१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यका कर्मचारीले सात महिनादेखि तलव पाएनन्

वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरु।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलव नपाएको गुनासो गरेका छन्। वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९४ जना स्वास्थ्यकर्मीहरुले मंसिर महिनादेखि तलव–भत्ता नपाएको बताएका हुन्। स्वास्थ्यकर्मीहरुले सात महिनादेखि तलव–भत्ता नपाउँदा दैनिकी चलाउन समस्या भएको बताउँदै आएका छन्।  

उनीहरुले तत्काल तलव नपाए खोप कार्यक्रम पनि प्रभावित हुने चेतावनी दिएका छन्। ‘मंसिरदेखि तलव नपाएकै हामीले काम गरिरहेका छौं, तलव उपलब्ध गराउने विषयमा सरोकारवाला कार्यालयहरु बेखवर छन्,’ स्वास्थ्यकर्मी उदय थापाले भने, ‘तलव नपाउँदा घर खर्च चलाउन पनि समस्या हुने अवस्था आइसकेको छ।’  

संघीय सरकारले सुरुमा समायोजन भएका स्वास्थ्यतर्फका कर्मचारीका लागि मात्रै तलव पठाउने गरेको छ। पछाडि समायोजन मिलान गरेका, संशोधन र समायोजन नियमावली बनेपछि दुई वटा पालिकाको सहमतिमा वीरेन्द्रनगरमा हाजिर हुन आएका कर्मचारीहरुले तलव नपाएका हुन्। ‘हामीलाई सहमतिको पत्र दिँदा वीरेन्द्रनगर नगरपालिकाले तलव भत्ताको व्यवस्थापन गर्नेछौं भनेर लेखिएको छ,’ उनले भने, ‘अहिले आएर हामी तलव–भत्ताको व्यवस्थ ागर्न सक्दैनौं भन्नु गैरजिम्मेवार कुरा हो।’

पछिल्लो समय समायोजन भएका र पालिकाको सहमतिपछि आएका स्वास्थ्यका ९४ कर्मचारीहरु तलव उपलब्ध गराइदिन भन्दै वीरेन्द्रनगर नगरपालिका, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीसँग पटक–पटक भेट गरेका छन्। समाधानको उपायँ भए देखिएको छैन्। ९४ कर्मचारीले तलव नपाएको यो पहिलो पटक भने होइन्। ‘विगत दुई वर्षदेखि हामीले यस्तै सास्ती भोग्दै आइरहेका छौं,’ उनले भने, ‘यसको दीर्घकालिन समाधान खोजीदिनका लागि सरोकारवाला निकायमा पटक–पटक छलफल गरेका छौं, समाधान केही निस्केको छैन्।’

वीरेन्द्रनगर नगरपालिकामा स्वास्थ्यको साविक दरवन्दी ३८ जनाको हो। यो साविकको नगरपालिका हुँदाको हो। त्यसपछि पाँच वटा गाविसहरु यो नगरपालिकामा गाभिएका छन्। अझै पनि वीरेन्द्रनगरमा आवश्यक स्वास्थ्यकर्मी पूर्ति हुन सकेको छैन्।

२०७८ मा वीरेन्द्रनगरमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु समायोजन भएर आएका थिए। स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका–२०७७ वमोजिम वीरेन्द्रनगर नगरपालिकाको सहमति ल्याएर आएका कर्मचारीहरुलाईनै नगरपालिकाले तलव दिन सकेको छैन्। स्वास्थ्य मन्त्रालयले २०७७ सालमा ३८ जना कर्मचारीहरु वीरेन्द्रनगर नगरपालिकामा पठाएको थियो। त्यस लगत्तै ५६ जना स्वास्थ्यका कर्मचारीलाई मन्त्रालयले नगरपालिकामा पठाएको थियो।  

समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरु वीरेन्द्रनगरको नगर अस्पताल, स्वास्थ्य चौकीहरुमा कार्यरत छन्। यसअघि स्वास्थ्य मन्त्रालयले ३८ जना स्वास्थ्यका कर्मचारीहरुका लागि दुई करोड ६३ लाख पठाएको थियो। बजेट पुन आउने आशमा नगरपालिकाले ९४ जना स्वास्थ्यका कर्मचारीहरुलाई असोजसम्मको तलव लिएको थियो। त्यसपछि मन्त्रालयबाट कर्मचारीका लागि तलव आएको छैन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले मन्त्रालयमा तलव माग गरिएपनि नआएको बताए। ‘हामीले तलव माग गरेका छौं, अहिलेसम्म आइपुगेको छैन्,’ उनले भने, ‘माथिबाट आएपछि कर्मचारीलाई दिन्छौं।’

प्रकाशित: ३१ जेष्ठ २०८० १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App