coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको इमर्जेन्सी‍मा कुरुवा पास अनिवार्य, ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने

वीपी प्रतिष्ठानको इमर्जेन्सी कक्ष भवन। तस्बिर: रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इमर्जेन्सीमा बिरामीका कुरुवाहरूलाई प्रवेश गर्न कुरुवा पास अनिवार्य लागु गरेको छ।

इमर्जेन्सी जस्तो संवेदनशील ठाउँमा बिरामीसँग धेरै कुरुवाहरू आउने र अनावश्यक भिडभाड हुने भएकोले सेवा प्रवाहमा पनि असर पुगेको भन्दै प्रतिष्ठानले कुरुवा पासको व्यवस्था गरेको जनाएको छ। तर कुरुवा पास लिन ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने नियम बनाएपछि भने प्रतिष्ठानको आलोचना पनि भइरहेको छ।

गम्भीर प्रकृतिको बिरामीलाई एक जनाले मात्र सम्हाल्न नसकिने अवस्थामा र निम्न आर्थिक अवस्थाका बिरामीको लागी यो नियम उचित नभएको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादका अनुसार माघ १५ गतेदेखि यो नियम लागु गरिएको हो। बिरामीको नाम दर्ता गर्दा नै ५ सय रुपैयाँ धरौटी बापत रकम लिएर कुरुवा पास उपलब्ध गराइने उनले बताए।

‘एक जना बिरामीको लागी एक मात्र कुरुवा पास उपलब्ध हुनेछ, बिरामी डिस्चार्ज वा वार्डमा स्थानान्तरण भएपछि कार्ड नम्बरको कुरुवा पास फिर्ता भए धरौटी पनि फिर्ता हुन्छ, ’अस्पताल निर्देशक डा.जगत नारायणले भने।

प्रतिष्ठानको इमर्जेन्सीमा दैनिक २ सय भन्दा बढी बिरामीहरू आउने गरेका छन्। बिरामी लिएर आउने आफन्तजन तथा छरछिमेकहरू इमर्जेन्सीभित्र बिरामीसँगै बसिदिँदा अत्यधिक भिडभाड हुँदा सहजरुपमा प्रभावकारी उपचार सेवा प्रदान गर्न नसकिने भएकोले कुरुवा पासको व्यवस्था गरिएको प्रतिष्ठानको भनाई छ।

यो व्यवस्थाले बिरामीहरूलाई अन्य मानिसबाट हुन सक्ने सङ्क्रमणको जोखिमलाई पनि न्यूनीकरण गर्ने प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले बताइन्।

‘इमर्जेन्सीमा आएका बिरामीहरू सामान्य घाउ चोटपटक लागेका, अङ्गभङ्ग भएका र अति संवेदनशील अवस्थाका हुन्छन्। उनीहरुलाई एक जना मात्र कुरुवाको व्यवस्था हुँदा उपचारमा सहज हुन्छ, ’उनले भनिन्, ‘कुरुवा परिवर्तन गर्नुपर्ने भए पास दिएर अर्कोलाई बिरामीसँग पठाउन सकिन्छ। आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पनि पास दिने व्यवस्था गरिएको छ।’

यो व्यवस्था सुरु गरेपछि इमर्जेन्सीमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुलाई बिरामी उपचार सेवा पुर्‍याउन सहज भएको पनि प्रवक्ता डा.प्रधानले बताइन्। बिरामीको अवस्था अनुसार एक जना भन्दा बढी कुरुवा बस्नु पर्ने भए इमर्जेन्सीमा कार्यरत चिकित्सकको सिफारिसमा थप कुरुवा पास उपलब्ध गराइने उनकाे भनाइ थियाे।

प्रकाशित: १७ माघ २०७९ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App