१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

हिमाल उक्लियो डेंगी

केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन। तर पछिल्ला वर्षहरूमा यो परिदृश्य बदलिएको छ, पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको कहर बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले फैलिएर हिमाल र पहाडमा पनि पुगेको छ।

डेंगी संक्रमण सार्ने प्रजातिको लामखुट्टेले यतिबेला हिमाली जिल्लामा पनि सताउन थालेको छ। सुदूरपश्चिमका सबै जिल्लामा डेंगी संक्रमण फैलिरहेको जानकारी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले दिएका छन्। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा डेंगी संक्रमण बढी फैलिएको उनले बताए। ‘सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामध्ये सबैभन्दा बढी डेंगी संक्रमण दार्चुलामा देखिएको छ’, उनले भने।

सुदूरपश्चिम प्रदेशका दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्ला हुन्। यी तीनवटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ। उसो त सुदूरपश्चिमका सबै जिल्लामा डेंगीका बिरामी छन्। अध्ययनका क्रममा सुदूरपश्चिमका हिमाली र पहाडी सबै जिल्लामा डेंगी सार्ने लामखुट्टे फेलापरेको जानकारी जोशीले दिए। दार्चुलाको हिमाली भेग व्यास गाउँपालिमामा डेंगी संक्रमण गराउने लामखुट्टे फेलापरेको छ। ‘अध्ययन गर्दा ६ महिना हिउँ जम्ने दार्चुलाको व्यास गाउँपालिकामा पनि डेंगी सार्ने लामखुट्टे फेला परेको छ’, उनले भने।

सुदूपश्चिम प्रदेशमा डेंगी संक्रमण तराईका भन्दा बढी हिमाली जिल्लामा फैलिएको छ। ‘पहाडमा पहिले लामखुट्टेले टोकेको कसैलाई पनि थाहा थिएन तर अहिले तराईमा भन्दा पनि बढी लामखुट्टे पहाडी र हिमाली जिल्लामा देखिन थालेको छ। हिमाली भेगमा पनि डेंगी संक्रमण फैलिनु अचम्म भएको छ’, दार्चुलाका दलबहादुर बोहरा भन्छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा ५ सय ४० जनामा डेंगी संक्रमण देखिएको छ। हिमाली जिल्ला दार्चुलामा १ सय ९४ जना, बाजुरामा ३२, बझाङमा १२ जनामा डेंगी संक्रमणा भएको छ। त्यस्तै पहाडी जिल्ला अछाममा ५२, डोटीमा १५, डडेल्धुरामा ९ र बैतडीमा ६ जनालाई डेंगी संक्रमण भएको छ। यसै प्रदेशका तराई जिल्ला कैलालीमा १ सय २५ र कञ्चनपुरमा ९५ जनामा यसको संक्रमण भएको छ। प्रदेशमा यो वर्ष डेंगी संक्रमणबाट कसैको ज्यान भने गएको छैन।

साउनदेखि कात्तिकसम्म डेंगी संक्रमण हुने जोशी बताउँछन्। अझै अढाई-तीन महिना डेंगी संक्रमणको जोखिम रहन्छ। नेपालमा २०६१ सालमा पहिलोपटक देखापरेको डेंगी सक्रमण २०६३ पछि प्रकोपका रूपमा फैलिन थालेको हो।  

सुदूरपश्चिममा भने २०६७ सालमा पहिलोपटक डेंगी संक्रमणका बिरामी देखापरेको जानकारी जोशीले दिए। सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा भने चार वर्षअघि डेंगी संक्रमण देखिएको उनले बताए। गत वर्ष मुलुकमा प्रकोपका रूपमा फैलिएको डेंगी संक्रमणबाट सुदूरपश्चिममा पनि चारजनाको ज्यान गएको थियो। कैलालीका २, कञ्चनपुरका १ र अछामका १ जना संक्रमितको मृत्यु भएको थियो।  

विज्ञहरूका अनुसार एइडिस एजिप्टी र एइडिस एल्बोपिक्टस प्रजातिका लामुखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। यी दुई प्रजातिकै लामुखुट्टे सुदूरपश्चिममा पाइन्छन्। हिमाली जिल्ला दार्चुलाको व्यास गाउँपालिकामा पनि यी दुई प्रजातिका लामुखुट्टेको फेलापरेको जोशीले बताए। चिकित्सक शुभेशराज कायस्थ चार-पाँच वर्ष यतामात्र पहाडी र हिमाली जिल्लामा लामुखुट्टेको मान्छेलाई टोक्न थालेको बताउँछन्। ‘पहिले पहाडी जिल्लामा लामुखुट्टे हुन्थेन। लामुखुट्टेको टोकाइबाट फैलिन डेंगीलगायतका रोग पनि पहाडमा थिएन’, उनले भने, ‘तर चार-पाँच वर्षयता पहाडी जिल्लामा लामुखुट्टेजन्य रोगको प्रकोप देखिन थालेको छ।’

जलवायु परिवर्तनको असर, मान्छेको बढ्दो ओहोरदोहोरलगायत कारणले लामुखुट्टे तराईबाट हिमाली र पहाडी जिल्लामा पुगेको उनी बताउँछन्। डेंगी भए ज्वरो आउने, टाउको, जोर्नी, ढाड, आखाँका गेडी, पिडौलाको मासु बेस्सरी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, छालामा बिबिरा देखिने जस्ता लक्षण देखिन्छन्। यो रोगले च्यापेपछि गिजा, नाक र पिसाबमा रगत देखिने, जिउ दुख्ने, बारम्बार वान्ता हुने, सास फेर्नसमेत गाह्रो हुने चिकित्सक बताउँछन्। आफूखुशी जथाभावी औषधि सेवन गरे ज्यानसमेत जान सक्ने भएकाल लक्षण देखिनासाथ चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने सुझाव जोशीको छ।

प्रकाशित: ११ भाद्र २०८० ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App