चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको ‘क्षेत्रपाटी नि:शुल्क चिकित्सालय’लाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमबीच विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्। विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदूत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बनडाइअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै सहयोग लागि चीन सरकारलाई धन्यवाद दिए। उनले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरू आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभइ काठमाडौँ जिल्लाभर सेवा बिस्तार गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री सिहंले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरूलाई निर्देशन समेत दिए।
उनले भने, ‘विश्वमा नै चर्चा भइरहेको कार्बनडाइअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरूको ठूलो भूमिका हुने भएकोले चीन सरकारले आज क्षेत्रपाटी चिकित्सालयलाई जुन गाडी उपलब्ध गराएकोमा छ यसको लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। वातावरण स्वच्छ राख्न विद्युतीय गाडीको ठूलो महत्व छ।’
उनले अगाडि थपे, ‘नेपालले सम्पूर्ण मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ भन्ने कुरा पनि आजको यस कार्यक्रमबाट पुष्टि भएको छ। यस चिकित्सालयलाई अगाडि बढाउनका लागि सहयोगहरू जसरी आइरहेको छ, आगामी दिनमा अझ तिव्र रुपमा बढोस् भन्ने कामना गर्दछु। यस चिकित्सालयले टोलवासीलाई मात्र नभएर काठमाडौंको सम्पूर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस्। सेवा सुविधालाई थप प्रभावकारी बनाओस् भन्ने शुभकामना दिन चाहन्छु। यसका लागि सबै लाग्नुहोस् ।’
उनले वि स। २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आइपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताए।
प्रकाशित: ८ मंसिर २०८१ १३:४५ शनिबार