१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

स्वस्थ समाज बनाउन बृहत् अभियान

काठमाडौं- संविधानमै स्वास्थ्य मौलिक हकका रुपमा स्थापित छ। गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो। स्वस्थ समाज बनाउन व्यक्ति स्वयंको चाहिँ केही जिम्मेवारी हुन्न त? गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको पहुँच पुर्‍याउने दायित्व पूरा गर्ने प्रविद्धतासहित सरकारले निरोगी बन्न व्यक्ति स्वयंलाई जिम्मेवारी बोध गराउँदै स्वस्थ समाज निर्माणका लागि नयाँ वर्षसँगै बृहत् अभियान थाल्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले व्यक्तिलाई रोग लाग्नै नदिने र लागिसकेको भए समयमै उपचारको दायरामा ल्याउने अवधारणाअनुसार 'मेरो वर्ष २०७४, म स्वस्थ– मेरो देश स्वस्थ' भन्ने अभियान सञ्चालन गर्न लागेको छ। नयाँ वर्षको सुरुवातकै दिन शुक्रबार बिहान ७.३० बजे प्रधामन्त्री पुष्पकमल दाहालले दशरथ रंगाशालाबाट 'प्रवर्द्धनात्मक' अभियान शुभारम्भ गर्ने कार्यक्रम छ। यो अभियानलाई स्वास्थ्य प्रणालीमै राखेर निरोगी नेपाल निर्माण यात्रा सुरु गरिने मन्त्रालयको योजना छ।

स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार मन्त्रालयमा यो बृहत् अभियानको अर्थ र औचित्य सार्वजनिक गरे। थापाले नेपालमा दीर्घरोग रोक्न वा टार्न व्यक्तिले गर्नुपर्ने प्रमुख विषयलाई नाराका रुपमा अघि सारेर सोही आधारमा चेतना र कार्यक्रम विस्तार गर्न लागेको बताए।

थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु राज्यको दायित्व भएको र त्यसबाट कुनै पनि सरकार मुक्त हुन नपाउने बताए। 'तर व्यक्ति र परिवार स्वस्थ रहनका लागि हरेकको व्यक्तिगत सचेतना र प्रतिबद्धता उत्तिकै जरुरी रहेछ,' थापाले थपे, 'व्यक्ति र परिवार स्वस्थ रहन सकेमात्र देश स्वस्थ हुनसक्छ।' 

अकाल मृत्यु र बिरामीको प्रमुख कारक श्वासप्रश्वास, मुटु, मिर्गौला, क्यान्सर, उच्चरक्तचाप, मधुमेह, सडक दुर्घटना र मानसिक समस्या उचित खानपान र जीवनशैली अपनाउँदा मात्रै रोक्न/घटाउन सकिन्छ। स्थापित वैज्ञानिक तथ्य र नेपालको सन्दर्भ हेरेर मन्त्रालयले आमनागरिक स्तरमा चेतना र जाँच बढाउने योजना बनाएको छ।

मन्त्री थापाले सरकारले नागरिकका तर्फबाट रक्सी तथा सुर्तीजन्य पदार्थ नखाने, नियमित व्यायाम तथा स्वास्थ्य परीक्षण गराउने, स्वस्थ तथा पोषिलो खाना खाने र समुदाय एवं परिवारको स्वास्थप्रतिको सजगता खोजेको जानकारी दिए। 'वर्षभर नै आमनागरिकको स्वास्थ्य चेतना बढाएर अवस्था सुधार्नु र खर्च घटाउँदै राष्ट्रिय उत्पादकत्व वृद्धिमा सघाउनु हो,' मन्त्री थापाले थपे।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यसँग जोडिएका यी विषयलाई प्रवर्द्धन गर्न सम्पूर्ण निकाय, प्रतिष्ठान, कर्पोरेटसमेतलाई समाहित गर्ने र स्वस्थ निरोगी नेपाल निर्माण अभियान चलाइने बताए। उप्रेतीका अनुसार स्वास्थ्य उपचार र जाँचका प्याकेजसहित सेवा विस्तार, चेतना बढाउन विज्ञापन अभियान तथा अन्तरक्रिया गर्ने, निजी अस्पताललाईसमेत साथ लिएर रोग जाँच शिविर गाउँगाउँ लाने, विद्यालय विद्यालयमा रोग परीक्षण र सचेतना अभियान चलाउने  र विभिन्न चेतनामूलक सन्देश उत्पादन गरेर प्रसारण गर्ने कार्यक्रम छ।

