१५ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोशी अस्पतालको जग्गामा अरूकै रजगज

कोशी अस्पतालको नाममा रहेको जग्गामा विभिन्न संस्थाहरूले आआफ्नै हिसाबबाट आम्दानी गरी भोग चलन गर्दै आएका छन्। विभिन्न संस्थाहरूले अस्पतालको जग्गा ओगटेर पक्की संरचना बनाउँदै बहालमा दिएर आम्दानी गर्दै आएका हुन्।

अस्पताल प्रशासनले बेवास्ता गरेकै कारण विभिन्न संघसंस्थाहरुले अस्पतालको जग्गा कब्जा गरेर पक्की संरचना बनाउँदै व्यापारिक प्रयोजनमा प्रयोग गर्दै आएका छन्। ती संस्थाहरूलाई राजनैतिक संरक्षण भएकै कारण अस्पतालले पछिल्लो समय हटाउन र खाली गराउन खोज्दासमेत केही गर्न सकेको छैन।

अस्पतालको जग्गामा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले ओगटेर पक्की संरचना बनाउँदै भाडामा दिएका छन्। जग्गाधनीलाई कुनै पनि किसिमको जानकारी नदिई ती संस्थाहरूले आफ्नो मनोमानी तवरबाट संरचना बनाएर आफैं र बाँकी रहेका संरचना भाडामा दिँदै लाखौँ रुपैयाँ मासिक बहाल उठाउँदै आएका छन्।

कोशी प्रदेशकै सरकारी अस्पतालमध्ये सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको कोशी अस्पतालको जग्गा गैर कानुनी तवरबाट कब्जा गरी मासिक रुपमा ती संस्थाहरूले लाखौँ रुपैयाँ आम्दानी गरेर फस्टाउँदै आए पनि अस्पतालको आम्दानी मर्दै आएको छ। अस्पतालको आफ्नो स्रोत कम हुँदा त्यहाँबाट दिइने सेवा सुविधा विस्तारमा समेत समस्या हुँदै आएको छ।

गैर कानुनी रुपमा बसोबास गरेका ती संस्थाहरूले लिँदै आएको मासिक आम्दानी अस्पतालको स्रोतमा जम्मा हुने हो भने अस्पतालको सेवा विस्तारमा केही टेवा पुग्ने कोशी अस्पताल विकास समितिका पूर्व सदस्य मुकेश बुढाथोकीले बताए। उनले अस्पतालको जग्गा खोजी गर्दै जाँदा विभिन्न संस्थाहरूले कब्जा गरेर आम्दानी गर्दै आएको खुलाए। अस्पतालले ती संस्थाहरूलाई आफूले भोग चलन गर्दै आएको जग्गा आफ्नो भए प्रमाणसहित अस्पताल प्रशासनमा सम्पर्क गर्न आउनु भनी पत्र पठाएको थियो।

विराटनगर महानगरपालिका–७ मा अस्पतालको नाममा ५ बिघा ८ कट्ठा जग्गा रहे पनि विभिन्न सङ्घसंस्थाले करिब १५ कट्ठाभन्दा बढी जग्गा ओगटेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार विभिन्न संस्थाहरूले ओगटेको जग्गा फिर्ता भए त्यहाँ अस्पतालका लागि विभिन्न किसिमका सेवा विस्तार गर्न सहज थियो।

गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले बाहेक अन्य संस्थाले जग्गा ओगटी बनाइएका संरचना अस्पतालले भत्काइ दिएको छ। भत्काइ दिएका संरचनालाई बहालमा दिएर ती संस्थाले पनि आर्थिक लाभ लिँदै आएका थिए। क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगट्दै आएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको जग्गामा ती संस्थाले पक्की भवन बनाएर ३० जनाभन्दा बढीलाई भाडामा दिएको छ। अस्पतालको जग्गामा संरचना बनाएर भाडा बापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रुपैयाँभन्दा बढी उठाइरहेको बताउँदै, अस्पताल विकास समितिका पूर्व सदस्य बुढाथोकीले भने, ‘अस्पताल प्रशासनले जग्गा खाली गरिदिन पत्राचार गर्दा क्षयरोगलाई भाडा तिरिरहेको भनेर भाडावालहरूले छाड्न मानेका छैनन्। गणेश मन्दिरले भाडाबापत मासिक १ लाख ६० हजार रुपैयाँभन्दा बढी असुली गरिरहेको छ। रेडक्रसले संरचना बनाएर वाणिज्य बैङ्कदेखि विभिन्न पसललाई भाडामा लगाउँदै करिब १ लाख ५० हजार आम्दानी गर्ने गरेको छ। देवकोटा पुस्तकालयले विभिन्न पसललाई कोठा भाडामा दिएको छ।

आम्दानी कम भएर अस्पतालको अवस्था दयनीय बनेको छ। जग्गा पर्याप्त नहुँदा सेवा विस्तार हुन पाएको छैन। अस्पतालको जग्गा फिर्ताका लागि अभियान चलाइने र सहज ढंगले फिर्ता नगरे नागरिक समाजसहित आन्दोलन गर्ने बुढाथोकी बताए।

सुविधा सम्पन्न अस्पतालको ६ तले नयाँ भवन निर्माण सुरु हुने भएपछि जग्गा खाली गराउने क्रममा अस्पताल र क्षयरोग निवारण संस्थाबिचको विवाद भएको थियो। दुवै संस्थाबिच जग्गा विवाद हुँदा २०७७ सालमा उच्च अदालत विराटनगरले जग्गा अस्पतालकै रहेको फैसला गरेको थियो। अदालतले अस्पतालकै जग्गा हो भनी फैसला गरे पनि हालसम्म क्षयरोगले जग्गा छाडेको छैन।

अस्पतालको जग्गामा मन्दिर, रेडक्रस र पुस्तकालयसमेत रहेको बताउँदै, क्षयरोग निवारण संस्थाका अध्यक्ष शिव प्रधानले भने, ‘जग्गा नम्बरी हैन। सरकारी र ऐलानी हो। लालपुर्जा लिने प्रक्रियामा हामी चुक्यौँ। तर, संस्था अस्पतालभन्दा पहिले स्थापना भएको हो। कानुनी हिसाबले अस्पतालको देखियो।’ भाडाबापत उठेको रकमबाट संस्था चलिरहेको छ। सरकारले अर्को जग्गाको व्यवस्थापन नगरीकन यहाँ छाड्न सक्ने अवस्थामा छैनौँ, प्रधानले भने।

अस्पतालका तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रविराज सिंहले गत वैशाख २५ गते अतिक्रमण गरेर बसेको जग्गा खाली गरिदिन पत्राचार गरे। त्यहाँ बसेका भाडावालहरूले विभिन्न संघ संस्थालाई भाडा तिरिरहेकाले जग्गा खाली गर्न नसकिने जवाफ अस्पताललाई दिए। 

अस्पताल विकास समितिमा डाक्टर फरवार्ड सिलवाल नियुक्त भएका छन्। उनीसँगै अस्पतालमा नयाँ मेसु डाक्टर चन्द्र भाल झा नियुक्त भए। विकास समितिका अध्यक्ष डाक्टर सिलवालले अस्पतालभित्रै विभिन्न काममा समय दिनु परेकाले जग्गा फिर्ताको प्रक्रिया सुरु गर्न नसकेको बताए। अस्पतालकै रेकर्डमा रहेका कारण जग्गा फिर्ता ल्याउने प्रक्रिया भने चाँडै सुरु गर्ने उनले बताए।

प्रकाशित: ९ श्रावण २०८० १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App