१८ कार्तिक २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विष सूचना केन्द्रबाट २७० चिकित्सकलाई परामर्श

टिचिङ अस्पतालमा एक वर्षदेखि सञ्चालनमा रहेको विष सूचना केन्द्रले २ सय ७० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विष सेवन सम्बन्धी सेवा प्रदान गरेको छ।

टिचिङ अस्पतालको विष सूचना केन्द्रका प्रमुख डा. राकेश घिमिरेका अनुसार यस केन्द्रले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विष सेवन सम्बन्धी सही उपचारका लागि परामर्श दिने गर्छ।

उनका अनुसार पछिल्लो समय केन्द्रले दिँदै आएको परामर्श प्रभावकारी बन्दै गएको छ। सुरुमा यस केन्द्रबाट परामर्श लिने चिकित्सकको संख्या न्यून भए पनि अहिले यो सेवा लिन चिकित्सकको संख्या उल्लेखनीय छ। जसबाट चिकित्सकहरू बिरामीलाई सही परामर्श दिने कार्यमा पनि सफलता हासिल भएको उनी सुनाउँछन्।

उनले एक वर्षको अवधिमा देशभरबाट २ सय ७० जना चिकित्सक तथा स्वास्थ्यकर्मीले विष सेवनबारे उपचार परामर्श लिएको सुनाए। जसले गर्दा विष सेवन गरेका बिरामीलाई सही उपचार दिन सहज भएको उनको भनाइ थियो।

यो केन्द्र गत वर्ष नमुना परियोजनाको रूपमा स्थापना भएको थियो। विष सेवन गरेका बिरामीको सही उपचारमा कुनै अलमल भएमा देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले यस केन्द्रबाट परामर्श लिई उपचार गर्न सक्ने व्यवस्था गरिएको छ।

डा. घिमिरेका अनुसार, नेपालमा हुने कुल आत्महत्याका घटनामध्ये विष सेवन गरी आत्महत्या गर्ने दोस्रो प्रमुख कारण हो। नेपाल प्रहरीको तथ्यांकले १८.२० प्रतिशत मृत्यु विष सेवनका कारण हुने देखाएको छ।

उनले भने, "विष सेवन गरेका बिरामीलाई समयमै सही उपचार गराउन सकेमा उनीहरूको ज्यान बचाउन सकिन्छ, त्यसैले यो परामर्श अत्यन्तै महत्त्वपूर्ण छ।"

विषका प्रकारअनुसार फरक औषधी र उपचार विधि आवश्यक पर्ने भएकाले विष सेवनको उपचारमा केन्द्रले अन्तर्राष्ट्रिय मापदण्डअनुसार परामर्श दिने गरेको छ।

उदाहरणका लागि मुसाको विष, तरकारीको विषादीजस्ता विषको उपचारका लागि भिन्न औषधी प्रयोग गर्नुपर्ने भएकाले केन्द्रले चिकित्सकलाई सही परामर्श प्रदान गर्दै आएको छ।

यो केन्द्र विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार एच नामक गैरसरकारी संस्था र अमेरिकास्थित ब्राउन विश्वविद्यालयका डा. रामु खरेलको सहयोगमा नमुना परियोजनाका रूपमा स्थापना भएको थियो। डा. घिमिरेले यसको दिगो सञ्चालनका लागि नेपाल सरकारको नियमित बजेटको आवश्यकता रहेको बताए।

केन्द्रको वार्षिकोत्सवका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले केन्द्रको सेवा राम्रो भएकोले सरकारको प्राथमिकतामा रहेको बताए।

केन्द्रले देशभरका स्वास्थ्यकर्मीलाई विष सेवनसँग सम्बन्धित जटिल बिरामीको व्यवस्थापनमा विशिष्ट परामर्श दिँदै आएको भन्दै उनले मन्त्रालय नीतिगत र प्राविधिक सहयोगका लागि तयार रहेको सुनाए।

विष सेवनपछिको उपचारका लागि आवश्यक जानकारी लिन २४ सई घण्टा ०१–४५०२०११ मा फोन गर्न सकिने जनाइएको छ।

प्रकाशित: २६ भाद्र २०८१ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App