१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त हभएका छन्।

अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो। उनीहरूमध्ये अस्पताल सञ्चालक समितिले डा. पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले बताए।

उनका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा. पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा. मदन उपाध्याय, डा.प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो। सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो। डा. उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डा. ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा. विश्वकर्मा सञ्चालक सदस्य हुन्।

अस्पतालको नियमावलीमा सिफारिस समितिमा मन्त्रालयको प्रतिनिधि, काउन्सिलको सदस्य सचिव पदेन उपसमितिको सदस्य हुने व्यवस्था छ। डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिस्ट’ हुन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत हुन्।

निवर्तमान कार्यकारी निर्देशक डा देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो। अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ। कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा.विजयराज न्यौपानेलाई दिएको थियो।

 -रासस

प्रकाशित: ११ भाद्र २०८० ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App