९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पताल: अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन्। २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रियामार्फत् शिशु जन्माएका हुन्।

वडादसैँंको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ। कतिपय निजी साना अस्पतालमा दसैंँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ। चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो।

अस्पतालको प्रसूति विभागका प्रमुख प्राडा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताउँछन्।

उनले भने, “चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य समयको भन्दा बढी प्रसूति सेवा लिन आउँछन्।”

उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन्। भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन्। तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हेल्थपोष्ट लगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउँछन्।

अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सक, चार जना आवासीय चिकित्सक र पाँच जना तालिम प्राप्त मेडिकल अधिकृत छन्। सँगै ३२ जना तालिमप्राप्त नर्सिङ् स्टाफ रहेको उनी बताउँछन्। प्रसूतिका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दसैँंको समयमासमेत सेवा नरोकेको बताए।

अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसूति सेवा दिने गरेको छ। पछिल्ला वर्षमा सङ्ख्या घट्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले दसैँको समयमा अस्पतालको आकस्मिक सेवासहित प्रसूति सेवा सूचारु गरिएको बताए। आकस्मिक रूपमा गर्नुपर्ने प्रसूतिलगायत अन्य शल्यक्रिया नरोकिएको उनको भनाइ छ।

भरतपुर अस्पताल प्रसूति सेवामा अब्बल मानिन्छ। प्रसूति गराउनेका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ। निजी अस्पतालमा भन्दा प्रसूति गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ। यहाँ २० शय्याको बाल सघन उपचार (एनआईसियू) कक्षसमेत रहेको छ। सरकारीमा प्रसूति गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ।

गत साउनदेखि हालसम्म दुई हजार बढीमा डेङ्गु सङ्क्रमण

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार दुई सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। गत साउनयता ६ हजार तीन सय ४७ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये चितवनका एक हजार ६९२ र जिल्ला बाहिरका पाँच सय ५१ जना छन्। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सात सय ३० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले बताए।

सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेङ्गु देखिएको छ। उनका अनुसार इच्छाकामना गाउँपालिकामा चार सय ४७ जना, रत्ननगर नगरपालिकामा तीन सय १९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो।

जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ। जिल्लामा गत आर्थिक वर्षमा एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। उनका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ। यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्छ। यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले बताए।

डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले बताए। डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको  प्रमुख रुपाखेतीले बताए। रासस

प्रकाशित: २८ आश्विन २०८१ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App