१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

मिर्गौला दलाल राजधानी छेउछाउ सक्रिय

काठमाडौं- केही वर्षअघिसम्म काभे्र जिल्लामा सक्रिय मानव अंग बेचबिखनका दलाल पछिल्लो समय राजधानी छेउछाउका गाउँमा सक्रिय बन्दै गएको सरोकारवालाले औंल्याएका छन्। जनअधिकार संरक्षण मञ्च नेपालका अनुसार पछिल्लो समय दलाल काठमाडौंका  साँखु, थली र थानकोट क्षेत्रतिर सक्रिय छन्। ‘काभ्रेका बारेमा धेरै चर्चा भएपछि दलालले ठाउँ फेरेको देखिन्छ', मञ्चका कार्यक्रम निर्देशक सतीष शर्माले भने।

दलालले मिर्गौला निकाल्न सर्वसाधारणलाई लैजाने सहरसमेत फेरिएको शर्माले बताए। उनका अनुसार पहिला भारतको चण्डीगढ र दिल्ली पुर्‍याउने गरिथ्यो अहिले थाइल्यान्ड पुर्‍याउने प्रवृत्ति बढेको छ। उनले भने, ‘दलालले बेच्ने र किन्ने दुवै स्थान परिवर्तन गर्दै गएको देखिन्छ।'

प्रहरीको अपराध अनुसन्धान विभागकी एसपी किरण बज्राचार्यका अनुसार ठूलो देश घुमाउने ,जागिर लगाइदिने प्रलोभनमा फसाएर तेस्रो मुलुक पुर्‍याई मिर्गौलालगायत अन्य अंग बेचबिखन गर्ने अपराध बढेको छ। ‘थाइल्यान्डको बैंककमा नेपालीले मिर्गौला बेचेर आएको बुझिएको छ तर उनीहरु जाहेरी दिन आएका छैनन्', उनले भनिन्। अहिले नेपालका केही अस्पतालमा समेत दलालले  मिर्गौला पुर्‍याउने गरेको थाहा हुन आएको बज्राचार्यले बताइन्।

मञ्चको अभिलेख अनुसार काठमाडौंकी गीता (नाम परिवर्तन) ले दलालको प्रलोभनमा परी २०६९ मा दिल्ली  पुगेर मिर्गौला बेचेकी थिइन्। फर्केपछि उनले मञ्चको सम्पर्कमार्फत प्रहरीमा जाहेरी दिइन्। मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भयो र २०७१ माघमा दलाललाई १० वर्ष कैदसहित २ लाख रुपैयाँ जरिवानाको फैसला भयो।

सिन्धुपाल्चोकका २० वर्षीय रमेश सुनारलाई २०७१ मा टिचिङ अस्पतालमा झुक्याएर मिर्गौला निकाल्न लगेकोमा चिकित्सकले पत्तो पाएपछि प्रहरीमा बुझाएका थिए। यो मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७३ जेठमा प्रतिवादीलाई पाँच वर्ष जेल सजाय र एक/एक लाख जरिवानाको फैसला गरेको छ।

काभ्रेकै राम (नाम परिवर्तन) गाउँकै दलाल मार्फत भारतको मद्रास पुगी मिर्गौला बेचेर फर्के। स्वास्थ्यमा असर परेपछि घटना बाहिर आयो। उनलाई दुई बिघा जग्गा, १ लाख ५० हजार रुपैयाँ नगद दिने प्रलोभनमा पारी काभ्रेका पे्रम बजगाईंले मिर्गौला बेचाउन लगेका थिए।

मिर्गौला बेचबिखनका घटना भए पनि पीडित उजुरी गर्न आउन नसकेको प्रहरीको भनाइ छ। कतिपयले मिर्गौला बेच्दा पैसा लिएको हुनाले उजुरी गर्न नआउने र मिर्गौला दिइसकेकाले दलालकै प्रलोभनमा परी अरु दुईचार जनालाई मिर्गौला बेच्न सिफारिस गरेको हुनाले उजुरी गर्न आउँदैनन्। ‘आफूसँगै पैसाको प्रलोभनमा परेर अरुलाई पनि सिफारिस गरेका हुन्छन्, त्यसै कारण पीडित तैं चुप मै चुप हुन्छन्', एसपी बज्राचार्यले भनिन्।

पीडितले उजुरी नगरेसम्म प्रहरीलाई यो विषयमा अनुसन्धान र कारबाही गर्न अप्ठेरो हुनाले जनचेतनामार्फत नै अपराध रोक्न सकिने बज्राचार्यको सुझाव छ। ‘न पीडित जाहेरी दिन आउँछन् न दलालको नाम बताउँछन्', उनले भनिन्। उनको अनुसार यससम्बन्धी दुई केसमात्र प्रहरीमा दर्ता भएका छन् ।

पहिलो पटक मञ्चले सन् २०१५ मा ‘नेपालमा मिर्गौला बेचबिखन' नाममा काभे्रमा गरेको अनुसन्धानमा १ सय ७९ जना पीडित भेटिएका थिए। दलालले विभिन्न प्रलोभनमा फसाई मिर्गौला बिक्री गर्न लगाए पनि भनेअनुसार रकम नदिँदा पीडितले झन् बढी पीडित बन्ने गरेको अध्ययनले देखाएको थियो। ‘एकातिर रकम पाउँदैनन्, अर्कातिर आफू पनि बिरामी पर्दै गएपछि चिन्तामा डुब्छन्। चिन्ता हटाउन कतिपय पीडितले रक्सीको सहारा लिने गरेको देखिन्छ', शर्माले भने।

बेचबिखनको कारण गरिबी र अशिक्षा भएको उनले बताए। ‘समुदायमा पुग्ने गरी राज्यले सचेतना बढाउन सके यो रोकिन्छ र समुदायमा रोजगारी भए रोकिन सक्छ', शर्माले भने।

मिर्गौला तथा मानव बेचबिखनको शैली फेरिंदै गएकाले यसमा सरकार, मिडिया र प्रहरीको विशेष भूमिका हुन आवश्यक रहेको दिगो विकासका लागि सञ्चारमाध्यमको प्रचलन नेपालकी अध्यक्ष रुपा शर्मा (नेहा) ले बताइन्। ‘देशबाहिर मात्र नभएर देशभित्रै हुने बेचबिखन पनि कम्ती डरलाग्दो छैन', उनले भनिन्।

प्रकाशित: ४ वैशाख २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App