कर्णालीमा पहिलो पटक मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले शनिवारबाट मृर्गौला प्रत्यारोपण गर्ने भएको हो।
शनिवार मृर्गौला प्रत्यारोपणका लागि काठमाडौँबाट पहिलो बिरामी आउने जनाइएको छ। मृर्गौला प्रत्यारोपणको लागि सम्झौता भए अनुसार सेवा विस्तार गर्न लागिएको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।
मृर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता कार्यहरू यो आर्थिक वर्षमा गरिने लक्ष्य रहेकोमा प्रत्यारोपण सेवा सुरु हुन लागेको निर्देशक खड्काले बताए।
प्रदेश अस्पतालले आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो। नयाँ भवन बन्ने चरणमा रहेकाले आगामी तीन वर्षभित्र ५ सय शय्याको प्रदेश अस्पताल सञ्चालनमा आउने, बाल अस्पतालको निर्माण गरी सञ्चालनमा ल्याउने कार्य योजना रहेको निर्देशक खड्काले पत्रकार भेटघाटमा सुनाए।
२०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना हुँदै २०२९ सालमा १५ शय्या, २०४९ सालमा २५ शय्या हुँदै जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो। त्यस्ता २०६२ फागुन ७ गते ५० शय्याको मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भई विशेषज्ञ सेवाहरु दिइरहेको छ।
प्रदेश अस्पतालमा दिनानुदिन उपचारका लागि बिरामीहरूको भिड लाग्ने गरेको छ।
प्रकाशित: ९ माघ २०७९ २३:२३ सोमबार