप्रति उत्साह देखिएको रिपोर्ट प्राप्त भएको डा. गौतमले बताए। ‘प्रायः विद्यालयका सबै किशोरीहरू खोप लिन तयार अवस्थामा भेटिए,’ उनले भने। साथै, विद्यालय नर्स र शिक्षकहरूले विद्यार्थीलाई खोपबारे पूर्ण जानकारी दिएको पाइएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुभारम्भ गरेका थिए। मंगलबार बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा पुगेर कार्यक्रमको सुरुवात गरेका हुन्।

यस क्रममा काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अभियान औपचारिक रूपमा सुरु गरिएको थियो।

खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाउन आग्रह गरे। ‘यो अभियान सफल बनाउन सबैको सहकार्य आवश्यक छ,’ उनले भने।

स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ५ गतेसम्म देशभर खोप अभियान सञ्चालन हुनेछ। अभियान अन्तर्गत १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिनेछ।

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गरेको यो सबैभन्दा ठूलो खोप अभियान हो। सरकारले देशभर करिब १६ लाख ८ हजार किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखेको छ।

एचपिभी खोपको पहुँच विस्तार गर्ने तथा नेपालमा पाठेघरको मुखको क्यान्सरको भारलाई न्यूनीकरण गर्न अभियान महत्त्वपूर्ण रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २२ माघ २०८१ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App