तथ्यांकअनुसार नेपालमा कुल मृत्युको ६० प्रतिशत र अस्पताल भर्ना हुने ८० प्रतिशत कारक नसर्ने रोग हो। सरकारी तथ्यांकअनुसार नै एक तिहाइमा उच्चरक्तचाप, १५ प्रतिशतमा मधुमेह छ। त्योबाहेक प्रत्येक वर्ष ८ देखि १० हजार क्यान्सर रोगी थपिन्छन्। ओपिडीमा आउनेमध्ये ४३ प्रतिशतमा श्वासप्रश्वास, ४० प्रतिशतमा मुटु, १२ प्रतिशतमा मधुमेह र ५ प्रतिशतमा क्यान्सर छ।  जसका कारण व्यक्ति एवं परिवार र देशलाई समेत हेरचाह र उपचारमा ठूलो आर्थिक भार परेको छ। 'जीवनशैलीमा सामान्य परिवर्तन गरेर यो अवस्थालाई आफैंले रोक्न र घटाउन सकिन्छ,' थापाले भने, 'महँगो उपचार राज्यले सधैं र सबैलाई निःशुल्क धान्नै सक्दैन्, त्यसैले पनि विकल्प नखोजी हुन्न।' उनले यसका लागि व्यक्तिको दायित्व प्रमुख हुने देखेरै यो अभियान चलाउन लागेको बताए।

अहिले पनि झन्डै १९ प्रतिशत जनसंख्या धूमपान गर्छन्। दक्षीण एसियामै सबैभन्दा बढी महिला धूम्रपानकर्ता (१५ प्रतिशत) नेपालमा छन्। त्यसैगरी कुल जनसंख्याको १७ प्रतिशतले जाँडरक्सी खान्छन्। वातावरणीय प्रदूषण र खानेकुरामा अत्यधिक मिसावट र विषादीको प्रयोगसमेत ठूलो जनस्वास्थ्य समस्या बनेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार यो अभियानअन्तर्गत कुनै र कुनै स्वास्थ्य समस्यमालाई प्रमुख मुद्दा बनाएर जनचेतना विस्तारको काम गरिनेछ।

व्यक्तिले गर्नुपर्ने पाँच वटा काम र प्रतिवद्धता किन आवश्यक छ भनेरसमेत निरन्तर बुझाउने मन्त्रालयको तयारी छ। मन्त्रालयका अनुसार धूमपानले नसर्ने खालका ठूलो रोगको जोखिम बढाउनुका साथै छोडेमा हुने फाइदाबारे पनि अभियान क्रममा जानकारी गराइने छ।

मन्त्रालयले पाँच वटै विषयको महŒवसमेत झल्किनेगरी अवधारणा बनाएको छ। धूमपानले मुटुरोग, क्यान्सर मस्तिष्कघात र अन्य श्वासप्रश्वासका रोग गराउने भन्दै मन्त्रालयले स्वास्थ्यका लागि धूमपान छोड्नुजस्तो उत्कृष्ट कार्य केही नहुने जनाएको छ।

मन्त्री थापाले आम मानिसमा नियन्त्रित  मदिराले फाइदा गर्छ भन्ने भ्रम रहे पनि यसलाई पुष्टि गर्ने कुनै अध्ययन नभेटिएको भन्दै रक्सी छोड्न प्रेरित गर्ने योजना रहेको बताए। 'नयाँ पुस्ता रक्सी खाँदैनखाने बनाउनुपर्छ', उनले भने, 'उच्चरक्तचाप, कोलेस्टोरल र सुगरजस्ता समस्यको कारण रक्सी हो भन्ने बरु पुष्टि भइसकेको छ।'

मन्त्रालयले नियमित व्यायाम पनि कुन उमेर समूहका व्यक्तिले कति गर्नुपर्छ भन्ने निर्धारण गरेको छ। मन्त्रालयले बालबालिकालाई दिनमा १ घन्टा खेलकुदसँगै शारीरिक अभ्यास र १८ देखि ६४ वर्षसमूहका मानिसलाई कम्तीमा ३० मिनेट हल्का र १५ मिनेट कडा व्यायाम गर्न सुझाएको छ।

स्वास्थ्यका लागि पोषणयुक्त खानेकुराको महŒवसमेत बुझाउन मन्त्रालयले सन्तुलित खानाले थुपै नसर्ने रोग रोकथाम गर्ने जनाएको छ। स्थानीय तहमा उत्पादित दाल, गेडागुडी, सागसब्जी, फलफूल प्रयोग गर्न तथा बढी चिल्लो, बढी नूनिलो गुलियो प्रयोग नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

नियमित स्वास्थ्य परीक्षणले रोग समयमै पहिचान भए निको हुने र खर्च पनि घट्ने भन्दै मन्त्रालयले रक्तचाप, सुगर, तौल, पिसाब र रगतमा चिल्लोपदार्थको मात्रा नियमित जाँच्न समेत सचेत गराउने कार्यक्रम छ।

प्रकाशित: १ वैशाख २०७४ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App