१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग

कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि गठित सङ्घर्ष समितिका संयोजक मुकेश बुढाथोकीले मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई ज्ञापन पत्र बुझाउँदै । तस्बिर: चुमन बस्नेत/नागरिक

 

अस्पतालको जग्गा विभिन्न सङ्घसंस्थाले गैह्रकानुनी रुपमा वर्षौँदेखि पक्की संरचना बनाएर ओगटेका छन्।कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि गठित सङ्घर्ष समितिका संयोजक मुकेश बुढाथोकीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। 

गैह्रकानुनी तबरले अस्पतालको नाममा दर्ता रहेको जग्गा अनधिकृत रूपले विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले कब्जा गरेका छन्। जग्गा कब्जा गरी भाडामा लगाइ त्यसबाट मासिक लाखौँ आयआर्जन गरी अस्पताललाई धराशायी बनाएको हुनाले तत्काल कारबाही गरी कब्जा गरिएको जग्गा अस्पतालको स्वामिŒवमा ल्याउनु पर्ने संयोजक बुढाथोकीले बताए।

अस्पतालको स्वामिŒवमा रहेको जग्गा तथा भौतिक संरचना अनाधिकृत रूपले भोग चलन गर्न दिने अस्पतालका अधिकारी तथा भोग चलन गर्ने व्यक्ति सङ्घसंस्था लगायतलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँदै, संयोजक बुढाथोकीले भने, ‘तत्काल अस्पतालको जग्गा नापी गरेर चार किल्ला छुट्टाउनु पर्छ । स्वास्थ्य बिमाअन्तर्गत प्रदान गर्ने सेवा सुविधा तथा सबै प्रकारका औषधि सहज रुपमा उपलब्ध गराउनु पुर्नेलगायतका माग राखेर ज्ञापन पत्र बुझाएका हौँ।’

विराटनगर महानगरपालिका–७ मा रहेको कोशी अस्पतालको ५ विघा ८ कट्ठा जग्गा छ। अस्पतालको करिब १५ कट्ठा बढी जग्गा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय र नेपाल रेडक्रस सोसाइटीले गैह्रकानुनी रुपमा वर्षौँदेखि ओगट्दै आएको छ । त्यसरी ओगटिएको अस्पतालको जग्गामा उनीहरुले व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरूलाई पनि भाडामा लगाएका छन्।अस्पतालको जग्गामा उनीहरुले वर्षौँदेखि रजाइँ गर्दै मासिक लाखौँ रुपैयाँ बहाल बापत उठाउँदै आएका छन्। 

एमआरआई, एनआइसीयूजस्ता आवश्यकीय सेवासहित चमेना गृह एवं विभिन्न सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा अभाव भइरहेको सङ्घर्ष समितिले जनाएको छ। अस्पतालको सेवा सुविधाको सुधार गर्दै जग्गा फिर्ता गराउनका लागि चरणबद्ध आन्दोलन गर्ने क्रममा ज्ञापन पत्र बुझाएर सुरुआत गरेको संयोजक बुढाथोकीले भने । उनले अस्पतालको जग्गा कसले कति ओगटेका छन् । सबैको तथ्याङ्क संर्घष समितिसँग रहेको छ।अस्पतालजस्तो संवेदनशील क्षेत्रको जग्गामा अरूले रजाइँ गर्न राम्रो होइन । राजनीतिक हस्तक्षेपका कारण अस्पताल धराशायी बन्नु दुःखद कुरो यसबाट मुक्ति पाउनु पर्छ। 

अस्पतालको जग्गा कब्जा गरेर गणेश मन्दिर, क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय र नेपाल रेडक्रस सोसाइटीले गैह्रकानुनी रुपमा कार्यालय भवन, सटरहरू निर्माण गरी विभिन्न व्यक्ति, कार्यालयलाई बहालमा दिएर मासिक १ करोड बढी आम्दानी गर्दै आएका छन्। 

‘मासिक ठूलो रकम विभिन्न सङ्घसंस्थाले आम्दानी गरेर फाइदा लुटिरहेको बताउँदै, संयोजक बुढाथोकीले भने, ‘अस्पतालसँग बजेट नभएर सेवा सुविधा बढाउन पाएको छैन । उनीहरुले अस्पतालको जग्गाबाट गैह्रकानुनी रुपमा कमाइ रहेको रकम सिधा अस्पतालको खातामा आउने हो भने विशेषज्ञ डाक्टर, नर्सलगायत अस्पतालमा नयाँ प्रविधि ल्याएर सुविधा बढाउन सक्ने थियौ ।’

अस्पताल विकास समितिले उनीहरूलाई जग्गा तथा भवन खाली गर्न विभिन्न समयमा पत्र पठाएर पनि राजनैतिक पहुँचका आडमा खाली गर्न नमानेको संयोजक बुढाथोकीले बताए। 

क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगट्दै आएको अस्पताल प्रशासनले जनाएको छ।अस्पतालको जग्गा ती संस्थाले पक्की भवन बनाएर ३० जनाभन्दा बढीलाई भाडामा दिएको छ।अस्पतालको जग्गामा संरचना बनाएर भाडा बापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रुपैयाँभन्दा बढी उठाइरहेको बताउँदै, संयोजक बुढाथोकीले भने, ‘अस्पताल प्रशासनले जग्गा खाली गरिदिन पत्राचार गर्दा क्षयरोगलाई भाडा तिरिरहेको भनेर भाडावालहरूले छाड्न मानेका छैनन् । गणेश मन्दिरले भाडाबापत मासिक १ लाख ६० हजार रुपैयाँभन्दा बढी असुली गरिरहेको छ । रेडक्रसले संरचना बनाएर वाणिज्य बैङ्कदेखि विभिन्न पसललाई भाडामा लगाउँदै करिब १ लाख ५० हजार आम्दानी गर्ने गरेको छ । देवकोटा पुस्तकालयले विभिन्न पसललाई कोठा भाडामा दिएको छ।’

जग्गा खाली गराउने क्रममा अस्पताल र क्षयरोग निवारण संस्थाबिचको विवाद भएको थियो । दुवै संस्थाबिच जग्गा विवाद हुँदा क्षयरोग निवारणले अस्पतालविरुद्ध मुद्दा दर्ता गरेको थियो। २०७७ सालमा उच्च अदालत विराटनगरले जग्गा अस्पतालकै रहेको फैसला गरेको थियो । अदालतले अस्पतालकै जग्गा हो भनी फैसला गरे पनि हालसम्म क्षयरोगले जग्गा छाडेको छैन।

प्रकाशित: ३० श्रावण २०८० १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App